प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजेः पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल

बनेपा, २४ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली काँग्रेसको सल्लाह बिना काम गरेको छ भन्नुभयो ।

नेता पौडेलले भन्नुभयो–“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपथ्र्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ”

नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गर्नुभयो ।

“म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उहाँले पार्टी नेतृत्वको आलोचना गर्दै भन्नुभयो ।

नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताउनुभयो ।

पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उहाँको भनाइ थियो । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै नेता पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताउनुभयो ।

पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उहाँले पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताउनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले स्थानीय चुनावमा एमालेको, सरकारमा माओवादीको र संविधान संशोधनमा मधेसीको छाँया भए काँग्रेसको प्रभावकारितामा प्रश्न उठ्ने बताउनुभयो ।

नेपाली काँग्रेस बनेपा नगरसमितिका अध्यक्ष राम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कञ्चनचन्द्र वादे श्रेष्ठ, नेकाका पूर्व सभापति शिव हुमागाईँ, नेकाका सभापति मधु आचार्य लगायतले काँग्रेसको प्रभावकारीतामा जोड दिएका थिए ।

दुई दिनसम्म चल्ने सो नगर सभापति सम्मेलनमा देशभरका २१७ नगरबाट सभापति सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री