खत्तम छैन् नेपाल

anjan

सांझ ८. ४५ को फ्लाइट थियो, हतार हतार सुटकेस गुडाउंदै एयरपोर्ट पुगियो । चेक इनपछि जहाजको ढोका नजिक पुग्दा मनमा आनन्द थियो । तर, मेरी श्रीमति जहाज चढ्न अत्ति डराउने भएकाले केही चिन्ता उसको थियो । उत्साही छु आफ्नो मातृभूमि छिट्टै टेकिने भएर ।

टेक अफ र ल्यान्डिंग जहाज चढ्दा मेरा लागि आनन्दित पल हुन् । श्रीमति चाहिं निक्कै डराइरहेको ठम्याउन असहज थिएन । जहाज चढेको केही क्षणमै
खाना आयो । सिनेमा हेरियो र एकछिन सुत्दा दिल्ली आइपुगेछ । दिल्लीको एअरपोर्ट निक्कै फेरिएछ । सफा सुग्घर, युरोपलाई माथ दिने उच्चकोटीको एयरपोर्ट देखेर मैले मनमनै मेरो नेपालको एअरपोर्ट दांजे ।

छिनमै पुगियो काठमान्डू एअरपोर्ट । काठमाण्डौं विमानस्थल उत्रंदा पारिलो घाम, उज्यालो मौसमले स्वागत गरिसकेको थियो । बेलायतको चिसो खाएर गएको म सनसाइनमा लोभिइ हालें । लगेज घिसार्दै विमानस्थल पुगें ।
मान्छेको भीड देख्दा विमानस्थल प्रशासन नै छैन् भन्ने भान हुन्थ्यो । भद्रगोल थियो लगेज लिने ठाउं । ट्रली थिएनन् सामान बोक्न । कोही दुई दिन देखि लगेज आएन भन्दै थिए । कोही १८ जनाको लगेज चोरी भयो भनेर सुनाउंथे । मेरो चाहिं २० मिनेट जतिमा लगेज आयो । भाग्यमानी सम्झें, युद्ध जितेको भान भयो । बाहिर निस्किएं, आफन्तजन हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो ।

गाडीको हर्नको प्वां प्वां आवाज । सडकमा गाडी जाम । बाटो खन्दै गरेकाले धुलो, धुंवा अचाक्ली थियो । मेलम्चीको पानीका लागी रे, अर्को वर्ष पक्का आउंछ रे पानी । प्रचन्डले त छ महिनामै काठमान्डूवासीलाई पानी खुवाएर सरप्राइज दिन चाहन्छन् रे ।
मलाई यो बेला किसुनजीको सम्झना आयो । किसुनजीलाई सायद नाता गोताले त्यही पानीले तर्पण देलान अनि बैकुन्ठमा आनन्द मान्लान् भन्ने सम्झेर मन कता कता रमायो ।

पाठकहरु नराम्रो कुरामात्रै गरेर नैराश्यता थप्ने यो लेखको आसय होइन । सौभाग्य काठमान्डू पुगेको दुई दिनमा सिन्धुपाल्चोक जाने साइत जुर्यो । भूईंचालोले स्वाहा बनाएको ठाउं । बाटोहरु बन्दै थिए । भूईंचालोले भत्काएका सडकहरुले फेरी जीवन पाउंदै थिए । साना गोरेटो सडक, गाडी डराई 
डराई मैले हांके तर मज्जा आयो । घुम्तीमा आफूलाई लुइस 
ह्यामिल्टन सम्झन्थें मज्जा आउंथ्यो । चौताराले जीवन पाउंदै रैछ । समस्या नक्कली भूकम्प पीडितहरुको पो रैछ । लोभी पापीहरुको रैछ । एनजिओहरुको खेती त मज्जाले फस्टाएको पाएं । चौताराका स्थानीय होटलहरु 
गोष्ठी, सेमिनारले भरिभराउ थियो तर गरीबको चुलोमा मट्टीतेल अभावले प्लास्टिक हालेर काचों दाउरा सल्काउंदै गरेका दृश्यहरु हृदय विदारक थियो । कपाल काट्ने, चटपटे बनाउने, टायर बनाउने नेपालीहरु नै थिए । अरबको तातो घामले देशमै आएर माना पेट, लाला बालाहरु आखां अगाडि हुर्काउन मन लाग्यो रे । नेपालमा केही हुंदैन भन्नेहरुलाई आत्मविश्वास हो त्यो । नमुना हो त्यो ।

दोलालघाटको माछा निक्कै मीठो हुन्छ भन्ने सुनेको थिएं । लोभै लाग्ने गरेर तारेको नखाइ मनले मान्दै मानेन । गाडी रोकें । उमेरले २४, २५ हुंदो हो । अलिक रफ लुक्समा थिए । माछा र चियाको सुर्पीसंगै उनका बारेमा केही जान्ने जिज्ञासा लाग्यो । पहिला मलेसिया बसेर नेपाल आएका रैछन् । मलेसियामा होटलमा काम गरेको अनुभव पनि रैछ । समाजले उनलाई 
आफैंले भाडा माझेको राम्रो मान्दैन रे तर आफ्नो काम के को लाज भन्दै बुढाबुढी मिलेर काम गर्दा रहेछन् । आफ्नै पौरखमा जीउनुमा बेग्लै आत्मसन्तुष्टि छ भन्थे । मलेसियामा मासिक ३५ हजार कमाइ हुन्थ्यो रे । अहिले महिनाको ७० देखि ९० हजार कमाइ हुन्छ भन्दै थिए उनी । दुई जना लाई रोजगारी पनि दिएका रैछन् ।

धुलीखेल आइपुग्दा सांझ परिसकेको थियो । फराकिलो सडक, बीचमा रुखहरु, छेउमा सोलार बत्ती । बीचमा बत्तीका डिभाइडर रमाइलो लाग्यो । मनमनै मलाई खासै मन नपर्ने बाबुराम अनि सडक विभागलाई धन्यवाद दिएं ।
धुलीखेल बर्दीबास सडकले मुहारै फेरिदिएको रैछ । नागबेली छ बाटो, घुम्ती छन् । उकाली ओराली कुनै रेसकोर्सको सर्किट भन्दा कम छैन् । माइकल 
सु मेकर, लुइस ह्यामिल्टनले कसरी गाडी कुदाउंदा हुन् भन्ने कल्पना हुन्थ्यो ।
बिस्तारै नेपाल फेरिंदै रहेछ । बाग्मतीमा डुंगा चल्न सक्ने भएछ । फोहर फाल्न बन्द हुन लागेछ । मान्छेहरुमा चेतनास्तर बढेछ । लेनमा सवारी हांक्न लागेछन् । मापसे गरेर कसैले पनि गाडी हांक्ने आंट गर्दा रैनछन् । आर्मी, पुलिसको आइजीपी देखि सचिव सबैले नियम मान्दा रैछन् । सोच बदलिंदै 
रहेछ ।

बिस्तारै नेपाल बदलिंदै गरेको पाएं । बेलुका मापसे जांचमा बसेका पुलिसहरु सभ्य थिए । सभ्य तरीकाले प्रश्न तेसार्दा रैछन् । मलाई याद छ ५, ७ वर्ष पहिले राती ड्यूटीमा बसेका पुलिसको मुखबाट सभ्य शब्द कमै निस्कन्थ्यो ।

मान्छेको आवश्यकता, सोच बदलिंदैछ । पर्यटनमा लगानी भित्रंदो छ । नेपालले ५ तारे होटल बस्ने पर्यटक देखि मितव्ययीता अपनाउने सबैलाई समेट्न सक्ने अवस्था देखें । भव्य होटल रिसोर्ट खुलेका छन्, सत्कार त्यस्तै छ । खाना विश्वस्तरको पाक्छ । बरु अभाव नेपाल जोडिने हवाई मार्गको देखें । बेलायतबाट डाइरेक्ट फ्लाइट कसरी नचल्ला ?
नेपालको नाम चलेको एउटा बैंकका बजार व्यवस्थापकसंग केही समय कुरा गर्ने साइत जुरयो । उनी भन्दै थिए नेपालका बैंकहरुसंग पैसाको कुनियो छ तर लगानी गर्ने ठाउं पाएका छैनन् । कि अत्ति महंगो प्रोजेक्ट आउंछ जस्तै हाइड्रो लगानी । कि २० वर्ष नै लाग्ने गाडी कर्जा, घर कर्जा आदि इत्यादि । राम्रो प्रोजेक्ट लिएर आउनुस् बंैकहरु लगानीका लागी रेडी हुन्छन् भन्ने आसय ति बैंकरले दिए ।

अखबारहरुमा पढेको थिएं ६० करोडको दालमोठ आयात गरियो रे । १ अर्बको फलफूल तरकारी दशंैलाई भित्रियो रे । ९ करोडको फूल तिहारलाई छिरयो रे । खरबको खसी बोका आयो रे । आयात गरिएका ती समान हामीले नै बनाउन सक्दैनौं र ? लगानी गर्न बैंक तयार छन् । बजार छ, सीप छ ।

नातागोता, बाबु आमा, समाज, साथीभाई छाडेर हामीलाई कुन चुम्बकले यसरी तानेको छ ? नेपाल छाड्ने बेलामा आंखा नभिजेका आमा को होलान् । मन नकुंडिएको कुन बुवा होलान् । आफ्नो सिउंदोमा सिन्दुर हालेर सौभाग्य बनाउने श्रीमानहरुलाई विदाइ गर्न कसको रहर होला ?

किन हामी यसरी विदेशको मरिहत्ते गरेका ? बच्चाहरुको फ्री स्कुल, फ्री 
एनएचएसले हो कि । नेपालमा पनि आधुनिक अस्पताल, मोन्टेस्वरी, स्कुलहरु खुलेका छन् । सामान्य सरकारी स्कुलहरु पनि ब्यवहारिक शिक्षा दिंदै छन् । नतिजा राम्रो दिंदै छन् । खुसी जीवनको कल्पना गरेर भास्सिएका हामी के खुसी छौं त ? प्रश्नको ठेली छ उत्तर छैन् । सानो कोठा न बच्चा कुद्ने ठाउं नै छ । कति परिवारको श्रीमान, श्रीमति घरमा भेट हुन पनि हप्तौं कुर्नु 
पर्ने हुन्छ । अझ साना बाबु नानी भएका अभिभावकहरुलाई त झनै पीरलो छ । हरियाली, १० महिनाको घाम हामीलाई अपाच्य भएको हो र ?

बेलायत बसेर नेपाल फिरेको एक विद्यार्थी हुन् इरोस । सीप सिकेर नेपाल फर्किएर ठमेलमा साथीसंग मिलेर रुट्स बार चलाएका छन् । धेरै इरोस भाईहरु नेपालमा केही गर्न कम्मर कसेका छन् । हामी पछि पर्दै छौं कि भन्ने मलाई आभास भयो ।

ठूलो खर्बौंको लगानी सम्भव नहोला तर कपाल काट्ने, कफी सप, साना होटल, माछा पालन, तरकारी खेती गर्न सकिने धेरै सम्भावना रहेछ । 
मुस्तांगमा स्याउ फलेका छन्, गोरखामा सुन्तला । पालुंगको साग खाइ नसक्नु छ । कफी, अलैंची, सुकमेल, अदुवा खेती गर्ने ठाउं धेरै छन् नेपालभर । चाहे अरबबाट फिरेका सिन्धुपाल्चोकका कपाल काट्ने दाई हुन्, चाहे इरोस भाइहरु हुन् । चाहे अर्बौंको लगानी गरेका मनांग होटल, ठमेलका सञ्चालक देवेन्द्र गिरी हुन्, चाहे नगरकोटमा बन्दै गरेको होटल मिस्टिक माउन्टेन का सञ्चालक बाल के धोजु हुन् । सबैको आसय थियो नेपालमा ढुक्कसंग लगानी गर्न सकिन्छ, वातावरण छ । नेपाल आएर लगानी गरौं भन्ने आसय धेरैको पाएं ।

म अहिले बेलायत टेकेको हप्ता दिन भयो । जांदा जति उत्साह थियो, म अहिले त्यति नै गलेको छु । आंखा उघार्दा देखिने हिमाल, सूर्योदयका दृश्य, बाबु आमा, नाता गोता, इष्टमित्र सम्झनामा छन् । हिजो फेरी प्राध्यापक डा. सूर्य सुबेदीले बोलेको समाचार हेडलाइन थियो, नेपाल फर्किन २ सय जना खोजौं । संयोगबस अमेरिका जांदा सरोज खनालले नेपाल फर्किन लागेको भनेर भर्जिनियामा कार्यक्रम राखिएको थियो । कसैले प्रश्न तेर्सायो कि गर्न सक्ने उर्वर समय विदेशमा फालेर दुबो पनि उखेल्न नसक्ने उमेरमा दाउरा सक्काउन किन नेपाल जान पर्यो ? हलमा गलल हांसोको फोहोरा छुटयो तर मैले सरोज खनालले लिएको कदमलाई सकारात्मक रुपमा लिएको थिएं । कर्णदास पनि नेपाल फर्कने लाइनमा थिए, कमसे कम संविधान पनि नबनेको अवस्था थियो । फर्किन्छु भनेर आंट त देखाए ।
आफूले जानेको सीप सिकेर समयमै नेपाल फर्किंदा जितिने देखे ।

समस्याको चांग छन् नेपालमा । धुलो छ, धुंवा छ, सडक जाम हुन्छ । बत्ती 
छैन्, पानी छैन्, महंगी छ । म समस्या अनि अभावबीच पनि अवसर देख्छु नेपालमा । सोलारको बजार कस्तो होला ? बायो ग्यांसको व्यापार कस्तो होला ? पानी फिल्टरको व्यापार कस्तो होला ? सफा मासु, तरकारीको व्यापार कस्तो होला ? मनांगको स्याउ काठमान्डौमा झारिदिन पाए के होला ? बाटोको धुलो कम गराउने प्रविधिको गाडीको कारोबार कस्तो होला ?  अभावलाई अवसरमा मज्जाले बदल्न सकिन्छ नेपालमा ।

बाबु आमा कत्ति खुसी होलान् हामी नेपाल फर्किए । बाबु, आमा, छोराछोरी एउटै भान्छामा खाना खांदा कत्ति रुच्ला । नातागोता,
इष्टमित्रलाई मर्दा पर्दा केही गर्न पाए कस्तो होला । कति श्रीमतिहरु श्रीमानलाई पाएर कति खुसी होलान् । बच्चाहरुको खुसीको सिमाना नाघ्ला ।

कति साथीहरको परिवेश मैले जिएको, बांचेको, सोचेको भन्दा फरक होला । जसरी जता राम्रो हुन्छ त्यही गर्नुस् । नेपाल गएर केही हुंदैन, गर्न सकिंदैन भन्नुहुन्छ र त्यो सोच हो भने हजुर गलत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री