बेलायतबाट बौद्धिक लगानी भित्र्याउने वातावरण बनाउन आग्रह

interaction-pgmm

लन्डन । ब्रिटेनस्थित नेपाली प्राज्ञ तथा पेशाकर्मीहरुले विदेशमा बसिरहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

शनिबार लन्डन उलवीचस्थित साउथ लन्डन एकेडेमीमा आयोजित कार्यक्रममा बोल्दै ब्रिटेनको लिडस विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले नेपालमा संकीर्ण राष्ट्रियता र संकुचित सोचाइ हावी रहेको आक्षेप लगाए । पैसाको मुठो मात्र हैन, ज्ञानको मुठो लिएर फर्कनेहरुलाई पनि स्वागत गर्ने वातावरण नेपालले 
बनाउनुपर्ने जनाउंदै उनले आफू स्वदेश फर्केर सकेको सेवा गर्न तयार 
रहेको बताए ।

मेची महाकालीको सीमा भित्र मात्रै नेपाल राष्ट्रलाई संकुचित गर्न नमिल्ने बताउंदै प्रा. सुवेदीले राष्ट्र भनेको मुलुकप्रतिको लगाव हो, संसारभरि छरिएर रहेका नेपालीहरु नै नेपाल राष्ट्र हुन् भन्ने धारणा राखे । बौद्धिक लगानी नेपालमा भित्र्याउने इच्छा नेपाल सरकारमा छ कि छैन् भन्ने प्रश्न गर्दै उनले विदेशिएका नेपालीहरुलाई निषेध गर्ने मनसाय नयां संविधानमा हुनु दुःखको कुरा भएको बताए । नयां संविधानमा संशोधन आवश्यक भएकाले आफूले बुंदागत रुपमा संशोधनको मस्यौदा नेपाल पठाएको पनि उनले जनाए ।

सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स यूके शाखाद्वारा ‘नेपालमा शान्ति तथा विकासका चुनौती र अवसरहरु’ विषयक छलफल कार्यक्रममा बेलायतको छोटो भ्रमणमा आएका मधेसी मामिलाका ज्ञाता तथा विश्लेषक तुलानारायण साहले नेपालमा संरचनात्मक तथा कार्यगत गरी दुई किसिमको समस्या रहेको धारणा राखे । नेपाली समाजको विविधता राज्यमा नझल्कने संरचनागत समस्यालाई संविधान मार्फत संबोधन गर्नुपर्ने तर कार्यशैलीमा फेरबदल नहुंदासम्म परिवर्तन अनुभूत गर्न नसकिने उनको कथन थियो । ‘राज्य भनेको बन्दुक र कलम चलाउने तथा पैसा बांड्ने ठाउं हो, तर ती तिनै ठाउंमा एउटै समुदायको वर्चस्व रहेकाले अहिलेको समस्या देखिएको हो’, साहले भने । मधेसी, जनजाति, दलित, महिला लगायत उपेक्षित समुदायलाई नसमेटिंदासम्म नेपालमा अस्थिरता कायमै रहने पनि उनले दावी गरे ।

सेन्टर फर नेपाल स्टडीज यूकेसंग आवद्ध एकजना अनुसन्धानकर्ता डा. चन्द्र लक्सम्बाले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको क्रीडास्थल बनेकाले नै सधैं अस्थिर रहिरहेको जिकिर गरे । भारत, चीन, अमेरिका लगायतका मुलुकका नेपालमा रहेको स्वार्थको चर्चा गर्दै उनले राष्ट्रियता र राष्ट्रिय एकता नै विदेशी चलखेलसंग जुध्ने एकमात्र उपाय रहेको बताए । डा. लक्सम्बाले गाउंघरमा रहेको स्थानीय अनौपचारिक सिकाइबाट प्राप्त ज्ञानलाई देशविकासमा लगाउन पनि सुझाव दिए ।

लण्डन स्कुल अफ इकोनोमिक्समा लैङिगक विषयमा अनुसन्धान गरिरहेकी डा. पुनम यादवले सशस्त्र द्वन्द्व सकिएको एक दशकपछि पनि समाजका विभिन्न क्षेत्रमा द्वन्द्वका असर कायमै रहेको बताइन् । झण्डै चालिस हजार महिला क्याविन रेष्टुरेण्टहरुमा काम गरिरहको र ती मध्ये करिब ८० प्रतिशत द्वन्द्वका कारण विस्थापित महिलाहरु भएको एक सर्वेक्षणले देखाएको बताउंदै यादवले ती महिलाहरुलाई सुरक्षित रोजगार र आत्मसम्मान दिनेतर्फ राज्यको ध्यान नपुगेको गुनासो गरिन् । हाल देखिएको राजनीतिक अस्थिरता अन्त्य गरी जवाफदेहीता बढाउने अहिलेको प्रमुख चुनौती रहेको भन्दै उनले नयां नेतृत्वको विकास कसरी गर्ने भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताइन् ।

अक्सफोर्ड विश्वविद्यालयसंग सम्वद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले गएको दुई वर्ष नेपाल बस्दा आफूले चारैतिर सिन्डिकेट र मिडलम्यानहरुको हालीमुहाली देखेको चर्चा गर्दै पदको दुरुपयोग ठूलो चुनौती रहेको बताए । उनले नेपाली समाजमा रहेको सांस्कृतिक पूंजीलाई प्रवर्धन 
गर्दै देश सुधार्न एउटा ठूलै नैतिक अभियान चलाउन आवश्यक रहेको पनि उल्लेख गरे ।
लन्डन स्थित नेपाली दूतावासका प्रथम सचिव शरदराज आरनले शुभकामना दिंदै नेपाल बाहिर प्राज्ञिक क्षेत्रमा भएका यस्ता छलफलले नेपालमा नीति निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको शुरुमा सोसाइटी अफ हाइली स्कील्ड नेप्लीज प्रोफेसनल्स यूके शाखाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विदेशमा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीहरुको सीप र ज्ञान नेपालको हितमा उपयोग गर्न आफूहरुले काम गरिरहने बताएका थिए ।

कार्यक्रमका सहभागी तथा वीज्ञहरुबीच छलफल पनि राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री