बग्दाद (इराक), २९ असोज । शनिबार इराकको राजधानी बग्दादबाट उत्तरमा अवस्थित साव इलाकामा अन्त्येष्टि समारोहमा गराइएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको इराकी प्रहरी तथा स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
तर एक अर्का सुरक्षाकर्मीले घटनामा करिब ५० जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएको आफ्नो नाम नखुलाउने सर्तमा बताए ।
घटनाको इस्लामिक स्टेट (आइएस)ले जिम्मेवारी लिएको छ । आइएसको इराकस्थित अमाक न्यूज एजेन्सीले बताएअनुसार इराकी सेनाले आइएस नियन्त्रित मोसुल सहरमाथि धावा बोल्ने तयारी गरिरहेका बेला चेतावनीस्वरुप उक्त विस्फोट गराइएको हो ।
पछिल्ला महिनामा आइएसले सरकारी सेनालाई लक्षित गरी साना ठूला गरी गराएका विस्फोटमा सैनिक अधिकारीसहित दर्जनौँ इराकी नागरिकले ज्यान गुमाएका छन् ।
तर यस वर्षको जुलाईमा विद्रोहीले गराएको विस्फोटमा ३०० जनाको मृत्यु भए पनि त्यसपछि भने विद्रोहीको आक्रमणबाट सेनातर्फ शनिबार पहिले नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।