
काठमाडौँ, १७ असोज । चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ ।
दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन् ।
घटस्थापनापछि बजारमा किनमेलका लागि सवारी पाउन नसकिने र पाइए पनि चढ्न नसकिने कलङ्कीबाट दसैँका सामान लिन भृकुटीमण्डप बजारमा आउनुभएका रामसुन्दर श्रेष्ठले बताउनुभयो ।
“तीन किमीको दूरीमा पनि सवारी पाउन मुस्किल छ, बल्लबल्ल आउने सवारी पनि भीडले चढ्न नसकिने हुन्छ, छोटो दूरीको यो रुटमा यसअघि पनि तोकिएभन्दा बढी अर्थात् रु १५ भाडा लिन्थे, अहिले दसैँ सुरु भयो भन्दै रु २० लिन थालेछन्”– उहाँले भन्नुभयो ।
जोरपाटी–रत्नपार्क रुटमा चल्ने बा२ख ७१९८ नंको सिटी यातायातको यात्रुवाहक बसले बौद्धदेखि रत्नपार्कसम्म रु ३० भाडा असुलेको पीडित यात्रु अनिता बस्नेतले दुखेसो पोख्नुभयो । विभागले यो रुटमा रु १८ भाडा तोकेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारी उपत्यकामा चल्ने ठूला सवारी लामो दूरीमा चलेकाले केही कम सवारी सडकमा गुडेको स्वीकार्नुहुन्छ । “सवारी कम भएपछि दसैँ सुरु भएको बहानामा बढी भाडा लिएका छन् भने ट्राफिक प्रहरीको १०३ नंमा फोन गरेर जानकारी गराए रु पाँच हजारसम्म कारबाही हुन्छ, विभागले तोकेभन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना तिर्नुपर्छ”– उहाँले भन्नुभयो ।
फुटपाथमा बजार यात्रुलाई सास्ती
दसैँको किनमेलमा निस्कने यात्रुलाई रत्नपार्क, पुरानोबसपार्क, भृकुटीमण्डप, सुन्धारा, नयाँसडक, बागबजारलगायत स्थानको पैदल मार्ग (फुटपाथ) मा राखिएको बजारले पनि पैदल यात्रुलाई सास्ती पुगेको छ ।
उपत्यकाको पैदल मार्गमा अन्य कामले हिँड्नेका लागि छोटो दूरी पार गर्न धेरै समय लागेको यात्रु शिव सुनारको गुनासो छ ।
काठमाडौँ महानगरपालिकाले पैदल मार्गमा बजार राख्नेलाई हटाएर खुलामञ्च वा अन्य उपयुक्त स्थलमा व्यवस्थापन नगर्दा समस्या आएको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले बताउनुभयो ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ पैदलमार्ग व्यवस्थित गर्न महानगरीय प्रहरी परिसरको सहयोगमा प्रहरीवृत्त जनसेवा, दरबारमार्ग र सिंहदरबारलाई पनि परिचालन गरिएको बताउनुहुन्छ ।
“बेलुकी ६ बजेसम्म फुटपाथमा बजार राख्न दिँदैनौँ, फुटपाथको बजार उठाएर हिँडेको सवारी जाममा फस्दा अर्को स्थानमा जान नसक्ने समस्या हामीले भोगिरहेका छौँ”– उहाँले भन्नुभयो ।
सडकमा सवारी नहुने र मुख्य बजारको पैदलमार्गमा बजार राख्दा गन्तव्यमा पुग्न मुस्किल हुने गरेको दसैँको किनमेलमा निस्कने अधिकांश उपभोक्ताको गुनासो छ ।
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’