भारत पाक तनाव उत्कर्षतिर, मुन चिन्तित

hqdefault

संयुक्त राष्ट्रसङ्घ, १५ असोज । भारत र पाकिस्तानबीच क्रमिकरुपमा बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले शुक्रबार गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

बिगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपश्चात् युद्ध विराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने सङ्ज्ञा दिँदै महासचिव मुनले चिन्ता प्रकट गर्नुभएको छ ।

लाइन अफ कन्ट्रोलले काश्मिरलाई दुइ खण्डमा विभाजन गरी भारत र पाकिस्तानको सीमा क्षेत्र निर्धारण गरेको छ । निर्धारित उक्त दुई अलगअलग खण्डलाई भारत अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मिरको नाम दिइएको छ र दुई देशको विभाजन रेखा यही लाइन अफ कन्ट्रोल मै छ ।

गत हप्ता भारतीय भू–भागतर्फको काश्मिरको प्रान्तीय राजधानी श्रीनगरबाट १०९ किलोमिटर उत्तरपश्चिममा पर्ने उरी क्षेत्रस्थित सैनिक शिविरमा भएको आक्रमणमा १८ जना सैनिकले ज्यान गुमाएका र २० भन्दाबढी घाइते भएका थिए ।

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानको उग्र विरोध गर्दै दिनहूँ जनप्रदर्शन हुन थालेपछि दुई देशबीच तनाव चुलिएको हो ।

अहिलेको अवरोध रोक्नका लागि महासचिव मुनले दुवै पक्षलाई सक्दो प्रयास जारी राख्न र यस अवस्थालाई तत्काल रोक्न आग्रह गर्नुभएको बानका प्रवक्ताद्वारा विज्ञप्तिमा जनाइएको छ ।

उहाँले भारत र पाकिस्तान सरकारलाई काश्मिरसहितका प्रमुख मुद्दालाई कुटनीतिकस्तरबाट शान्तिपूर्ण सम्बोधन गर्न समेत सो विज्ञप्तिमा आग्रह गरिएको छ ।

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन शनिबार भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।

दुई देशवीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न र उनीहरूलाई सार्नुपरेको भारतीय अधिकारीको भनाइ रहेको छ ।

सीमापारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि काश्मिरका कतिपय ग्रामीण इलाकाका वासिन्दालाई सचेत गराइएको र घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घर बाहिर ननिस्कनसमेत सूचित गरिएको छ ।

पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलोमिटर भित्रसम्मका ग्रामीण वस्तीलाई पनि अन्यत्र सारिएको बताइन्छ ।

सारिएकालाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोवास गराइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री