
परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै । तस्बिर ः रमेश लम्साल, न्युयोर्क, रासस
न्युयोर्क, ८ असोज । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गर्नुभयो ।
उहाँले विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उहाँले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीनवटामा महिला नै प्रमुख रहेको बताउनुभयो । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तीनै जना महिला हुनुहुन्छ, हामी चाहन्छौँ कि कार्यकारी प्रमुख पनि महिला नै हुनुपर्छ, आशा गरौँ, त्यो सपना पनि पूरा हुन्छ उहाँले भन्नुभयो ।
उहाँले त्यसो भनीरहँदा कार्यक्रममा उपस्थित विदेशी मित्र एवम् सहभागीले ताली पिटेर समर्थन मात्रै जनाएनन् नेपालको संविधानको समावेशिता अनुपम रहेको टिप्पणी गरे ।
संविधान दिवस एवम् राष्ट्रिय दिवसको नाम दिएर आयोजना गरिएको कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको संविधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको बारेमा जानकारी गराउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महासचिव वान कि मुनको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा शुभकानमा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दल मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घको भूमिका आम विश्वले थाहा पाएकै विषय भएकाले शान्ति प्रक्रियाको पूर्णताको रुपमा गत वर्ष जारी भएको संविधानको कार्यान्वयनको पक्षमा लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख दुर्गाप्रसाद भट्टराईले महासभाको अवसरमा नै नेपालको संविधान दिवसको कार्यक्रम आयोजना गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो ।
कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने