
मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम् प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदानपछि । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २० भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । यहाँ आज आयोजित दीक्षान्त समारोह–२०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “जन्मजात शारीरिक दुर्बलता भए पनि आशावादी चिन्तन लिएर कठोर परिश्रम गरी नेपाली साहित्यको साधनामा लागिरहने साहित्यकार घिमिरे सशक्त नारी स्रष्टा हो । उहाँ सबैको जीवनका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।”
नेपालका विश्वविद्यालयले प्राविधिक, सीपमूलक, खोज तथा अनुसन्धानमूलक शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले जल, जमिन र प्राकृतिक स्रोतको उचित प्रयोग गरी जीवनपयोगी शिक्षाको विकास गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेले जीवनको भोगाइ, अनुभूति र समाजको यथार्थलाई साहित्यका माध्यमबाट राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मपविविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, “प्रमाणपत्र लिएर बजार भौँतारिन पार्नेभन्दा पनि प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्छ ।”
शिक्षामन्त्री धनीराम पौडेलले जन्मजात पक्षाघात, गरिबीका बीच पनि स्वाध्ययन गरेर ज्ञान आर्जन गरी नेपाली साहित्यमा अतुलनीय योगदान पुरयाउनुभएका घिमिरेलाई मानार्थ विद्यावारिधि दिनु महत्वपूर्ण भएको बताउनुभयो । मपविविका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले घिमिरे अथक साहित्यकार तथा साहस र सिर्जनाको प्रतिमूर्ति भएको हुँदा मानार्थ विद्यावारिधि प्रदान गरिएको बताउनुभयो । विश्वविद्यालयका रजिस्ट्रार डा महेन्द्रकुमार मल्लले शारीरिक रुपमा कमजोर भए पनि मानसिक रुपमा उहाँ अब्बल रहेको बताउनुभयो ।
सो अवसरमा साहित्यकार घिमिरेको लिखित भावना पढिएको थियो । “एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुङ्गा पढेँ, माटो पढेँ, सम्पूर्ण नेपालीको मन पढेँ, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु”, मन्तव्यमा भनिएको थियो ।
हात, खुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकालबाट हुर्कनुभएकी घिमिरे विसं २०३७ असार २१ गते धनकुटामा जन्मनुभएको हो । घिमिरे साहित्य यात्रामा लागेको दुई दशक भएको छ । सो अवधिमा उहाँका कविता, निबन्धसङ्ग्रह लगायत १३ कृति प्रकाशन भइसकेको छ । निबन्धात्मक कृति ‘जीवन काँडा कि फूल’ कृतिबाट उहाँले मदन पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो