सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १२:४८ | UK Time: 07:03

बेलायतमा नेपाली संस्था हजार, काम शुन्य

वीनेपाली
२०७३ भदौ १० गते ११:३६

Anjan
नेपाल सानो देश रहे पनि बेलायतमा करिब २०० भन्दा बढि संघ संस्था छन् । चाहे सबै भन्दा ठूलो हामी भनेर दावा गर्ने हुन् वा ८ जना को समितिमा बाबु अध्यक्ष, आमा उपाध्यक्ष, ठूलो छोरा द्धितिय उपाध्यक्ष, सानो छोरा सचिव अनि बांकी त्यही रोड आसपास घर भएका सदस्यहरु बटुलेर गठन गरिएका हुन् । उद्देश्य अलिक पारिलो घाम लागेको दिन पखेंटे बार्बीक्यू पार्टी देखि जहाज अनि नेपालमा हाइड्रो प्रोजेक्ट चलाउंछौं भन्नेबाहेक अरु केही छैन् ।

सुन्दा हांसो लाग्छ, बेलायतमा नेपालीहरुको यो अर्को परिचय हो । बोल्दा विष लाग्ला तर पाठकहरु माफ गर्नुस् मैले ओकल्नै पर्नै देखेर केही कोर्न लाग्दैछु । संस्थाकै प्रसंगमा सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसनलाई नसम्झिंदा म बाट महा अन्याय हुन पुग्छ ।

यतीको इतिहास कोट्याउंदा यती मे १९६० ताका पशुपति राना, हेमांग दिक्षित, प्रबल राणा, राजा बीरेन्द्र लगायत टिमले खोलेको सायद पश्चिमा समाजमा सबै भन्दा पुरानो संस्था हो । यती कसरी बिलीन हुंदै आयो केही प्रसंग जोड्ने अनुमति चाहन्छु । यतीप्रति मेरो सदैब प्रेम र सम्मान छ । बेलायतमा नेपाली बिभिन्न पेसा र व्यवसाय गर्नेहरुको एउटा जमात थियो जो यतीमा सद्भाव र माया राख्थे, जसको बाहुल्य बाहुन र क्षेत्रीहरु थियो । मलाई फेरी पनि माफ गर्दिनुस् म गलत पनि ठहरिन सक्छु । मैले कुनै जात र समुदायको वकालत भन्दा पनि मेरो गुदीले मानेको वास्तविकता उजागर गर्ने कोसिस गर्दैछु ।

बेलायतमा बाहुन क्षेत्री वा अरु जाती भन्दा गुरुंग, राई, मगरहरुको बाहुल्यता बढि नै छ, यो यथार्थ लुक्दैन । जुन समूहको बाहुल्य थियो यतीमा त्यही समुदायहरुलाई एकवद्ध गर्न नसक्दा तमुधिं यूकेले जन्म लिन पुग्यो जसले यतीलाई प्राकृतिक रुपैमा कमजोर बनाई छाड्यो र यतीको आन्तरिक भांडभैलो बाहिर चुलिएर मुक्का मुक्कीसम्मको घट्ना छताछुल्ल हुन पुग्यो । बिस्तारै यतीले गर्ने कार्यक्रमहरु भन्दा अरु 
संस्थाबाट गरिने आकर्षक देखिन लाग्यो । चाहे मेला होस् या फुटबल प्रतियोगिताहरु नै । तमुधिंबाट आफ्नै भवन देखि कार्यक्रमहरु हुन थाल्यो । बिस्तारै तमुधिंमा पनि भांडभैलो शुरु भयो । गेसोको कथा म यहां लगाउंदिन । एनआरएन त्यही हालतबाट गुज्रिएको छ जुन गल्ती यतीले गरयो त्यही गल्ती फेरी एनआरएनले दोहोरयाउने छनक निकाल्दै छ ।

समय घर्किंदै जांदा २००७ देखि २०१३ सम्म नेपालीहरुको संख्यामा तुलनात्मक वृद्धि देखियो जसमा नेपाली समाज पनि बढ्दै गयो । अधिकांश प्रत्येक जिल्लाका समाजहरु बन्न थाले । समाजहरु संगै माओवादीले रोपेको जातीयताको बीउ बेलायतमा नराम्रोसंग देखियो । आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने हेतुले संस्था खोलिनु सकारात्मक रहेता पनि जुन एक अर्को समुदायप्रति बीष बमन गरेर घृणा
गरिन्छ त्यो सबैलाई घातक छ । बेलैमा सबै सजक रहनुनै पर्छ, त्यस्ता कामलाई निरुत्साहित पार्नु पर्छ । मैले सार्वजनिक रुपमै एक अर्का प्रति वीष बमन गर्ने र समाजमा घृणा फैलाउने कुनै संस्थाको कुनै पनि कार्यक्रममा समाहित गरिन र गर्दिन पनि ।

चाहे कांग्रेस होस्, चाहे एमाले, राप्रपा वा चाहे जातीहरुको वकालत गर्ने पार्टी होस् वा १२ महिना नकाटेको नयां शक्ति होस् । सबैको भातृ संस्था छन् । के यो सबै जरुरी छ त ? आफ्ना मान्यता र प्रजातान्त्रिक पद्धति अंगालेको बेलायतमा पार्टी नै छैनन् त ? बेलायतमा रहेर नेपाली नागरिकता त्यागेर फेरी नेपाली पार्टीहरु कांग्रेस, कम्युनिष्ट भन्दै यति बिघ्न मोह किन जरुरी ? कानुनी रुपमा के विदेशमा रहेर त्यसरी भातृ संगठनहरु खोल्न पाइएला ? बेलायतको कानुनले के भन्छ मनमा प्रश्न माथि प्रश्न जन्माउंछ । बिस्तारै बेलायती राजनीतिमा छिरेर काउन्सिलर र मेयर पदमा नेपालीहरु आएका छन् जुन स्वागत योग्य छ ।

कुनै एक समारोहमा ओबिईप्राप्त समाजसेवी डा. राघवप्रसाद धितालले राजा बीरेन्द्रको कुरा सुनाउनु भएको थियो । राजा बीरेन्द्र चाहन्थे नेपाली समुदायले नेपाल छाडेर यता आएपछि नेपालको राजनीति भन्दा पनि यतैको राजनीति गर्नु पर्छ । जुन जरुरी पनि छ ।

हामी लन्डनमा रहेको भारतीयहरुलाई नै हेर्न सक्छौं । बेलायती 
राजनीतिमा भारतीय मुलकी कन्जरभेटिभ पार्टी आवद्ध प्रिती पटेल होस् या पाकिस्तानका सादिक खान (हालका लन्डन मेयर) । अब हामी कहां छौं अनुमान लगाउन अप्ठेरो छैन् । मैले नेपालको राजनीति बेलायतमा गर्ने हुंदैन भन्न खोजेको पनि होइन, त्यो आसय नलगाइयोस् ।
मलाई लाज त्यतिखेर लाग्यो जब सात समुन्द्र तरेर बेलायत आइपुग्दा पनि कांग्रेसमा पौडेल प्यानल र देउवा प्यानल रोज्न लाग्यौं । जब ओली र नेपाल प्यानल बनायौं । यो रोग नलागेका अन्य कुनै संस्था 
छैनन् होला । हामी बेलायतमा संख्यामा डेढ लाख रहेपनि किन यति धेरै विभाजित भयौं नेपाली समुदायले उत्तर खोज्नै पर्छ ।
हरेक समुदायको तीज, दशंै, तिहार, लोछार र अन्य चाडबाड हुन्छ । हामी किन एकीकृत भएर अलिक ठूलो भव्य गर्न सक्दैनौ ? हामी किन टाढिंदै छौं एक अर्काबाट ?

अल्डरसट, लन्डन र चाल्टर्न अनि रेडिंगबीच किन यो दुरी बढ्दैछ ? उदाहरणका लागि कपिलबस्तु समाजले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश फैलाउन पार्लियामेन्ट अगाडि कार्यक्रम राख्यो । त्यस कार्यक्रमका लागि सय भन्दा बढि संस्थाले फेसबुकमार्फत सहभागी हुन्छौं भन्दै घोषणा गरे । एउटा संस्थामा ७ जना कार्यसमिति रहंदा पनि ७०० मान्छे हुन आउंछ तर कार्यक्रममा के ७०० मान्छे भेला भए त ? त्यसको भोलिपल्ट अल्डरसटमा पनि फेरी बुद्ध जयन्ती 
राखिएको रैछ । हामी किन एकै ठाउंमा मनाउन सकेनौं ? राष्ट कै सम्पति हुन् बुद्ध । किन यो र त्यो आयोजक भन्ने प्रश्न तेसारिन्छ ? हामीले अब आउने पुस्तालाई यही संस्कार सिकाउने हो या हामी 
परिवर्तन हुने हो त्यो समयमै ख्याल गर्नु पर्ने देखिन्छ ।
मेरो मनमा संस्था खोल्ने होडबाजी किन चल्यो भन्ने कौतुहल्ताले निकै समय डेरा जमायो । केही वर्ष पहिला मैले आयोजना गरेका कार्यक्रममा बाबु २५० पाउन्ड लिनुस् अनि मलाई प्रमुख अतिथी 
राख्दिनुस् देखि चिया खर्च मिलाउंला मलाई अगाडि मञ्चमा 
राख्दिनुस् सम्मका कुराहरु आए । आखिर यो सबै किन त ? किन यो पैसा नै तिरेर प्रतिष्ठित बन्ने होडबाजी चल्दैछ बेलायतमा ?
म गलत छैन् भने आफ्नै लगानीका सम्मान कार्यक्रम पनि भएका 
छन् । म फलाना संस्थाको अध्यक्ष अगाडि मञ्चमा नराख्ने हो भने म कार्यक्रममा उपस्थिति जनाउन असमर्थ छु सम्म भनिएका उदाहरण छन् । नाम उल्लेख गर्न चाहन्न एकसय पाउण्ड तिरेर कुनै कार्यक्रममा इन्टरभ्यू देखाइन्छ । तपाईंले राम्रो काम गरेर समाजमा स्थापित हुनै परेन पैसा तिरेर अब चर्चित बन्न सकियो आखिर किन त ? उत्तर सजिलो छ, उच्च महत्वाकांक्षा र सांकेतिक रुपमा आफ्नो शक्ति प्रदर्शन पनि हो ।

केही बेलायतका प्रभुत्व वर्ग नेपालबाट आएका नेता पाल्दा होस्, उनीहरुलाई ब्लु लेबल चखाउने होस्, उनीहरु आउंदा कार्यक्रम राखेर २०, २५ जना बटुल्दिने होस् । लन्डनमा साइट सिन गराइदिने होस् अथवा झ्वाम्मै सर्ट तानेर अप्ठेरो नमानी टांस्सिएर फोटो खिचेर तुरुन्तै फेसबुकमा हाल्ने अनि लाइक बटुलेर दंग पर्ने होस् । त्यस्तै व्यक्ति र संस्थाहरुको हालीमुहाली छ यहां ।

म उदेक मान्दिन किनकि जसरी हुन्छ प्रतिष्ठित बन्नु परेको छ उनीहरुलाई । हामीमा जसरी पनि आफूलाई स्थापित गराउने नाममा काम गरेर भन्दा पनि दाम तिरेर प्रतिष्ठित बन्ने रोगले गांज्दा त्यो प्रतिष्ठा सिजने खेती बन्न गएको छ । गलत परिपाटीको बढवा भएको छ र यही 
परिपाटीको जगमा नामका मात्र संस्था खुलेका छन् यहां । ९० प्रतिशतको न विधान छ, न दर्ता भएका छन् । कानुनले के भन्छ भन्ने हेक्का पनि छैन् उनीहरुलाई । जुन आफूलाई महत्व राख्ने प्रभुत्व जमात छ, बेलैमा यो बढेको दुरी र सही मुल्यांकन गर्न सकिएन भने नेपाली समाज अरु विभाजित हुने निश्चित छ जसले आउने पुस्ताले नराम्रोसंग घाटा बेहोर्नु पर्ने देखिन्छ । अब जरुरी केबल छ धेरै संस्था होइन, एकता बढि र सफल नेतृत्व । जय होस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक