शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: १२:३० | UK Time: 06:45

धुमधामका साथ गाईजात्रा पर्व मनाइँदै

वीनेपाली
२०७३ भदौ ३ गते १०:५३
वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरूपमा शृङ्गार गरी स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । तस्बिर ः प्रदीपराज वन्त, रासस

वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरूपमा शृङ्गार गरी स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । तस्बिर ः प्रदीपराज वन्त, रासस

भक्तपुर, ३ भदौ । हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेको मुलुकका मुख्य मुख्य सहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यो जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइन्छ । जनै पूर्णिमाको साँझ भक्तपुरको सुकुलढोकास्थित नाट्येश्वरी मन्दिरमा गुठी संस्थानले सरकारी पूजा गरेपछि धाँ बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा सुरु गरिने घिन्ताङघिसी नाचले भक्तपुर नगर परिक्रममा गरेसँगै सुरु हुने गाईजात्रा कृष्णाष्टमीका दिन सम्पन्न हुन्छ ।

भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिईन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ ।

तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । तहामचालाई नगर परिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधिबमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।

भक्तपुरकै तालाकोस्थित कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेको पुख्र्यौली पेसा माटोका भाँडा बनाउनु हो । त्यसैले, उनीहरुले आफ्नै मौलिक पुख्र्याैली पेसा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराउने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।

साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा शृङ्गार गरी बाजागाजाका साथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ । गाईजात्राको दिन बिहान सबेरै कुखुरा नबास्दै भक्तपुर तलेजु मन्दिरबाट तलेजुको तहामचा बनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मात्र सर्वसाधारणका मृतकको नाममा गाईजात्रा निकालिन्छ ।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिन्छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पनि पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्नुहुन्छ । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशावलीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने मान्न सकिने उहाँको भनाइ छ । उहाँले तथ्यगत प्रमाण नभए तापनि विक्रमको १४औँ शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्न सकिने आधार भएको बताउनुभयो ।

गाईजात्राको दिन विधिवत् रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।

गाईजात्राका अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । मध्यपुर थिमिमा लाय्कु भैल, महाकाली प्याखः, बोडेमा नीलबाराही नाचसमेत प्रदर्शन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक