बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०४:१७ | UK Time: 23:32

मार्गरेट थ्याचरको भूत र बेलायतको भविष्य

वीनेपाली
२०७३ भदौ ३ गते १०:३६

hemanta jiiसाम्राज्यहरु उदाउने र अस्ताउने समाज परिवर्तनको एउटा सामान्य नियम बाहेक केही होइन् तर त्यसले पार्ने असरहरु भने कयौं शताब्दीसम्म पनि रहिरहन सक्छन् । इतिहासमा कसले सोचेको थियो होला पर्सियन, म्यसडिनियन, मौर्य, क्यिन, रोमन जस्ता शक्तिशाली साम्राज्यहरुको पतन । त्यसै गरि मध्ययुगीन साम्राज्यहरु मंगोल, नर्बेजियन, 
क्य्लिफेत, तान, ससानियेंन तथा आधुनिक अंग्रेज, रसियन, डच, इस्पनिस, इटालियन, जर्मन, फ्रेन्च, पोर्तुगिज, किंग, 
ओत्तोमन, जापानिज, ब्राजिलियन इत्यादि । यी साम्राज्यहरुका विकास क्रममा मानव सभ्यताले थुप्रै ठूला ठूला उन्माधहरु झेलेको छ । रगत, पसिना र श्रम र जीवनको बलिदान भएको छ । मानिसहरु जनावर जसरी विक्री गरिएका थिए, मुला जसरी काटिएका थिए र जित्नेको जंगल राज हुने गर्दथ्यो । शक्ति र सत्ताको उन्माद इतिहास देखिनै मानिसको मस्तिस्कमा गहिरोसंग बास गरेको भेटिन्छ, त्यसैले त आज पनि हरेक व्यक्ति वा हरेक राज्य आफ्नो दादागिरी देखाउन खोज्छ । तर, प्रश्न उठ्छ कतिन्जेलसम्म ? के यो स्थायी छ त ? इतिहासलाई सांचो मान्ने हो भने हरेक साम्राज्यहरु एउटा निश्चित समयसम्म मात्रै अस्तित्वमा रहन सक्छन् ।

ब्रिटिश साम्राज्य सन् १९२१ मा सबै भन्दा चुचुरोमा पुगेको देखिन्छ र नियम अनुसार त्यसपछि यसको पनि अवसान सुरु हुन्छ । तर शासनको अन्त्यसंगै उसले छोडेर गएका भाषा, रहन सहन, कला संस्कृतिले लामो समयसम्म पनि राज गरिरहन्छन् । त्यसैले त आज पनि थुप्रै पूर्व ब्रिटिश कोलोनीहरुमा मानिसहरु कुम उचाली उचाली अंग्रेजी बोलिरहेछन् । पुरै ल्याटिन अमेरिका सकी नसकी इस्पनिस बोलिरहेछ । ब्राजिल पोर्तुगिज बोल्छ । इन्डियनहरु सकी नसकी अंग्रेजीमा बोल्न खोज्छन् । उत्तर अमेरिका फ्रेन्च बोल्छ, पूर्वी यूरोप रस्सियन बोल्छ । सायद अब चाइनिज बोल्नु पर्ने हुनसक्छ । कुनै समय अमेरिका देखि अस्ट्रेलियासम्म आफ्नो झन्डा फहराउने ब्रिटिशहरु आज युरोपियन युनियनबाट समेत अलग हुंदै एउटा सानो टापुमा आफूलाई सिमित गर्न पुगेका छन् । ति माथिपनि स्कटल्याण्ड स्वतन्त्र राष्ट्रको रुपमा आफूलाई उभ्याउने कोशिस गरिरहेको छ । पहिलो जनमत संग्रह हारेको पीडा सम्झिंदै दोस्रो जनमत संग्रहको सहि समय को पर्खाइमा छ ।

युरोपियन युनियनसंग रहने वा नरहने भनेर गरिएको जनमत संग्रहमा प्रमुख ठूला पार्टीहरुको मुद्दालाई बेलायती जनताले चिसोपानी खन्याइदिए र अमेरिका लगायत संसारका महाशक्तिहरुका सुझाव, राजनीतिज्ञहरुको सल्लाह, 
फाइनान्सिअल अर्गनाइजेशनहरुका रिसर्चहरुलाई, तिनिहरुका मत सर्वेक्षणका भविष्यवाणीहरुलाई गलत सावित 
गर्दै युनियनबाट बाहिरिने निर्णय गरिदिए र संसारलाई जनताको एक भोटको शक्ति कस्तो हुन्छ भनेर एकपटक फेरी देखाइदिएका छन् । संगै राजनीतिज्ञहरुलाई जनताको आवाज नसुन्दा त्यसको परिणति कस्तो हुन्छ भनेर नबोलीकनै एउटा गतिलो झापड हानेका छन् । र समय अगाबै हुंदाखादाको कार्यकारी प्रधानमन्त्रीको जागिर खोसिदिन्छन् र वर्तमान प्रधानमन्त्री टेरेजा मेको उदय हुन्छ बेलायतको राजनीतिमा । आइस कुइन नामले परिचित यी महिलामा बेलायतका कन्जरभेटिभहरु दोस्रो मार्गरेट थ्याचरको छांया देख्दैछन् । र, यो छांयाले बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीलाई आउंदो २०२० को चुनावमा नराम्रोसंग तर्साउन सक्छ भनेर अहिलेनै शंका व्यक्त गर्न थालिसकिएको छ । उनी प्रधानमन्त्री भएपछिको पार्लियामेन्टको पहिलो 
प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षी नेता जेरेमी कोर्बिनको प्रश्नका उत्तर दिंदाको उनको बडी ल्यांग्वेज र भाषा एकदमै डोमिनेटिंग र प्रतिपक्षलाई भारी पर्ने खालको निकै अनुभवी राजनीतिज्ञले जसरी नै गरेकी थिइन् जुन हाउभाउ ठ्याक्कै मार्गरेट थ्याचरसंग मिल्दोजुल्दो थियो । यो घट्नालाई बेलायतका सबै जसो मिडियाहरुले बडो नजिकबाट नियालेर प्राथमिकताकासाथ आफ्नो समाचार बनाएका थिए ।

के बेलायती राजनीतिमा फेरी दोस्रो थ्याचरको उदय सम्भव छ त ? निजीकरणकी प्रवक्ता जसले बेलायतका कोइलाखानीहरु बन्द गरिन्, ट्रेड युनियनका अधिकारका पखेटा काटिदिइन, नोर्दन आयरल्याण्डमा विरोधको सामना गरिन्, आफ्नै देश भित्रबाट आइ. आर. ए. को बम आक्रमणमा बाल बाल बंचिन्, फोकल्याण्ड युद्ध झेलेकी त्यो बेलाकी मार्गरेट थ्याचर र अहिलेकी टेरेजा मेमा के के समानताहरु छन् ? समय बदलिएको छ, युद्ध त आज पनि जारी छ तर यसको स्वरूप परिवर्तन भएको छ । आज व्यापार मार्फत युद्ध छ, सबै भन्दा बढि जसले मुनाफा गर्छ त्यही विजयी घोषित गरिन्छ । यो युद्ध मोर्चामा टेरेजा मे टिक्न सक्छिन् या सक्दिनन त्यो त उनले लागू गर्ने नीति नियमहरुले बताउनेछ नै समयले आएपछि ।

बेलायती लेबर पार्टीको आन्तरिक किचलो र यो तानातानीले तल्लो स्तरको काम गरिखाने ठूलो लेबर मतदातामा त्यसले पैदा गरेको फ्रस्टेसन, स्कटल्याण्डबासीको उग्र राष्ट्रवाद यस्ता मुद्धाहरु हुन् जसले आउंदो चुनावमा लेबर पार्टीलाई धुलो चटाइदिन सक्छन् । प्रमुख प्रतिपक्षी पार्टी लामो समयसम्म रानो बिनाको माहुरी भइराख्ने हो भने र आन्तरिक किचलोलाई समयमा नै नसल्टाउने हो भने आउंदो चुनावमा दोस्रो थ्याचरको उदयलाई कसैले रोक्न सक्नेछैन् ।

हुन त अहिलेकी प्रधानमन्त्री जनताका बिचमा आफ्ना मुद्धा राखेर उनीहरुबाट सिधै चुनिएर आएकी हैनन्, त्यसैले पनि आजको दिनमा जनतालाई उनको बिदेश नीति के हो, इकोनोमिक प्लान कस्तो छ, बैदेशिक हस्तक्षेपका बारेमा के भन्छिन्, मध्यपूर्बको समस्यामा उनको पोजिसन कहां नेर छ, आप्रवासी सम्बन्धमा उनको ठोस् के योजना छन् भन्नेमा चाहिं केहि पनि थाहा छैन् ।
एउटा कुरा चाहिं प्रष्ट छ । यदि बेलायती लिबरल पार्टीहरुले आफ्ना इकोनोमिक योजनाहरु जनताका माझमा पुरयाउन सकेनन्, एउटा विश्वासिलो नेता छानेनन्, बढ्दो विश्वव्यापी भूमण्डलीकरणको मुनाफाको ब्याज यदि यहांका छांयामा परेका जनतासम्म पुरयाउने एउटा भरपर्दो योजना प्रस्तुत गर्न सकेनन् भने आउंदो चुनाव प्रतिपक्षकालागि ढुंगाको चिउरा चपाउनु बराबर हुनेछ र टेरेजा मे मा देखिएको मार्ग्रेट थ्याचरको भूतले लेबर पार्टीलाई सिंगै निलिदिनेछ ।

त्यसो भन्दैमा कन्जरवेटिभहरु खुसीले उफ्रिहाल्नु पर्ने र आंउदो चुनाब हामीले जितिहाल्छौं भनेर अहिलेनै ठोकुवा गर्नु हतारो हुनेछ । युरोपियन युनियनसंग छुट्टिएपछि उनीहरुसंगको सहज सम्बन्ध, कसरी बेलायतले आफ्नो मुद्धालाई स्थिर बनाइराख्ने, देश भित्रको इकोनोमीलाई कसरी फिक्स गर्ने, युरोप र बांकी विश्वसंग कसरी नयां तरिकाले नाफा मुलक ब्यापार गर्ने, यहांको हाउजिंग क्राइसिस्लाई कसरी ठिक तरिकाले सम्बोधन गर्ने, बेरोजगारीको अवस्थालाई कसरी न्यूनीकरण गर्ने, जनतासंग प्रत्यक्ष सरोकार राख्ने सुविधा कटौतीका बारेमा के उत्तर दिने, अन्तर्राष्ट्रिय स्तरमा बेलायती बर्चस्व कसरी बचाइराख्ने, नोर्दन आयरल्याण्ड, स्कटल्याण्ड र वेल्सको युनियनलाई कसरी टुक्रिन नदिइकन मिलाएर लान सकिन्छ त्यसमानै ब्रिटेनको भविष्य र टेरेजा मेको राजनैतिक करिअरको भाग्य निर्धारण हुनेछ । अस्तु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक