१३ बुंदे घोषणापत्र जारी गर्दै नवौ एनआरएन युरोपियन क्षेत्रिय सम्मेलन सम्पन्न

13898297_10154362075446197_1184478474_o
कोपेनहेगन । युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन नारा सहित डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भएको छ । डेनमार्कस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत रामकाजी खड्का, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, महासंघका कार्यकारिणी समितिका सदस्य तथा अन्तर्राष्ट्रिय तथा एनआरएन लगानी प्रवर्धन समितिका सभापति चन्द्र ढकाल, गैर आवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्ने ३ सय गैर आवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सम्मेलनले १३ बुंदे घोषणापत्र जारी गरेको छ ।
घोषणापत्र जस्ताको तस्तैः
१. अबिरल बर्षासंगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा धेरै नेपालीले ज्यान गुमाउनु भएको छ । हजारांैको संख्यामा अहिले पनि बाढी, पहिरो र डुवानको त्रासमा रहनु भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठेरोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्पूर्ण एनसिसिहरुलाई आह्वान गर्दछ । सहयोग गर्न 
सम्बन्धित स्थानमा जांदा आवश्यक पर्ने भौतिक सहयोग नेपाली सेनाले गर्ने सम्झौता भइसकेको छ र कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ ।
२. देशको समृद्धि नै हाम्रो चाहना हो । जसको लागि लगानीको वातावरण पहिलो आधार हो । अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन भई देशलाई पूर्ण स्थायित्वको बाटोमा हिंडाउंदा एक तहको विश्वास लिन सकिन्छ । जसको लागि प्रमुख राजनीतिक दलहरु वीचमा सहमति र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पनि पूर्ण रुपमा समर्थन गर्दछ ।
३. नेपालमा लगानी प्रवर्धन गर्न गैर आवासीय नेपालीको निजी क्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ बीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले हाललाई रु १ अर्ब बराबरको लगानीका लागि प्रतिवद्धता अनुरुप महासंघले परियोजना छनौट गर्न पहल गर्ने निर्णय भयो ।
४. अन्तर्राष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता विकास उपसमितिले अगाडि सारेको लघु वीत्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने निर्णय गर्दछ ।
५. गैरआवासीय नेपाली नेपाली संघ संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरु (जस्तै ःएक हजार घर निर्माण, शंखमूल पार्क, भवन निर्माण लगायत) आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा यस क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो सिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
६. गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निष्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।
७. यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको 
समिक्षा गर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
८. पोर्चुगल, स्पेन, आयरल्याण्ड र फिनल्याण्डमा नेपाली दूताबास स्थापना गर्न अन्तर्राष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ । साथै युरोपको बिभिन्न क्षेत्रमा हुनेका मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउंदछ ।
९. नेपालको कानुन तथा भौतिक संरचना अपांगमैत्री बनाउन तथा शारीरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वावलम्बी बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । अन्तर्राष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वावलम्बी बनाउन अभियान चलाउने निर्णय गरियो । हाललाई शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैर आवासीय नेपाली युवा दूत घोषणा गर्दै उनको अभियान अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत सञ्चालित गर्ने गरी यस भेलामा प्रतिवद्धता जनाइएअनुसार रु. ३२ लाख संकलन भएको छ । यसैगरी स्पेन निवासी आईनाद्धारा संचालित परियोजनालाई प्रतिवद्धता जनाएअनुसार करिव १३ लाख अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत संकलन गरि प्रदान गरिने छ ।
१०. दोश्रो पुस्ताका गैरआवासीय नेपालहरुलाई नेपालप्रति भावनात्मक सम्बन्ध कायम राख्न गर्न विभिन्न क्रियाकलाप गर्न सम्पूर्ण राष्टिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ ।
११. भूकम्पपछि खस्कदै गएको पर्यटन क्षेत्रको प्रवर्धन गर्न अन्तराष्टिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसंग सहकार्य गरेको अथितिदेवो भवः अभियानलाई सहयोग गर्ने र्निणय गरियो ।
१२. दशौंै क्षेत्रिय बैठक २०१७ मा जर्मनीमा गर्ने निर्णय गरियो ।
१३. नवौं युरोपियन क्षेत्रीय वैठकलाई सफल बनाउनका लागि सहयोग गर्नु हुने डेनमार्क स्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पूर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ ।
३१ जुलाई २०१६

प्रतिक्रिया

सम्बन्धित सामाग्री