नेपथ्य पहिलोपटक जर्मनीमा

Nepathya frontman Amrit Gurung performing in Hamburg

नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा आफूलाई प्रस्तुत गरेको छ। ह्यामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको छ ।

युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ ह्यामवर्गमा थोरै मात्र नेपाली बसोबास गर्छन्। ‘ब्याण्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मवल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,’ आयोजक तमु समाजका तर्फबाट कार्यक्रम संयोजक रहेका सुन्दर गुरुङले भने, ‘निम्तो स्वीकार्दै यति टाढा आएर कार्यक्रम प्रस्तुत गर्दै हामीलाई अविष्मरणीय साँझ प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं।’

नेपथ्यको सदाबहार पुराना हिट गीतहरुदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको कार्यक्रम गुरुङ बोलबाट सुरुहुने गीत ‘नासे छ्यावा’बाट थालनी भएको थियो। त्यसपछि नेपथ्यको सर्वकालीक हिट ‘छेक्यो छेक्यो’, ‘चरि मरयो’, ‘जोमसोमे बजार’ हुँदै ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’ बाट अघि बढेर भर्खरै तयार गीत ‘कोशीको पानी यो जिन्दगानी’ सम्म गुन्जिएको थियो।

‘नेपालमा यतिबेला मनसुन चलिरहेको छ। हाम्रा किसान दाजुभाइका निम्ति खेतीलाइ महत्वपूर्ण हुने यो सिजन भए पनि पानी बढी पर्नेबित्तिकै बाढी र पैह्रोको सास्ती हामीले भोग्दै आइरहेका छौं। यतिबेला नेपालका धेरै गाउँहरु अति वर्षाले जन्माएका प्रकोपहरु बेहोरिरहेका छन्। यस्तो बेलामा धेरै संघ संस्थाहरुले उद्धार र राहतका कामहरु अघि बढाइरहेका छन्। तपाईहरुलाई मनपरेको जुनसुकै संस्थामार्फत भए पनि सहयोगमा हात बढाइदिनुहुन अनुरोध गर्छु।’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग अपिल गरे।

कन्सर्टमा जीवन्त र शक्तिशाली प्रस्तुतीका निम्ति नेपथ्य उसका श्रोता दर्शकमाझ परिचित छ। मनोरञ्जनका साथसाथै सामाजिक जागरण र चेतनाका आवाजहरुले उसका प्रस्तुतीमा थप विशेषता जोड्दै आएको छ। यसबाहेक प्रकाश, आवाज र दृश्य माध्यमहरुको संयोजनले कन्सर्टका पारखीहरुमाझ नेपथ्यको बेग्लै पहिचान विकास हुँदै आइरहेको छ। कार्यक्रम अघि बढ्दै जाँदा अमृतले स्वदेशका खवरहरु जसरी वर्णन गर्दै जान्छन् प्रत्युत्तरमा उनका दर्शक पुरै शान्त भएर सुनिदिन्छन् र त्यसपछि बज्ने तालीका चर्को आवाजले भीँडबाट स्वीकारोक्ति पाउँदै आएको छ।

‘हामीले आफ्नो जीवनकालमा थुप्रै परिवर्तन देखेका छौं। प्रजातन्त्रदेखि लिएर गणतन्त्रसम्मका अनुभव भए। तर, यस्तो लागिरहेको छ कि हाम्रो स्वतन्त्रताको वास्तविक लडाइ चाहिँ अझै सकिएको छैन। हामी अहिले पनि नेपालमा भयको वातावरणमा बाँच्न बाध्य छौं, नेतादेखि लिएर कर्मचारीतन्त्रहुँदै अन्य व्यावसायीमा समेत निष्ठाको अभाव देखिन थालेको छ। न्यायको राज्य स्थापित गर्न संघर्ष चलिरहेकै छ,’ अमृतले थपे, ‘तैपनि हामीकहाँ अहिले पनि आत्मसम्मान जीवित राखेका गौरवशाली व्यक्तिहरुको अभाव भइसकेको छैन। सामाजिक सञ्जाल प्रभावकारी बन्दै गइरहेको अहिलेको समयमा तपाइँहरुले पनि आफ्नो मत र विचारमार्फत् त्यस्ता समाज सुधारकहरुको प्रयासमा ऐक्यवद्धता जनाउन सक्नुहुन्छ। आफ्नो मुलुकमा भइरहेको न्याय र स्वतन्त्रताको लडाइँमा तपाईहरुले विदेस बसेरै दिएको योगदान पनि महत्वपूर्ण बन्न सक्छ।’

ह्याम्वर्गमा आयोजित कन्सर्टमा सहभागीताका निम्ति केहि घन्टा परका सहरहरुबाट समेत मोटरमा आएका दर्शकहरु देखिन्थे। यसरी जर्मनीको शानदार प्रस्तुतीसँगै नेपथ्य अब डेनमार्कको कोपेनहेगनतर्फ लागेको छ। यो स्क्यानडेभियन मुलुकमा पनि नेपथ्यको यो नै पहिलो प्रस्तुती हुनगइरहेको छ। त्यहाँस्थित अमागरवियो हलमा अगस्त २ तारिखका दिन नेपथ्यले लोक रक भाका सुनाउने छ।

सँधै झैँ यो प्रस्तुतीमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, काबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिइरहेका छन्। डेनमार्कको कार्यक्रमलाई त्यहाँस्थित आइएनएएस (इन्टरनेशनल नेपलीज आर्टिस्ट सोसाइटी) ले आयोजना गर्न गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री