सिंगारिंदै लन्डनस्थित नेपाली दूतावास भवन

Nepalese_Embassy_London_01922

लन्डन । लन्डनको मुटु केन्जिङटन प्यालेस गार्डेन्स्मा अवस्थित नेपाली दूतावास भवन मर्मत शुरु भएको छ । नयां कार्यवहाक राजदूत शरदराज आरनले कार्यभार सम्हाले लगत्तै मर्मत सम्भारले तीव्रता पाएको हो । यतिखेर दूतावास भवनको 
भुईंतला (अन्डरग्राउण्ड), राजदूत बस्ने आवास गृह र त्यहां खसेको सिलिङ मर्मत एवं ढोकाका टुटेफुटेका सम्पूर्ण ताला चाबी फेरि रंग लगाउने काम भइरहेको कार्यवहाक राजदूत आरनले जानकारी दिए । मन्त्रिपरिषदले नयां राजदूतको नाम सिफारिस गरि संसदीय सुनुवाइ बांकी रहंदा राजदूत आवास गृह सिंगार्न लागिएको हो ।

दुई हिटिङ सिस्टम मध्ये एउटा काम नलाग्ने गरि बिग्रिएपछि त्यसलाई करिब १५ लाख रुपैयां खर्चेर मर्मत गर्न लागिएको छ भने अन्य सबै मर्मतमा कुल ५० लाख रुपैयां लाग्ने अनुमान छ । दूतावासका पुराना फर्निचर समेत ‘रिप्लेस’ 
गरिने आरनले जनाए ।

मर्मत सम्भार गर्न नसकिएको बहानामा उक्त क्राउन प्रोपर्टी बिक्री 
गर्ने चर्चा राजदूत फेरिने बित्तिकै हुने गर्दछ । तर, कार्यवहाक राजदूत आरन अब मर्मत गर्न बांकी केही नरहेको बताउंछन् । ‘अब सबै भौतिक संरचना नयां भइसकेका छन्, मर्मतको बहानामा बेच्न जरुरी छैन्’, उनले भने ।

तत्कालिन राजदूत प्रज्वल शमशेर जबराको पालामा भवन मर्मतका लागि मात्र ४ दशमलव ५ मिलियन पाउण्ड खर्च लाग्ने प्रतिवेदन नेपाल सरकारलाई बुझाइएपछि अर्थ मन्त्रालयले सो बराबरको रकम निकासा नगरिदिएर बिक्री प्रक्रियाले प्राथमिकता पाउंदै आएको कतिपयको बुझाइ छ ।
सन् १८६५ मा निर्मित १२ ए नम्बरको उक्त भवनको बजार भाउ करिब एकसय ८० मिलियन पाउण्ड पर्ने बताइन्छ । तत्कालिन नेपाल सरकारले सन् १९५६, २७ जुलाईमा भइराखेको लिज सरेन्डर गरि पुनः ९ अक्टोबर, सन् १९८० मा क्राउन स्टेट कमिश्नरसंग ९९ वर्षका लागि नयां लिज सम्झौता गरेको थियो । लिज सम्झौता अनुसार, नेपाल सरकारले सो भवनको भाडा वार्षिक एक हजार पाउण्डमात्र तिर्छ । लिज अवधि ५० वर्ष काटेपछि एकहजार पांच सय र ७५ वर्ष काटेपछि वार्षिक दुई हजार पाउण्ड तिर्नुपर्ने लिजको शर्त छ । सरकारले भाडा वापत त्रैमासिक (५ जनवरी, ५ अप्रिल, ५ जुलाई र १० अक्टोबर) मा भाडा तिर्नुपर्ने र ढिलाइमा २१ दिनभित्र भाडा नतिरे लिज खोसिने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री