बेलायती महारानीसंग एक्कासी जम्काभेट भएपछि…

Queen with Nepali couple

लन्डन । १३ वर्ष यता स्कटल्याण्डको केनमोर पर्थसायर बस्दै आएका सानु गुरुङ र आना दम्पत्तिले बेलायती महारानीसंग एक्कासी जम्काभेट होला भनेर जीवनमा कहिल्यै सोचेका थिएनन् । रानीबाट 
रोयल गार्डेन पार्टीका लागि निम्तो पाएपछि सहभागी हुन पाइनेमा भने ढुक्क थिए उनीहरु । तर, सपना जस्तै भयो मंगलबार ।

गुरुङ दम्पत्तिलाई रानी एलिजावेथले दर्शन भेट दिएर झण्डै दश मिनेट वातचित गरेपछि खुशीको सिमा छैन् उनीहरुमा । ‘हामीले दर्शन भेट पाउंछौं भन्ने सोचेकै थिएनौं’, सानु (विजय) ले मंगलबार सांझ कान्तिपुरसंग खुशी सांटे, ‘रानीसंग प्रत्यक्ष रुपमा नेपाल र हाम्रो च्यारिटीबारे भलाकुसारी गर्न पाउंदा आफूलाई गौरवान्वित ठानेका छौं ।’ गुरुङ दम्पत्तिले स्कटल्याण्डको पर्थसायरमा ‘ब्रिङ ब्याक दि स्माइल टु नेपाल’ नामक च्यारिटी संस्था चलाइरहेका छन् ।

भेटमा रानीले नेपालबारे चासोपूर्वक जिज्ञासा राखेको गुरुङले जानकारी दिए । ‘मैले उहांलाई नेपालमा भूकम्प पीडितले अझै राहत र बास
नपाएको बताउंदा रानीमा चिन्ता प्रष्टै झल्कन्थ्यो’, उनले थपे, ‘मैले हाम्रो च्यारिटीले गच्छे अनुसार पीडितलाई सहयोग गरिरहेको बताउंदा रानीले राम्रो काम भनेर प्रशंसा गर्नुभयो ।’

महारानीले भलाकुसारीका क्रममा आफू नेपाल जांदा गोर्खा आर्मी क्याम्प पोखरामा बसेको क्षण र नाति प्रिन्स ह्यारीले भर्खर नेपाल भ्रमण गरेको सन्दर्भ पनि जोडेकी थिइन् । गोर्खाहरुको प्रसंग उठाउंदै रानीले बेलायत नेपाल कुटनीतिक सम्बन्धबारे समेत संक्षिप्त कुरा गरेको सानुले बताए ।

९० वर्षीया रानी एलिजावेथ आफ्ना श्रीमान डुक अफ एडिनबरा (प्रिन्स फिलिप) का साथ होलीरुड हाउस प्यालेसमा आयोजित गार्डेन पार्टीमा सरिक भएकी थिइन् । रानी अहिले होलीरुड वीकका लागि सपरिवार स्कटल्याण्डमा छिन् । राजसंस्थाले प्रत्येक वर्ष देशका विभिन्न क्षेत्र घुम्ने प्रचलन छ ।

गुरुङ दम्पत्ति

गुरुङ दम्पत्ति

बेलायती नागरिक आनालाई पनि राजपरिवारको दर्शन भेटले सामाजिक काममा लाग्न बेग्लै उर्जा प्रदान गरेको छ । ‘वास्तवमा भेटको त्यो क्षण धेरै अविष्मरणीय हुनेछ’, यही बिहीबार नेपाल उड्न लागेकी आनाले थपिन्, ‘हाम्रो च्यारिटी काम राजपरिवारसम्म पुग्दा ज्यादै उत्साहित भयौं ।’ तीन छोराकी आमा आना नेपालसंगको आफ्नो सम्वन्ध ज्यादै मजवुत र भावनात्मक भएको बताउंछिन् । सन् १९९३ मा पहिलो पटक सानु र आनाको भेट नेपालमा भएपछि विस्तारै उनीहरु प्रेममा बांधिए र सन् २००० मा प्रेम सम्वन्ध बिहेमा परिणत भयो ।

नेपालमा भूकम्प आए लगत्तै स्थापित गुरुङ दम्पत्तिको संस्थाले चार महिनापछि च्यारिटी संस्थाको मान्यता पाएको थियो । च्यारिटी टाइम्स अवार्डस २०१६ मा ‘वेष्ट न्यू च्यारिटी’ मा मनोनित समेत भएको उक्त संस्थाले भूकम्प लगत्तै ७९ घर परिवारलाई जस्ता पाता खरिद गरिदिएको थियो । त्यसपछि संस्थाले दुई परिवारलाई घर निर्माण गरिसकेको छ भने क्षतविक्षत गोर्खाको आर्चनबासमा २१ वटा घर निर्माण गरिरहेको छ । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री