बेलायतमा नेपाली पुस्तान्तरबारे खोजी शुरु

Youth workshop

लन्डन । बेलायतस्थित नेपालीको पहिलो र नयां पुस्ताबीचको अन्तर छुट्याउन अध्ययन शुरु भएको छ । सन् २००८ मा बेलायतमा रहेका नेपालीको जनगणना गरेको सेन्टर फर नेपाल स्टडिज यूकेले नै उक्त ‘पाइलट रिसर्च’ गर्न लागेको हो ।

युवाहरुको सामाजिक क्रियाशिलता, शैक्षिक र व्यवसायिक स्तर, युवा चाहना, बेलायती परिवेशमा हुर्किंदाका समस्या र चुनौती जस्ता पक्षमा अध्ययन गर्न लागिएको सेन्टरका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले जानकारी दिए । संस्थाले उक्त रिसर्चका लागि फार्नबोरो र रेडिङ क्षेत्रका एकसय नेपाली घरधुरी छानेको छ ।

अध्ययनकै क्रममा गत सप्ताहन्त रेडिङस्थित वेयरहाउसमा आयोजित एउटा कार्यशालामा जिसिएसइ, ए लेभल, कलेज, युनिभर्सिटी र व्यवसायिक क्षेत्रमा लागेका युवाहरु एकत्रित भए । कार्यशालाको उद्देश्य युवाहरुबीचको 
अन्तरक्रियाबाट शैक्षिक र व्यवसायिक अवस्था कस्तो छ र त्यो अवस्थालाई प्रभाव पार्ने कारणहरु के हुन् बुझ्नु रहेको आयोजकले जनाएका छन् ।
सेन्टरका कार्यकारी निर्देशक ढकाल, अनुसन्धाताहरु डा. कृष्ण अधिकारी, डा. चन्द्र लक्सम्बा, डा. गंगाराम दाहाल र डा. नवीन आचार्यले सञ्चालन गरेको कार्यक्रममा युवाहरुमा बेलायती 
राजनीतिक सहभागिताको सम्भाव्यताबारे समेत छलफल भयो । सहभागीले स्थानीय समुदायमा घुलमिल हुन कुनै अप्ठेरो नभएको धारणा राखेका थिए ।

दिनभर चलेको कार्यक्रममा युनिभर्सिटी अफ वारवीककी प्राध्यापक एलिनोर नेसबिटले किनोट एड्रेस दिएकी थिइन् ।

सन् १९६० को दशकदेखि बेलायतमा नेपालीको आगमन शुरु भएको पाइन्छ । विशेषगरि पहिलो पुस्ता भारतीय लगानी रहेको रेष्टुरेन्टमा काम गर्न यता छिरेको विश्वास गरिन्छ । सन् २००४ र २००९ मा बेलायतले अवकास प्राप्त गोर्खा र तिनका परिवारलाई आवासीय अधिकार दिएपछि जनसंख्या एक्कासी बढेको थियो । पछि अध्ययनका लागि हजारौं विद्यार्थी र काम गर्न उच्च सीप (हाइली स्किल) भएका व्यक्ति यहां ओइरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री