
बेलायती राजकुमार ‘ह्यारी’ आइतबार ललितपुरमा वैशाखको भूकम्पले क्षति पुरयाएको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिर हिरण्यवर्ण महाविहार (क्वावहा) को भ्रमण गर्नुहुँदै । तस्बिर ः रोशन सापकाटा, रासस
ललितपुर, ७ चैत । कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाउनुभयो ।
काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भन्नुभयो, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।”
गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पुरयाएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताउनुभयो ।
अहिले पुरातत्व विभागले स्मारक क्षेत्र अन्तर्गतका मुख्य स्थल मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचामा पुनःनिर्माण अगाडि बढाइरहेको छ । भूकम्पले सो क्षेत्रका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर र सोह्रखुट्टे पाटीलाई पूर्णरुपमा क्षति पुरयाएको थियो भने विश्वनाथ, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिरलगायतमा क्षति पुरयाएको थियो ।
काठमाडाँै भ्याली प्रिजभेसन ट्रस्ट मार्फत विभागले पुनःनिर्माणका काम बढाएको छ । राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिनुहुन्थ्यो । अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ भनेर राजकुमार ह्यारीले कालीगढसित प्रश्न समेत गर्नुभएको थियो ।
भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा कालीगढले चलाइरहेका औजारलाई राजकुमार ह्यारीले मागेर त्यसको चलाउने तरिकाबारे उत्सुकता देखाउनुभएको थियो । कालीगढले राजकुमार ह्यारीलाई आफ्ना सीप र पौरखलाई पुनःनिर्माणमा उपयोग गर्ने जानकारी दिनुभएको थियो ।
उहाँले भूकम्पले क्षति पुरयाएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । कलाकौशलका लागि सो क्षेत्र विश्वप्रसिद्ध छ ।
राजकुमार ह्यारीका पिता चाल्र्सले पनि विसं २०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गर्नुभएको थियो । राजकुमार ह्यारीले सो क्षेत्रमा उपस्थित स्थानीय बासिन्दालाई अभिवादन समेत गर्नुभएको थियो । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउन समेत राजकुमारले भ्याउनुभएको थियो । स्थानीय बूढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।
खुलेर कुराकानी गर्न रुचाउने ह्यारीले सो क्षेत्रमा आएका विदेशी पर्यटकसित भलाकुसारी समेत गर्नुभएको थियो । आफ्नो देश बेलायतमा भेट गर्न नपाएका ह्यारीसित नेपालमा हात मिलाउन पाएकामा डेभिडका परिवार औधि खुसी देखिन्थे । उनीहरु आज नै सो क्षेत्रमा घुम्न निस्केका थिए । पर्यटकले ‘प्रिन्स ह्यारी, आइएम फ्रम युके’ भनेपछि राजकुमार ह्यारीले करिब दुई मिनेट उनीहरुसित कुराकानी गर्नुभएको थियो ।
अपराह्न १२ः३० बजे सो क्षेत्रमा ह्यारी पुग्नु हुँदा नेवारी वेशभूषामा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए ।
राजकुमार ह्यारीले आजै ललितपुरको हिरण्यवर्ण महाविहार(क्वावहा) गई त्यसका बारेमा जानकारी लिनुभयो । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिरमध्ये सो मन्दिर पनि एक हो । पटक पटक जीर्णोद्धार हुँदै आएको सो मन्दिरलाई पनि गत वैशाख महिनामा गएको भूकम्पले क्षति पुरयाएको थियो ।
राजकुमार ह्यारीका साथमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिस पनि सहभागी हुनुहुन्थ्यो ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक