पौडेलसहित सातजना केन्द्रीय सदस्यमा मनोनित

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः रोशन सापकोटा,रासस

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः रोशन सापकोटा,रासस

काठमाडौँ, ३ चैत । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यलाई काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज प्रमाणपत्र प्रदान गरयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा समितिका संयोजक राधेश्याम अधिकारी र समिति सदस्य गोपालप्रसाद घिमिरेले पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष तथा निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रमाणपत्र ग्रहण गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो ।

सभापति देउवालाई निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले औपचारिक रुपमा सभापतिको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि, प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले सभापति चुनिएसँगै आफूलाई जिम्मेवारी बोध भएको बताउनुभयो । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

सभापति देउवाले संविधानको कार्यान्वयन र प्रदेश सीमाङ्कनलगायत मधेसमा उठाइएका माग सम्बोधन गर्न पार्टीलाई सबैको सहयोग चाहिने बताउनुभयो ।

उहाँले पार्टी संस्थापक बिपी कोइरालादेखि पछिल्लो संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेल्नुभएका सुशील कोइरालाको योगदानको चर्चा गर्दै उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने विश्वास दिलाउनुभयो ।

पार्टीको १३औँ महाधिवेशनलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएका निर्वतमान कार्यवाहक सभापति पौडेलका साथसाथै सम्पूर्ण मतदाता, राजनीतिक दल र शुभेच्छुकहरुप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

निवर्तमान कार्यवाहक सभापति पौडेलले पार्टीको १३औँ महाधिवेशनले नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै नयाँ संविधानको कार्यान्वयनका साथै मधेसी, थारुलगायतका समुदायको माग सम्बोधन गर्न र देशमा स्थायी शान्ति कायम गर्न पार्टीले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक सङ्क्रमणको वर्तमान घडीमा संविधानको कार्यान्वयनको चुनौती सामना गर्न र पार्टीको गौरवमय इतिहासको जगेर्नाका साथसाथै पार्टीलाई दिगो बनाउन आफ्नो तर्फबाट सभापतिलाई निरन्तर सहयोग गर्ने वचनबद्धता पनि उहाँले प्रकट गर्नुभयो ।

महामन्त्री डा कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीलाई सुदृढ र एकताबद्ध बनाई नयाँ संविधान कार्यान्वयनको जिम्मेवारीलाई पूर्णता दिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

कोषाध्यक्ष यादवले १३औँ महाधिवेशन एकताको महाधिवेशन भएको र त्यसैअनुरुप सबैले मिलेर पार्टी सङ्गठनलाई मजबुत बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मधेसमा देखिएको समस्या समाधानका लागि सकारात्मक पहल गर्न पार्टी सभापतिलाई आग्रहसमेत गर्नुभयो ।

निर्वाचन समिति संयोजक अधिकारी र सदस्य घिमिरेले नेपाली काँग्रेसको १३औँ महाधिवेशनलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

पौडेलसहित सातजना केन्द्रीय सदस्यमा मनोनित

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम निवर्तमान कावा सभापति पौडेलसहित सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।

कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नरहरि आचार्य, गगनकुमार थापा, चित्रलेखा यादव, उमाकान्त चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लिखित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री