
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, ३ चैत । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् केन्द्रीय सदस्यलाई काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज प्रमाणपत्र प्रदान गरयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा समितिका संयोजक राधेश्याम अधिकारी र समिति सदस्य गोपालप्रसाद घिमिरेले पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष तथा निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
प्रमाणपत्र ग्रहण गरेलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको थियो ।
सभापति देउवालाई निवर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेलले औपचारिक रुपमा सभापतिको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि, प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले सभापति चुनिएसँगै आफूलाई जिम्मेवारी बोध भएको बताउनुभयो । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
सभापति देउवाले संविधानको कार्यान्वयन र प्रदेश सीमाङ्कनलगायत मधेसमा उठाइएका माग सम्बोधन गर्न पार्टीलाई सबैको सहयोग चाहिने बताउनुभयो ।
उहाँले पार्टी संस्थापक बिपी कोइरालादेखि पछिल्लो संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेल्नुभएका सुशील कोइरालाको योगदानको चर्चा गर्दै उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने विश्वास दिलाउनुभयो ।
पार्टीको १३औँ महाधिवेशनलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएका निर्वतमान कार्यवाहक सभापति पौडेलका साथसाथै सम्पूर्ण मतदाता, राजनीतिक दल र शुभेच्छुकहरुप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।
निवर्तमान कार्यवाहक सभापति पौडेलले पार्टीको १३औँ महाधिवेशनले नेपालको लोकतान्त्रिक विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै नयाँ संविधानको कार्यान्वयनका साथै मधेसी, थारुलगायतका समुदायको माग सम्बोधन गर्न र देशमा स्थायी शान्ति कायम गर्न पार्टीले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक सङ्क्रमणको वर्तमान घडीमा संविधानको कार्यान्वयनको चुनौती सामना गर्न र पार्टीको गौरवमय इतिहासको जगेर्नाका साथसाथै पार्टीलाई दिगो बनाउन आफ्नो तर्फबाट सभापतिलाई निरन्तर सहयोग गर्ने वचनबद्धता पनि उहाँले प्रकट गर्नुभयो ।
महामन्त्री डा कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीलाई सुदृढ र एकताबद्ध बनाई नयाँ संविधान कार्यान्वयनको जिम्मेवारीलाई पूर्णता दिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।
कोषाध्यक्ष यादवले १३औँ महाधिवेशन एकताको महाधिवेशन भएको र त्यसैअनुरुप सबैले मिलेर पार्टी सङ्गठनलाई मजबुत बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले मधेसमा देखिएको समस्या समाधानका लागि सकारात्मक पहल गर्न पार्टी सभापतिलाई आग्रहसमेत गर्नुभयो ।
निर्वाचन समिति संयोजक अधिकारी र सदस्य घिमिरेले नेपाली काँग्रेसको १३औँ महाधिवेशनलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पौडेलसहित सातजना केन्द्रीय सदस्यमा मनोनित
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम निवर्तमान कावा सभापति पौडेलसहित सात जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ ।
कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नरहरि आचार्य, गगनकुमार थापा, चित्रलेखा यादव, उमाकान्त चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लिखित छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा