सामूहिक प्रतिबद्धता भए ऊर्जा सङ्कट हटाउन सकिनेमा जोड

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकलगायतका साझेदार संस्थाहरुको आयोजनामा बुधबारदेखि काठमाडौँमा सुरु भएको ऊर्जामा सबैको पहुँचका लागि सफल अभ्यास र व्यावसायिक सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै जनसङख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । तस्बिर ः सौजन्य–वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, रासस

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकलगायतका साझेदार संस्थाहरुको आयोजनामा बुधबारदेखि काठमाडौँमा सुरु भएको ऊर्जामा सबैको पहुँचका लागि सफल अभ्यास र व्यावसायिक सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै जनसङख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । तस्बिर ः सौजन्य–वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, रासस

काठमाडौँ, ३ चैत । जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले मुलुकलाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा स्तारोन्नति गर्न ऊर्जामा आम जनताको पहुँच वृद्धि गर्नुपर्ने धारणा राख्नुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकलगायतका साझेदार संस्थाको आयोजनामा आजबाट यहाँ सुरु भएको ‘ऊर्जामा सबैको पहुँचका लागि सफल अभ्यास र व्यावसायिक अवसरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले सामूहिक प्रतिबद्धता र क्रियाशीलता भएमा एकाध महिनाभित्रै मुलुकको ऊर्जाको सङ्कट निवारण गर्न सकिने बताउनुभयो ।

सरकारले केही समय पहिले ऊर्जा सङ्कट निवारण कार्ययोजना ल्याई लागू पनि गरिसकेको उल्लेख गर्दै मन्त्री पासवानले भन्नुभयो– “सन् २०३० सम्म सर्वसाधारण जनतामा ऊर्जाको पहुँच विस्तार गर्न सरकारले ‘सबैका लागि दिगो ऊर्जा’ को अवधारणा ल्याएको छ । ऊर्जा विकासको मूल आधार भएकाले आम जनतामा यसको पहुँच पुरयाउन सरकार क्रियाशील रहेको छ ।”
मुलुकमा जलविद्युत् तथा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहे पनि हाल कूल जनसङ्ख्याको ६७ प्रतिशत जनतामा मात्रै ऊर्जाको पहुँच पुग्न सकेकाले यसमा लगानी गर्न दातृ निकाय तथा वित्तीय संस्थाहरुसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले मुलुकको लागि अत्यावश्यक र सहज ऊर्जाको विस्तारमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गुणस्तरीय र स्वच्छ ऊर्जामा लगानी गर्न बैंक तथा वित्तीय संस्था इच्छुक रहेको उल्लेख गर्दै उहाँले दिगो विकास लक्ष्य हासिल गर्न पनि आम जनतामा ऊर्जाको पहुँच पुग्नु अत्यावश्यक रहेको स्पष्ट पार्नुभयो ।

ऊर्जाको क्षेत्रमा लगानीको संरचना बन्न सक्ने अवसर रहेको उल्लेख गर्दै उहाँले दैनिक १२ घण्टा भन्दा बढी विद्युत् भार कटौतीबाट आहात भएका जनतालाई राहत दिन पनि वैकल्पिक ऊर्जामा विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकले ऊर्जा, कृषिजस्त क्षेत्रमा कूल पूँजीको १२ प्रतिशत लगानी गर्नुपर्ने वाध्यकारी व्यवस्थाका कारण पनि साना आयोजना अगाडि बढाउन स्रोतको अभाव नहुने भन्दै ठूला आयोजनाका लागि दातृ निकाय र एसियाली विकास बैंकजस्ता ठूला वित्तीय संस्थाले इक्विटी जुटाउनमा सहयोग गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘ हामी कहाँ लगानीको समस्या होइन, इच्छाशक्तिको मात्रै समस्या हो , जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै काम गर्न खोजे आर्थिक स्रोत जुट्न सक्छ ।’’

कार्यक्रममा नेपालका लागि अष्ट्रेलियका राजदूत ग्लेन व्हाइटले नेपालले आम जनतामा ऊर्जाको पहुँच पुरयाउन नवीकरणीय ऊर्जा एक भरपर्दो र दिगो विकल्प रहेको उल्लेख गर्दै यसमा लगानीको अवसर पनि प्रशस्त रहेको बताउनुभयो ।

बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका लागि सरकार र दातृ निकायबाट केन्द्रीय नवीकरणीय ऊर्जा कोष स्थापना भई विभिन्न परियोजनाहरु सम्पन्न भएको जानकारी दिंदै आगामी दिनमा यसलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न यस कार्यशालाबाट निस्कने लगानीका नवीनतम् ढाँचासम्बन्धी नमुना परियोजनाको कार्यानवयन गर्न सकिने बताउनुभयो ।

जनसङख्या तथा वातावरण मन्त्रायलका सचिव विजयकुमार मल्लिकको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका राष्ट्रिय निर्देशक रेनाउण्ड मेयर, नेपाल आवासीय मिसनका राष्ट्रिय निर्देशक केनिची योकोयामा, संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोषका भिन्सेन्ट विर्डा, एसियाली विकास बैंक वरिष्ठ ऊर्जा विशेषज्ञ जीवन आचार्यले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यशालामा नवीकरणीय ऊर्जामा लगानीको सफल अभ्यास, नीतिगत विषय विभिन्न २० फरक कार्यपत्र प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री