पलायन हुँदा स्वदेशमा दक्ष जनशक्तिको अभाव ः राष्ट्रपति

फाइल तस्विर

फाइल तस्विर

बनेपा, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा हासिल गरेको जनशक्ति विदेश पलायन हुँदा स्वदेशलाई आवश्यक जनशक्ति अभाव भएको बताउनुभएको छ ।

आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले देशभित्र विभिन्न क्षेत्रको नेतृत्व लिनसक्ने जनशक्ति मात्र हैन विश्व बजारमै प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न विश्वविद्यालय सक्षम हुनुपर्छ भन्नुभयो ।

अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधिमा आधारित भएपनि त्यसले आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्ट्रिय सम्पदाप्रति श्रद्धा एवम् सम्मान जगाउन सक्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले विद्यार्थीलाई श्रमप्रति सम्मान गर्न र कठिन बाटोमा हिँडेर राष्ट्र र जनताको हितमा आफूलाई समर्पण गर्न सिकाउने शिक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “मुलुकको आर्थिक र सामाजिक विकासका निम्ति आवश्यक शैक्षिक जनशक्तिको परिपूर्ति शिक्षाको लक्ष्य र उद्देश्य हुनुपर्छ ।”

राष्ट्रपति भण्डारीले विदेशीलाई आकर्षण गरी राम्रो शैक्षिक गन्तव्यका रुपमा नेपाललाई चिनाउन सके शैक्षिक क्षेत्रबाट देशलाई आर्थिक टेवासमेत पुग्ने उल्लेख गर्दै पूर्वाधार विकास र अनुसन्धानमा राज्यले पर्याप्त लगानी गरी प्रतिफल हासिल गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामा लगानी र प्रतिफलबीचको खाडल डरलाग्दो भएको बताउनुभयो ।

जीवनोपयोगी, समयानुकूल र प्रतिस्पर्धी शिक्षा दिइनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा आर्थिक हैसियत भएकाको लागि मात्रै हुन नहुने बताउनुभयो । शिक्षा बेरोजगार उत्पादन गर्ने माध्यम हुन नहुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थाको समेत अन्त्य हुनुपर्नेमा जोड दिदै अब हुने प्रधानमन्त्रीले कुनै विश्वविद्यालयको पनि कुलपति हुन पाउने छैनन् भन्नुभयो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा नीतिलाई पुनःसंरचना गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गर्दै नेपालमा विदेशी शैक्षिक कार्यक्रम ल्याउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले बुद्धि र विवेकको प्रर्वद्धन र उपयोगका लागि नै शिक्षा दिइनुपर्नेमा जोड दिँदै विश्वमा गणना गरिएका करिव २० हजार विश्वविद्यालयमध्ये उत्कृष्ट ५ हजारको पङ्क्तिमा काठमाडौँ विश्वविद्यालय पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री