शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १८:५२ | UK Time: 13:07

युकेका नेपाली : अब त केही सिक्ने कि ?

वीनेपाली
२०७२ फागुन २७ गते २१:३१
डा. बच्चुकैलाश कैनी

डा. बच्चुकैलाश कैनी

आज फेरि मलाई लेख्न मन लाग्यो। यसपटक मलाई बिदेशमा बस्ने हामी नेपाली र हामीले संचालन गर्ने कार्यक्रमहरुको बारेमा लेख्न मन लाग्यो। बिदेशी भूमिमा बसेर पनि हरेक हप्ता वा महिना हामी कुनै न कुनै सामाजिक कार्यक्रममा सहभागी हुने अवसर पाउछौं। यो अर्थमा म आफुलाई  भाग्यमानी ठान्छु। साथीभाई तथा मित्रहरुसंग भेटघाट  हुने, नेपाली राजनीति र नेपालको बारेमा कुरा हुन पाउने र सामाजिक उद्धेस्य पनि पूरा हुने। त्यसैले समय मिलेसम्म मलाई आमन्त्रण गरेको हरेक कार्यक्रममा जाने प्रयास गर्छु।

आजको यो लेखमा म  त्यस्ता कार्यक्रममा देखिने नेपालीपना, नेपाली मानसिकता र  नेपाली पाराको चर्चा गर्दैछु। पहिलो चर्चा गरूँ कार्यक्रम सुरु हुने समयको। बेलायतीहरू समयको कति ख्याल राख्छन भन्ने कुरा त भनिरहनु पर्ने हैन। बेलायतमा बस्ने हामी सबैजसो नेपालीहरु बेलायती गोरेहरुसंग हरेक दिन काम गरेका हुन्छौ।  म काम गर्ने मेरो अस्पताल वा काउन्सिलमा जुन समयमा बैठक  वा कार्यक्रम सुरु हुने भनिएको हुन्छ, ठिक त्यही समयमा नै सुरु हुन्छ, न  ढिलो न त छिटो। यदि कोही पाँच मिनेट ढिलो गरी कार्यक्रम स्थलमा प्रवेश गर्यो भने माफी माग्छ र भन्छ ‘आई  यम सरि, आई यम लेट’। यो त हामी सबैले भोगेको र देखेको कुरा हो।

तर, हरेक दिन त्यस्तो भोग्ने हामी नेपाली भने नेपाली कार्यक्रमहरुमा ‘नेपाली समय’ भन्दै ढिलो पुगेको देख्न सकिन्छ।  यो कुरा हरेक नेपालीमा लागु नहुन सक्छ, तर अधिकांश नेपालीहरुमा भने लागु हुन्छ। त्यसो त, कार्यक्रम आयोजक वा संचालकहरुले नै तोकियको समय भन्दा अलिकति ढिलो नै कार्यक्रम सुरु हुन्छ भन्ने मान्यता राखेका हुन्छन र त्यही अनुसारको बन्दोबस्त गरेका हुन्छन। त्यसैले यो नेपाली समयको मानसिकता कार्यक्रममा सहभागी हुनेले मात्रै हैन, कार्यक्रम आयोजकले पनि राखेका हुन्छन। बिदेशमा बस्ने हामी नेपालीहरुले नेपाल देखिको ‘नेपाली समय’ भन्ने चलन अझै पनि छोड्न सकेका छैनौ।

अब दोश्रो चर्चा गरूँ आसन ग्रहणको।   बेलायतमा यति धेरै नेपाली संघ संस्थाहरु छन् कि, कति जनालाई त म कुन संघ संस्थाको सदस्य वा सल्लाहकारको पदमा छु भन्ने ख्याल नै हुँदैन होला। त्यसैले हरेक कार्यक्रममा धेरै संघ संस्थाहरुको प्रतिनिधिलाई बोलाउनु वा उनीहरुको सहभागिता हुनु स्वाभाभिक नै हो।  अनि कार्यक्रम आयोजकलाई कुन कुन प्रतिनिधिलाई आसन ग्रहण गराउने भन्ने द्विविधा हुनु अस्वाभाविक हैन। त्यसैले सजिलो उपाय, हरेक संघ संस्थाका उपस्थित प्रमुख वा प्रतिनिधिलाई आसन ग्रहणको लागि बोलायो। आसन ग्रहण गरायो। न त हामीलाई समयको मतलब छ न त हामीसंग कार्यक्रम छोटो छरितो बनाउने कुनै सोच नै छ। मैले कतिपय पटक मन्चमा बस्ने ठाउँको अभावमा आसन ग्रहणको लागि जो जुन ठाउँमा बसेको छ त्यही ठाउँमा नै आसन ग्रहण गराएको र सहभागी  सबैजसोलाई आसन ग्रहण गराएको पनि देखेको छु। कार्यक्रमको मुख्य अतिथि र कार्यक्रमको सभापति वा प्रमुखलाई आसन ग्रहण गराउनु कुनै खराब चलन हैन, तर आसन ग्रहणको लागि जुन रुपमा उपस्थित सबै जसोलाई बोलाउने र कार्यक्रम भद्दा बनाउने प्रचलन छ, त्यो भने पक्कै पनि राम्रो चलन हैन।

त्यस पछि पालो आउँछ भाषण गर्ने। अब जो जो मंचमा बसेका छन् र जो जो आसन ग्रहण गरेका छन् उनीहरुलाई पक्कै सम्बोधन गर्नु पर्यो। अनि भाषण गर्नेले केही मिनेट त अतिथिहरुको नाममा सम्बोधन  गर्दैमा बित्छ। धेरै जसोले सम्बोधन गर्दा ‘अतिथि गणहरु’ भनेर छोटकरीमा सम्बोधन गर्नु भन्दा सबै संघ संस्थाहरुको नाम र उपस्थित प्रतिनिधिहरुको पदको नाम लिदै सम्बोधन गरेको देख्दा लाग्छ हामी कति धेरै नाम र पदको पछि लागेका छौ।  सबैको सम्मान गर्नु हाम्रो चलन, परम्परा र संस्कार पनि हो। तर यसको नाममा समय र मुख्य कार्यक्रमको उद्धेस्यको ख्याल नै नराखी कार्यक्रमलाई भद्दा  लामो बनाउनुमा भने मेरो बिमति छ।

त्यसै गरी, हामी अधिकांशको चलन नै छ, लामो भाषण गर्ने। कार्यक्रमको उद्देश्य एकातिर, हाम्रो भाषण अर्कै तिर हुनु हाम्रो लागि कुनै नौलो कुरा हैन। भाषणमा राजनीति घुसाउन  पनि  हामी माहिर नै छौ।  न हामीलाई कुनै कुरा बोल्न कुनै अनुसन्धान गर्नु पर्छ, न त हामीलाई कुनै सत्य र तथ्य  नै बोल्नुपर्छ।  हामीलाई त सिर्फ मंच पायो भयो, न त समयको ख्याल, न त सुन्नेले चासो राखेका छन् छैनन् त्यसको वास्ता, आखिर बोल्नमा हामी खप्पिस जो छौ। त्यसो त एकाध नेपालीहरु छन् जस्को भाषण सुनुँ सुनुँ लाग्छ र उनीहरुको भाषण खुब तर्क संगत, सत्य र तथ्यपरक हुन्छन। तर अधिकांश हामीहरु यो मामलामा धेरै कुरा सिक्नु पर्ने समुहमा पर्छौ।

सबै जना सबै कुरामा निपूण हुँदैनन्। सबै जनालाई समयले देखाउँछ, अनि परिस्थिथिले सिकाउँछ। तर, सिक्ने र सिकेको कुरा लागु गर्ने त आफैंले हो।  जबसम्म हामीमा समयको सही सदुपयोग गर्नुपर्छ, समयमा नै सबै काम सक्नुपर्छ र समयको पनि सीमा हुन्छ भन्ने लाग्दैन तबसम्म हामी उही ‘नेपाली समय’ भन्दै  आफ्नो पारामा, उही नेपालकै ढंगमा ढिला सुस्ती गर्दै विभिन्न कार्यक्रमहरु गर्छौ । त्यसैले मलाई लाग्छ अब त हामीले बेलायतीहरुबाट वा अरु कोही कुशल कार्यक्रम संचालकहरुबाट सिक्ने र हामीले पनि उस्तै चुस्त, सटिक र ब्यबस्थित ढंगले नेपाली कार्यक्रमहरु सन्चालन गर्न सक्नुपर्छ। हैन भने सधै हामीलाई हाम्रा  सन्ततिहरुले कसरी मुल्यांकन गर्ने छन् त्यो पनि सोच्नु जरुरी छ।

भन्न त विदेश बस्ने हामी नेपालीहरु कहिले काँही नेपाली नेताहरु यस्ता-उस्ता, कहिल्यै नसुध्रने, अनि कहिल्यै केहि कुरा नसिक्ने भन्न समेत पछि पर्दैनौ। तर, हामीमा देखिने उही नेपालीपारा, उही नेपाली ढिलासुस्तीको चाला र प्रवृतिलाई भने कसैले केहि भनेको छ कि भन्ने सोच्दैनौ। कतिपय कार्यक्रमहरुमा हाम्रो नेपाली  पारा र ढिलासुस्तीको बारेमा खासखुस कुराकानी हुने गर्छन, तर यो प्रवृतिमा खास सुधार आएको मैले अनुभव गर्न पाएको छैन। हामी नेपालीहरुले संचालन गर्ने आगामी सबै कार्यक्रमहरु समयमा नै प्रारम्भ गर्ने, समयमै नै सकाउने र कार्यक्रमको मुलभूत उद्धेस्य पूरा गर्नको लागि केन्द्रित  हुने कि?

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक