
नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै । तस्बिर ः भीष्म ओझा, रासस
काठमाडौँ, २७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणनाको काम आज पनि जारी छ ।
बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । बुधबार बेलुकासम्म १५० मतको गणना गरिएको थियो । आज मात्रै झन्डै ६० मतको गणना भएको र १०० पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताउनुभयो ।
कुल २५ खुल्ला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको र सबै उम्मेदवारका प्रतिनिधिहरु राखेर मतगणना गर्दा ढिलो भएको उहाँले बताउनुभयो । दुई ठाउँमा मतगणना गर्ने भनिए पनि अहिलेसम्म एक ठाउँमा मात्रै भइरहेको छ । खुल्लातर्फको गणना जारी रहेकै बेला आजै समावेशी आरक्षणतर्फको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ ।
दलित र मुस्लिम आरक्षणको मतगणना आजै गरी नतिजा पनि आजै सार्वजनिक गरिने शर्माले राससलाई जानकारी दिनुभयो । दलित तीन केन्द्रीय सदस्यका लागि २० र दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी, मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजना उम्मेदवार मैदानमा हुनुहुन्छ । काँग्रेसको अन्य आरक्षणमध्ये छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येक प्रदेशमा हुने दुई केन्द्रीय सदस्यका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सातजना उम्मेदवार छन् ।
त्यसैगरी आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फका दुई केन्द्रीय सदस्यका लागि १२, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौजना उम्मेदवार प्रतिस्पर्धामा छन् । महाधिवेशनबाट पार्टीका सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता