मंगलबार, माघ ६ २०७७ | Tue, January 19, 2021
नेपालको समय: १६:५८ | UK Time: 11:13

अन्तर्राष्ट्रिय महिला दिवस र नेपाली महिलाको अवस्था

वीनेपाली
२०७२ फागुन २७ गते २:०७

10649959_10153057977008431_8885548821820771874_n

अन्तर्राष्ट्रिय महिला दिवस सोसलिस्ट इन्टरनेशनलले कोपेनहेगनमा एक वृहत महिला सम्मेलन गरेर यसलाई अन्तर्राष्ट्रिय रुपमा १९१० को ८ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको हो । त्यति बेलाको प्रमुख उद्देश्य महिलाहरुलाई मताधिकार दिनु भए पनि पछि महिलाहरुले आफ्नो हक हित, अधिकार र महिला सशक्तिकरणका लागि पनि आवाज उठाएका थिए । महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन महासन्धी १९७९ मा संयुक्त राष्ट्रसंघ महासम्मेलन द्वारा पारित गरिएको र १९८१ देखि लागु गरिएको थियो । यस महासन्धीले महिलालाई शिक्षा, स्वास्थ्य, प्रजनन सम्बन्धी अधिकार, हिंसात्मक विरुद्ध अधिकार, नीति निर्माण, प्रसुति विदाको अवसर जस्ता विविध मानवीय आवश्यकता सम्बन्धी सम्पूर्ण अधिकार उल्लेख गरेको छ । जस अनुसार नेपालको संविधानमा पनि महिलाको हक, हित र अधिकारका लागि भनि थुप्रै नीति नियम बनाइए तर व्यवहारमा भने कमै देखिन्छ ।
पश्मिेली मुलुकका महिलाहरुले आफ्नो हक हित, अधिकार, सशक्तिकरण, राजनीतिक अधिकार र भोटिङ अधिकारको लागि आवाज उठाएका थिए । त्यति मात्र नभई घरायसी कामदारको रुपमा र कलकारखानामा काम गर्ने महिला कामदारहरुले आफ्नो हक र हितका लागि लडेका थिए । जसको फलस्वरूप पश्चिमेली मुलुकका महिला निकै अगाडि बढ्न सफल भएका छन् ।

नेपालको सन्दर्भमा भन्नु पर्दा, नेपाल एउटा यस्तो मुलुक हो जहां पुरुषको भन्दा महिलाको संख्या बढि छ तर राज्यले महिलाका लागि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत सिट छुट्याएको भएपनि महिला अधिकार सम्बन्धी विविध ऐन तथा नियम भने केवल कागजमै सीमित छ भन्दा अत्युक्ति नहोला । महिलाले सामाजिक, आर्थिक, राजनीतिक र बौद्धिक क्षेत्रमा आगाडि बढन कुनै कसुर नछाडेको भएपनि देश र समाजले महिला प्रति सधैं भेदभाव राखेको देखिन्छ । सरकारी, गैरसरकारी, निजामति तथा राजनीतिक क्षेत्रमा सधैं कोटा सिमित राखिएका छन् जसले गर्दा महिला बराबरी अवसर पाउनबाट वन्चित भएका छन् ।

विश्वमा विभिन्न यस्ता मुलुक छन् जहां नारी शक्ति, उनीहरुको हिक्मत र बलिदानलाई उदाहरणको रुपमा लिन सकिन्छ । ति मध्ये नेपाल पनि एक राष्ट्रको रुपमा चिनिन्छ । परापूर्वकालदेखि नारी शक्तिहरु अगाढि देखिन्छ भने अहिले पनि नेपालमा त्यस्ता पौरखी र साहसी नारीहरु नभएका होइनन् । सगरमाथाको चुचुरोमा चढ्न देखि लिएर पहाड र तराईको क्रान्ति, शान्ति ल्याउन र त्यति मात्र नभई विश्वका विभिन्न ठाउंमा गई आफ्नो कला संस्कृति र देशको नाम राख्न सफल भएका थुप्रै दिदी बहिनीहरुको नाम देख्न र सुन्न पाइन्छ । त्यति हुंदा हुंदै पनि पुरुषको तुलनामा महिला निक्कै पछाडि परेको देखिन्छ ।

किन नेपाली महिला पछाडि परिरहेका छन् त ? के महिला सामाजिक, आर्थिक, राजनीतिक र बौद्धिक क्षेत्रमा कमजोर नै छन् त ? के सरकार, समाज र राज्यले यसको सही मूल्यांकन नगरेर नै पछाडि परेका हुन त ? कि महिलाहरु आफैं अगाडि बढ्न नचाहेका हुन् ? कि महिलाहरुले समान अधिकार लिन चाहंदैनन् ? के महिला सांच्चैनै कमजोर भएर हो त ? कतै महिलालाई साधन र श्रोतबाट वन्चित गराइएको त होइन ?

एकातिर सृष्टिको जननी महिला मानिन्छ भने अर्को तिर तिनै महिला बाट जन्मिएका सन्तानप्रति निकै भेदभाव राख्ने यही समाज पनि छ । ९ महिना गर्भमा राख्ने र प्रशव पीडामा कुनै अन्तर नहुने तर छोरो र छोरीको जन्मलाई किन अन्तर मानिन्छ ?

नेपालमा सती प्रथाको अन्त्य चन्द्रशमशेरको पालामा भएपनि अहिले पनि हाम्रो समाजमा अरु यस्ता थुप्रै प्रथाहरु छन् जसमा केहि हदसम्म परिवर्तन भएपनि त्यसको अन्त्य भने हुन सकेको छैन् । जस्तो बालबिबाह, बहुबिबाह, अनमेल बिबाह, घरेलु हिंसा, कमारी प्रथा, देउकी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा, दासत्व प्रथा नेपाली महिलाहरुले भोगिरहेका छन् ।

हाम्रो समाजमा महिलामाथि दिनप्रतिदिन अरु यस्ता घट्नाहरु घटिरहन्छ जुन सुन्दा पनि निकै कहाली लाग्दा छन् । सासु ससुरा मिलि बुहारीको हत्या, श्रीमान्ले श्रीमतिको घांटी रेटेर हत्या, श्रीमान्ले श्रीमतीलाई जिउंदै जलाउने प्रयास, आफू भन्दा तल्लो जातसंग प्रेम गरेको परिवार मिलि छोरीको हत्या, दाइजो नल्याएको भनि गर्भवती बुहारीको हत्या, बुहारीको पेटमा छोरी भएको आशंका गरि गर्भपतन गराउने प्रयास, छोरी जन्माएको भनि सुत्केरी अवस्थामा घरबाट निकला, बाबुले छोरीको बलात्कार पछि बच्चा जन्माउन वाध्य, बालिकाको अपहरण गरि बलात्कार अनि हत्या, विदेश लैजाने भनि विभिन्न वेश्यालयमा लगि विक्री, कामको प्रलोभन देखाई शारीरिक शोषण, बोक्सीको आरोपमा नाङ्गो बनाउने, दिसापिसाब खुवाउने र गाउं निकाला समेत भएका छन् भने बाल मजदुर, बाल श्रम, दलित महिला, एकल महिलाहरुले आ आफ्नै पीडा भोग्नु परि रहेको छ । यस्ता विश्वास गर्नै नसकिने खालका तर सत्य घट्नाहरु नेपाली महिलाले भोगी रहेका छन् ।

देशमा यसको कानुन बनेको भएपनि कार्यान्वयन भने त्यति राम्रोसंग हुन सकेको देखिंदैन् । विभिन्न संघसंस्थाहरुले पनि यसमा निकै चासो देखाएका छन् भने विदेशी दाताहरुले अनुसन्धान गर्नुका साथै आर्थिक रुपमा सहयोग नगरेका होइनन् तर पनि सामाजिक ठेकेदारहरुको सोचमा भने सुधार भएको देखिंदैन् ।

यी सबै हुनुको कारण पुरानो सामाजिक कुरीति, मूल्य र मान्यता अनि साथमा हाम्रा आफ्ना संस्कृतिहरुले जरा गाडेर बसेका छन् । घरको आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावले पूर्ण रुपमा शारीरिक विकास हुन नपाउंदै बिबाह हुनु, उमेर नपुगी बच्चा जन्माउनु र धेरै बच्चा जन्माउनु, असुरक्षित गर्भपतन गराउनु, परिवार नियोजन सम्बन्धि ज्ञानको कमी हुनुका कारण महिलाहरु पीडित भई रहेका छन् ।

महिला र समाज भित्रको सोच, बौद्धिकता र व्यवहारमा नै परिवर्तन गराउनु अति जरुरी छ । यसलाई सहज र सरल बनाउन महिलाले आफूलाई सशक्त र जिम्मेवार बनाउंदै लानु अति आवश्यक छ । आफ्नो अधिकार लिनुका साथै परेको खण्डमा लड्न पनि सक्ने हुनु अति आवश्यक छ र आत्माविश्वास बढाउन सकेमा मात्र महिला सक्षम हुनेछन् ।

प्रजातन्त्र, लोकतन्त्र हुंदै गणतन्त्रतिर लम्की रहेको हाम्रो जस्तो समाज विकासको दृष्टिकोणमा भन्ने हो महिला र पुरुषमा शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा परिवर्तन भइ समान अधिकार पाउनु पर्ने हुन्छ अनि मात्रै गाउं, शहर र देशको पूर्ण रुपमा विकास हुन सक्छ । महिलाले आफ्नो सोचहरू परिस्थिति अनुसार विकसित बनाइ लानु अति आवश्यक छ । त्यसको लागि महिला शिक्षित हुनु अति जरुरी छ । समाजमा केहि गरेर देखाउन सक्ने चेतनाको विकास हुनु अति जरुरी छ । यसो भएमा कुनै पनि कठिन परिस्थितिमा पनि उपाय खोज्नु र समाधान गर्ने साहस महिलामा हुनेछ ।

बिहे गरि अर्काको घर जाने छोरीलाई धेरै पढाउनु भन्दा घरको कामकाज नै सिकाए फाइदा हुन्छ भन्ने हाम्रो सामाजिक धारणा अझै हट्न सकेको छैन् । बिबाह गर्दा समाजको देखासिकीमा सकि नसकी दाइजो दिने र बिहे गरेपछि छोरीप्रति आमाबाबुको कर्तव्य सदाका लागि सकिने र बिबाहित छोरीले अंश नपाउने र माइतीको अंशमा दाजु भाइको हक लाग्ने हुन्छ भने घरको सम्पति श्रीमान्को नाममा हुने हुंदा महिलाहरु आर्थिक रुपमा पछाडि परेका हुन्छन् भने यो समाज सधैं पुरुष प्रधान भइरहने छ । महिलामाथि बढ्दै गरेको हरेक हिंसा अन्त्य गर्न सरकार तथा मानव अधिकारवादी संघसंस्था समयमै सक्रिय भई आफ्नो काम कर्तव्यको स्मरण गर्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक