दिवसमा सिमित नारीहरु

10615445_10204494194589133_382526600669303196_n

८ मार्च मंगलबार विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । बेलायतमा पनि विविध कार्यक्रम गरिए । प्रवासी नेपाली मञ्च बेलायत देखि गैर आवासीय नेपाली संघ महिला फोरमले समेत नारी दिवस आ आफ्नै ढंगले मनाए ।

नेपालमा पनि यस दिवसले विगत जस्तै प्राथमिकता पायो । लाग्थ्यो, महिलाहरु माथि भएका थिचोमिचो र अन्याय अत्याचार धित मरुन्जेल पोख्ने दिन पनि यही हो । महिला अधिकारका नाममा खुलेका सयौं एनजिओहरुलाई यस दिनले खुवै व्यस्त मनाउंछ । महिला रोनाधोनाका धेरै रिपोर्ट सार्वजनिक गरिन्छ यो बेला ।

यस दिवसको पृष्ठभूमि केलाइरहंदा म त्यही नेपाली पितृसत्तात्मक समाज सम्झन्छु । बिहान उठ्ने बित्तिकै अखवारका पानामा बलात्कार, चेलीबेटी बेचबिखन, घरेलु हिंसा, यौन शोषण आदि इत्यादिका समाचार धेरै पढ्नुपर्ने मेरै देशमा होला । बलात्कारपछि हत्याका श्रृंखला दिनप्रतिदिन बढ्दो छ । उदाहरणका लागि मगर फिल्मकी नायिका स्नेहा पोखरामा बलात्कारपछि मारिएको घट्ना सेलाएको छैन् । उनीजस्ता धेरै अवोध महिला फेब्रुअरी महिनामा बलात्कारको शिकार भए । अझ कतिपय घट्ना त सामाजिक प्रतिष्ठाका कारण मिडियासम्म आइपुग्दैनन् । घरेलु हिंसा त्यस्तै छन् । माइती नेपाललाई भारततिर बेचिएका नेपाली चेली स्वदेश फर्काएर आश्रम दिंदैमा भ्याइ नभ्याइ छ । अचेत त नेपाली महिलालाई दलालहरुले सिरियातिर पनि पठाउन थालेका खवर सुनिन्छ । खाडीमा श्रम शोषण र मालिकको शारिरीक यातना झेल्न वाध्य महिलाको संख्या पनि उल्लेख्य छ ।

नेपालमा महिलाहरुको स्थिति दयनीय रहेको प्रतिवेदनमा यदाकदा पढिन्छ । विभिन्न एनजिओ आइएनजिओले नै त्यो वास्तविकता प्रकाशमा ल्याउंछन् । 
सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, जातीय हरेक क्षेत्रमा नेपाली महिला ओझेलमै छन् । हुन त नयां संविधानमा महिलाहरुलाई राज्यका हरेक निकायमा ३३ प्रतिशत समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गरिएको छ । पैत्रिक सम्पत्तिमा महिला पुरुषको समान हक पनि व्यवस्था छ नयां संविधानमा । वि.स. २००४ देखि ०७२ सम्म आइपुग्दा ६ पटक संविधान बन्दा पछिल्लोले धेरै अधिकार महिलालाई सुनिश्चित गरेको छ । तर, त्यो कार्यान्वयन हुन कति कुर्नुपर्ने हो ।

जब यो दिवस नजिक आउंछ, मेरो मनमा अनेक जिज्ञासा उब्जिन्छन् । आफैंले आफैंलाई प्रश्न गर्छु ः के अन्तर्राष्ट्रिय नारी दिवस मनाएर मात्र महिला अधिकार प्राप्त होला ? वर्षको एक दिन नारीहरुको विलौना र कारुणिक कथा सुनाएर उत्पीडित शोषित महिलाले न्याय पाउलान् ? मलाई त त्यस्तो लाग्दैन । बरु महिलाहरुको जीवनस्तर सुधार्ने हो भने उनीहरुलाई पुरुष जस्तै समान अवसर र राज्यका हरेक निकायमा पहुंच दिन जरुरी छ । महिलालाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइनुपर्छ । सरकारको नीति मै परिवर्तन आवश्यक छ । उनीहरुलाई आत्मनिर्भर बनाउने खालका अवसर दिइनुपर्छ । अहिले केही शहरिया परिवेशमा रमाइरहेको एक समूहलाई अपवादमा राखेर भन्ने हो भने नेपाली समाजमा महिला केवल सन्तान जन्माउन र घर गृहस्थी गर्नमै सिमित गराइएको छ । वाह्य समाजमा निर्धक्क घुलमिल गर्न र नयां रचनात्मक काम गर्न हत्तपत्त अनुमति दिइन्न । उनीहरुलाई परनिर्भरताबाट हटाउन सकेमात्र नारी दिवसको सार्थकता हुन्छ ।

महिलाहरु पनि आफूलाई सधैं कमजोर ठानेर चुप लाग्ने युग होइन यो । सिर्जनात्मक काम गर्न पुरुषको भर परेर हुंदैन् । अधिकार मागेर होइन खोसेर लिन सक्ने हिम्मत राख्नुपर्छ । पुरुषप्रधान नेपाली समाजको मानसिकता क्षणभरमै परिवर्तन हुने त होइन तर महिलाहरु एकजुट भएर यसतर्फ लाग्न जरुरी छ ।

त्यसो त महिला समस्या विश्वभर छन् । विश्वभर ५३ मिलियन महिला घरेलु काम गर्न वाध्य पारिएको तथ्यांक छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आंकडा अनुसार, २१ दशमलव ५ मिलियन घरेलु कामदारले न्यूनतम ज्याला सम्म पाउंदैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री