
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टीका कोषाध्यक्ष पदमा सीतादेवी यादव विजयीपछि अभिवाद गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी हुनुभएको छ ।
यही फागुन २३ गते राष्ट्रिय सभागृहमा भएको निर्वाचनको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा महामन्त्री पदका उम्मेदवार कोइराला एक हजार ४१७ मत ल्याई विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले एक हजार १७ मत प्राप्त गर्नुभएको छ । महामन्त्री कोइरालाले निकटतम प्रतिद्वन्द्वी केसीलाई ४०० मतअन्तरले हराउँदै विजयी हुनुभएको हो । अर्का उम्मेदवार गगनकुमार थापाले ५८४ मत प्राप्त गर्नुभएको थियो । कोइराला पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार बन्नुभएको हो भने केसी देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो ।
काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा सुपुत्रका रुपमा २०१५ सालमा विराटनगरमा जन्मनुभएका कोइराला आँखा विशेषज्ञ हुनुहुन्छ । कोइराला चिकित्सा क्षेत्र हुँदै २०४६ सालपछि राजनीति क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
कोइराला १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०६४ र २०७० सालको संविधानसभाको निर्वाचित सभासद् हुनुहुन्छ ।
यस्तै कोषाध्यक्ष पदमा सीतादेवी यादव एक हजार २१७ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवले एक हजार २०९ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष सीतादेवीले चित्रलेखालाई आठ मतअन्तरले हराउँदै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
मतगणनाको प्रारम्भदेखि नै उहाँहरुबीच निकै प्रतिस्पर्धा देखिएको थियो । दुवैले सिरहा जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गर्नुभएको थियो ।
चित्रलेखा देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो । सीतादेवी पौडेल पक्षधर हुन् ।
सीतादेवीले काँग्रेस सिरहा जिल्ला सभापतिमा दुई कार्यकालको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । चित्रलेखाले पार्टीको कोषाध्यक्ष, उपसभामुख, शिक्षामन्त्रीलगायतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
पार्टी पदाधिकारीसहित ६४ पदका लागि यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ ले मतदान गरेका थिए ।
सभापतिमा कुनै पनि उम्मेदवारले विधानतः आवश्यक बहुमत ल्याउन नसकेपछि फागुन २४ पुनः निर्वाचन भएको थियो । सभापतिमा शेर बहादुर देउवा निर्वाचित भइसक्नुभएको छ ।
खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्यका लागि १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सात जना उम्मेदवार मैदानमा छन् ।
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा