काँग्रेस महाधिवेशन: सामूहिक नेतृत्व पद्धतिको विकास गरी अर्जुन दृष्टिका साथ बढ्न दबाब

राजधानीको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न पदमा उमेदवारी दिएका नेताको चुनाव प्रचारप्रसारमा सक्रिय कार्यकर्ता । तस्बिर ः प्रदीपराज वन्त, रासस

राजधानीको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न पदमा उमेदवारी दिएका नेताको चुनाव प्रचारप्रसारमा सक्रिय कार्यकर्ता । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको बन्दसत्रको बहस चलिरहँदा आगामी नीति तथा नेतृत्व कस्तो हुने भन्नेबारे युवा नेताबीच साझा धारणा बनाउने प्रयास सुरु भएको छ ।

लोकतान्त्रिक आन्दोलनको हिमायती मानिने मुलुकको ठूलो राजनीतिक पार्टी काँग्रेसलाई सामूहिक नेतृत्व पद्धति र आम मास बेसको पार्टी बनाइनुपर्ने चर्को बहस चुलिएको छ । साँढे छ दशक लामो नेपाली जनताको चाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्वदायी भूमिका खेलेको काँग्रेसलाई संविधानको व्यावहारिक कार्यान्वयनको जिम्मेवारी र चुनौती दुबै छ ।

आधुनिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्ष, अनेकताभित्रको एकतालाई मजबुद गर्दै पार्टीलाई समयसापेक्ष जीवन्त तुल्याउनु काँग्रेसको मुख्य दायित्व हो । पार्टीलाई सामूहिक नेतृत्व पद्धतिको विकास गरी अर्जुन दृष्टिका साथ अघि बढ्नुपर्ने दबाब पनि बढेको छ ।

त्यसो त संस्थापक नेता जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई समय सापेक्ष परिमार्जन गरेर जानुपर्ने आवाज पनि युवा पुस्तामा बढेको देखिन्छ ।

यद्यपि, संस्थापक नेताका वैचारिक वादका राम्रा र सबल पक्ष नभएका पनि हैनन् तर तिनलाई पार्टीले वैचारिक सङ्घर्षको यात्रामा उचित व्यवस्थापन गर्न नसक्दा कतिपय उपलब्धि ओझेलमा परेको यथार्थ हो ।

बिपी कोइरालाको समाजवादलाई समयसापेक्ष परिमार्जन गरी पुँजीवाद र समाजवादको फ्युजन गरी नयाँ नीति अवलम्बन गर्न जरुरी भएको बताउनुहुन्छ, केन्द्रीय सदस्य एवम् युवानेता प्रदीप पौडेल ।

उहाँले काँग्रेसको इतिहासलाई बिर्सन नहुने तर परिवर्तित सन्दर्भमा आम जनताको भावनाअनुरुप पार्टीलाई नयाँ वैचारिक सिद्धान्तको धरातलमा डोरयाइनुपर्ने खाँचो औँल्याउनुभयो ।
काँग्रेसमा पार्टी जीवनमा लामो योगदान गरेका युवापुस्ताका नेता पछाडि पारिएको गुनासो आउने गरेको छ । तथापि १३औँ महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रमले युवाका विषयलाई प्राथमिकता दिनुका साथै अवसरका धेरै बाटा पनि खुलाइदिएको छ ।

विद्यार्थी जीवनको लामो राजनीतिक अनुभव लिएका युवानेता तथा केन्द्रीय सदस्यका प्रत्याशी मनोजमणि आचार्य अहिलेको महाधिवेशनमा युवाकै बाहुल्यता भएकाले आगामी नेतृत्वमा सबैभन्दा बढी युवानै हाबी हुने दाबी गर्नुहुन्छ ।

तत्कालीन माओवादी द्वन्द्वकालमा रोल्पाबाट राजनीति गरेका आचार्य युवाले औधी रुचाइएका लोकप्रिय नेता मानिनुहुन्छ । काँग्रेसको अबको नेतृत्व २१औँ शताब्दीको चुनौती सामना गर्ने र संविधान कार्यान्वयन गरी जनताको भावनासम्म पुग्नसक्ने नेतृत्व चाहिने उहाँको भनाइ छ । “यो महाधिवेशनमा बढी युवाको प्रतिनिधित्व छ, केन्द्रीय समितिमा युवाको बाहुल्यता हुने निश्चित छ,”–नेता आचार्यले भन्नुभयो ।

केन्द्रीय सदस्यका अर्का प्रत्याशी रामनाथ अधिकारीले काँग्रेस आमजनतामा आधारित पार्टी भएकाले एकीकृत ढङ्गले नेतृत्व गर्नसक्ने दक्ष, लगनशील र जुझारु नेतृत्वको आवश्यक भएको उल्लेख गर्नुभयो । काँग्रेसभित्र बाहिर प्रचारमा आएजस्तो कुनै गुट–उपगुट नरहेको दाबी गर्दै नेता अधिकारीले बिपीको विचारलाई समयसापेक्ष परिमार्जन गरेर जानुपर्ने खाँचो औँल्याउनुभयो ।

खासगरी ऊर्जा र मुलुकको अर्थतन्त्र बुझेका केन्द्रीय सदस्यका प्रत्याशी डा गोविन्दराज पोखरेल अबको नेतृत्व राजनीतिक व्यवस्थापन र आर्थिक नीतिमा चाणक्यपन भएको नेतृत्व चाहिने बताउनुहुन्छ । नीति राम्रो भए पनि राजनीतिक व्यवस्थापन गर्न नसकिए त्यसको सान्दर्भिकता नहुने भन्दै उहाँले बिपीको समाजवादलाई पुँजीको उत्पादनसँग जोडी आधुनिकतामा आधारित अर्थव्यवस्थालाई अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र आज बिहान १० बजेदेखि चलिरहेको छ । बन्दसत्रमा शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट नेता महेश आचार्यले पार्टीको नीति तथा कार्यक्रम तथा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री