
राजधानीको भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न पदमा उमेदवारी दिएका नेताको चुनाव प्रचारप्रसारमा सक्रिय कार्यकर्ता । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको बन्दसत्रको बहस चलिरहँदा आगामी नीति तथा नेतृत्व कस्तो हुने भन्नेबारे युवा नेताबीच साझा धारणा बनाउने प्रयास सुरु भएको छ ।
लोकतान्त्रिक आन्दोलनको हिमायती मानिने मुलुकको ठूलो राजनीतिक पार्टी काँग्रेसलाई सामूहिक नेतृत्व पद्धति र आम मास बेसको पार्टी बनाइनुपर्ने चर्को बहस चुलिएको छ । साँढे छ दशक लामो नेपाली जनताको चाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्वदायी भूमिका खेलेको काँग्रेसलाई संविधानको व्यावहारिक कार्यान्वयनको जिम्मेवारी र चुनौती दुबै छ ।
आधुनिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्ष, अनेकताभित्रको एकतालाई मजबुद गर्दै पार्टीलाई समयसापेक्ष जीवन्त तुल्याउनु काँग्रेसको मुख्य दायित्व हो । पार्टीलाई सामूहिक नेतृत्व पद्धतिको विकास गरी अर्जुन दृष्टिका साथ अघि बढ्नुपर्ने दबाब पनि बढेको छ ।
त्यसो त संस्थापक नेता जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई समय सापेक्ष परिमार्जन गरेर जानुपर्ने आवाज पनि युवा पुस्तामा बढेको देखिन्छ ।
यद्यपि, संस्थापक नेताका वैचारिक वादका राम्रा र सबल पक्ष नभएका पनि हैनन् तर तिनलाई पार्टीले वैचारिक सङ्घर्षको यात्रामा उचित व्यवस्थापन गर्न नसक्दा कतिपय उपलब्धि ओझेलमा परेको यथार्थ हो ।
बिपी कोइरालाको समाजवादलाई समयसापेक्ष परिमार्जन गरी पुँजीवाद र समाजवादको फ्युजन गरी नयाँ नीति अवलम्बन गर्न जरुरी भएको बताउनुहुन्छ, केन्द्रीय सदस्य एवम् युवानेता प्रदीप पौडेल ।
उहाँले काँग्रेसको इतिहासलाई बिर्सन नहुने तर परिवर्तित सन्दर्भमा आम जनताको भावनाअनुरुप पार्टीलाई नयाँ वैचारिक सिद्धान्तको धरातलमा डोरयाइनुपर्ने खाँचो औँल्याउनुभयो ।
काँग्रेसमा पार्टी जीवनमा लामो योगदान गरेका युवापुस्ताका नेता पछाडि पारिएको गुनासो आउने गरेको छ । तथापि १३औँ महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रमले युवाका विषयलाई प्राथमिकता दिनुका साथै अवसरका धेरै बाटा पनि खुलाइदिएको छ ।
विद्यार्थी जीवनको लामो राजनीतिक अनुभव लिएका युवानेता तथा केन्द्रीय सदस्यका प्रत्याशी मनोजमणि आचार्य अहिलेको महाधिवेशनमा युवाकै बाहुल्यता भएकाले आगामी नेतृत्वमा सबैभन्दा बढी युवानै हाबी हुने दाबी गर्नुहुन्छ ।
तत्कालीन माओवादी द्वन्द्वकालमा रोल्पाबाट राजनीति गरेका आचार्य युवाले औधी रुचाइएका लोकप्रिय नेता मानिनुहुन्छ । काँग्रेसको अबको नेतृत्व २१औँ शताब्दीको चुनौती सामना गर्ने र संविधान कार्यान्वयन गरी जनताको भावनासम्म पुग्नसक्ने नेतृत्व चाहिने उहाँको भनाइ छ । “यो महाधिवेशनमा बढी युवाको प्रतिनिधित्व छ, केन्द्रीय समितिमा युवाको बाहुल्यता हुने निश्चित छ,”–नेता आचार्यले भन्नुभयो ।
केन्द्रीय सदस्यका अर्का प्रत्याशी रामनाथ अधिकारीले काँग्रेस आमजनतामा आधारित पार्टी भएकाले एकीकृत ढङ्गले नेतृत्व गर्नसक्ने दक्ष, लगनशील र जुझारु नेतृत्वको आवश्यक भएको उल्लेख गर्नुभयो । काँग्रेसभित्र बाहिर प्रचारमा आएजस्तो कुनै गुट–उपगुट नरहेको दाबी गर्दै नेता अधिकारीले बिपीको विचारलाई समयसापेक्ष परिमार्जन गरेर जानुपर्ने खाँचो औँल्याउनुभयो ।
खासगरी ऊर्जा र मुलुकको अर्थतन्त्र बुझेका केन्द्रीय सदस्यका प्रत्याशी डा गोविन्दराज पोखरेल अबको नेतृत्व राजनीतिक व्यवस्थापन र आर्थिक नीतिमा चाणक्यपन भएको नेतृत्व चाहिने बताउनुहुन्छ । नीति राम्रो भए पनि राजनीतिक व्यवस्थापन गर्न नसकिए त्यसको सान्दर्भिकता नहुने भन्दै उहाँले बिपीको समाजवादलाई पुँजीको उत्पादनसँग जोडी आधुनिकतामा आधारित अर्थव्यवस्थालाई अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र आज बिहान १० बजेदेखि चलिरहेको छ । बन्दसत्रमा शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट नेता महेश आचार्यले पार्टीको नीति तथा कार्यक्रम तथा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष चित्रलेखा यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति