
काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको जारी १३औँ महाधिवेशनको बन्दसत्रको दृश्य । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसले २०६७ साल असोज पहिलो साता सम्पन्न १२ आँै महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको हालसम्म १२९ पटक बैठक भएको जनाएको छ ।
काँग्रेसको १३ आँै महाधिवेशनको शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । बन्दसत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा प्रस्तुत पार्टीको साङ्गठनिक प्रतिवेदनमा कार्यकालभरिका बैठक र समितिले कार्यकालमा गरेका प्रमुख कामका बारेमा उल्लेख छ ।
प्रतिवेदनमा जननायक बिपी कोइराला, नेता सुवर्णशम्शेर, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइराला, निष्ठावान् नेता सुशील कोइरालालाई उहाँहरुका काम र योगदानका साथ स्मरण गरिएको छ ।
त्यस्तै काँग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको र तराई–मधेसको असन्तुष्टिलाई समेटेर संविधानको पहिलो संशोधनको पहल पनि काँग्रेसको नेतृत्वमा नै भएको उल्लेख छ । संविधानको प्रभावकारी कार्यान्वयनको नेतृत्व काँग्रेसले लिने र संविधानअनुरुप पार्टीको नयाँ संरचना निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ ।
आज बन्द सत्रमा छलफल हुने सो प्रतिवेदनमा काँग्रेसले शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संविधान निर्माणमा पार्टीले खेलेको भूमिकाको चर्चा गर्नाका साथै भूकम्पपछि पार्टीले उद्धार तथा राहतमा उल्लेख्य भूमिका निर्वाह गरेको जनाइएको छ ।
केही समयअघि दक्षिणी सीमामा देखिएको अवरोध हटाउन पार्टीले जिम्मेवारी भूमिका निर्वाह गरेको, सङ्गठन विस्तारमा भए गरेका काम, पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका काम लगायत विषय पनि उल्लेख छ । सो कार्यकालमा पार्टीको दुई पटक जिल्ला सभापतिको भेला र २०६९ चैत २६ देखि २९ गतेसम्म नवलपरासीमा महासमिति भेला सम्पन्न भएको थियो ।
बन्द सत्रको पहिलो दिन शुक्रबार कावा सभापति रामचन्द्र पौडेलका तर्फबाट पार्टीको नीति तथा कार्यक्रम, महामन्त्रीद्वयको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । आज सबै प्रतिवेदनमाथिको छलफल हुने र बन्द सत्रपछि यही फागुन २३ गते मतदान हुने कार्यतालिका छ ।
शुक्रबारको बन्द सत्रले काँग्रेसको विधानमा उल्लेख अञ्चलबाट निर्वाचित एक जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यको प्रावधानलाई संशोधन गरेको छ । सो प्रावधानलाई केन्द्रीय समितिले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गरी प्रत्येक प्रदेशबाट दुईका दरले केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था यसअघि गरेको थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता