विदेशी पाहुनाद्वारा काँग्रेस महाधिवेशनको सफलताको शुभकामना

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको काठमाडौँको खुल्लामञ्चमा बिहीबार आयोजित समुद्घाटन समारोहमा राष्ट्रिय गान गाउँदै विभिन्न पार्टीका शीर्ष नेताहरु र अतिथिहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको काठमाडौँको खुल्लामञ्चमा बिहीबार आयोजित समुद्घाटन समारोहमा राष्ट्रिय गान गाउँदै विभिन्न पार्टीका शीर्ष नेताहरु र अतिथिहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको आजबाट सुरु भएको १३औँ महाधिवेशनमा विभिन्न देशका विभिन्न पार्टीबाट आएका प्रतिनिधिले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

विहारका मुख्यमन्त्री नितीशकुमारले केही समयअघि निधन हुनुभएका नेपाली काँग्रेसका नेता सुशील कोइरालासँग विहारको जेलमा भेट भएको, पञ्चायतकालमा बिपी कोइरालालाई नेपाल फर्कंदा बिदाइ गरेकोजस्ता घटनाको स्मरण गर्दै काँग्रेस पार्टी र यसका नेतासँग आफ्नो पुरानो सम्बन्ध रहेको धारणा राख्नुभयो ।

उहाँले नेपाल आफ्नो समस्या समाधान गर्न आफैँ सक्षम रहेको विश्वास व्यक्त गर्दै नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको धारणा राख्नुभयो ।

नेपालमा एउटा पार्टीको महाधिवेशनमा अरु सबै पार्टीका शीर्ष नेताको सहभागिता हुने अद्भूत वातावरण आफूले देखेको भन्दै नितीशकुमारले यो संस्कृतिलाई निरन्तता दिन आग्रह गर्नुभयो ।

भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह खुसियारीले आफू छ वर्षअघि पनि काँग्रेसको १२औँ महाधिवेशनमा आएको स्मरण गर्दै त्यसबेला नेपालले छिटो संविधान पाउओस् भनी दिएको शुभेच्छा अहिले आउँदा पूरा भएको देख्न पाएको बताउनुभयो ।

उहाँले बुद्धको जन्मथलो र सगरमाथाको देश नेपाललले पूरै विश्वलाई फेरि ज्ञान र विज्ञान दिने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टीका अध्यक्ष अमित साहले महाधिवेशन सफलताको शुभकामनाका लागि आफूसँग सन्देश पठाउनुभएको उहाँले जानकारी दिनुभयो ।

बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै व्यापार, यातायातको विस्तार र विद्युत् विकासको क्षेत्रमा आफ्नो मुलुकले नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपालले संविधान लेखनालाई सफलतामा पु¥याउन तत्कालीन प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले खेलेको भूमिकाको प्रशङ्सा गर्नुभयो ।

राष्ट्रिय काँग्रेसका महासचिव पिके हरिप्रसादले बलियो एजेन्डा र विचारको विकास गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

इन्टरनेसनल रिलेसन कम्बोडियाका अध्यक्ष युसुनची, भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले काँग्रेसको महाधिवेशन नेपालको लागि मात्रै नभई दक्षिण एसियाकै लागी महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

भारतीय नेताले गरे भारतीय नाकाबन्दीको विरोध 

महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपाल माथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् ।

भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनता कठिनाइ र यातानाबाट गुज्रिनुपरेको दुखेसो पोख्नुभयो ।

उहाँले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको टिप्पणी गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आफू दुखित भएको बताउँदै नेपाली जनतासँग क्षमा माग्छु भन्नुभयो ।

उहाँले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको धारणा राख्नुभयो ।

भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री