देउवा क्याम्पबाट महामन्त्रीमा केसीको घोषणा

12096459_10204997886123391_563106643844648376_n

काठमाडौँ, १८ फागुन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा नेता केसीले आफ्नो उम्मेदवारी वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट हुने जानकारी दिँदै आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहमा पुगेको बताए  । उनले भने “महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो ।” देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ ।

उनले काँग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई चारजनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

काँग्रेसका युवा नेता रमेश लेखकले महाधिवेशनले सक्षम, सबल र गतिशील नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका नेता लेखकले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा आदर्श र सिद्धान्तमा होइन, पार्टी सञ्चालनको विधि र प्रक्रियामा नेताबीच अहिले केही मतभेद रहेको र काँग्रेसभित्र नै अहिले सहकार्य, सहमति र एकता कायम गर्न आवश्यक रहेकामा जोड दिए । उनले संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुरयाउन आफूले गरेको योगदानको कदर सबैबाट हुने विश्वास व्यक्त गरे ।

गुट संस्थागत नगर्न सुझाव
नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा गुट संस्थागत नहुने गरी निर्वाचनमा जान नेता कार्यकर्ताले सुझाव दिएका छन् ।

देशको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको काँग्रेसमा गुटबन्दी बढ्दै जाँदा पार्टी कमजोर हुने भन्दै एकबद्ध भएर आउन उनीहरूले केन्द्रीय शीर्षनेतालाई आग्रह गरेका हुन् । क्षेत्र नं ४ चितवनका क्षेत्रीय सभापति सरिता केसीले भनिन्–‘‘महाधिवेशनलाई कसरी एकताको बनाउने भन्नेतर्फ नेताहरू चिन्तित नभएको सन्देश बाहिर गएको छ ।’’

बर्दिया जिल्ला क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौँ आएकी कालिकादेवी विष्टले नेताहरू गुट–उपगुटमा छुट्टिएर आउँदा आफूहरूलाई निकै अप्ठेरो पर्ने बताइन् । छपन्न वर्षदेखि झापामा रही काँग्रेसको आस्थामा बस्नुभएका ७५ वर्षीय महाधिवेशन प्रतिनिधि जितबहादुर पुरीले देशको ठूलो पार्टीका हैसियतले देशप्रति पार्टीको ठूलो दायित्व बहन गर्नुपर्ने अवस्थामा आफ्नै पार्टीभित्र गुट–उपगुट चलाएर लडाइँ गर्नु उचित नभएको धारणा राखिन् ।

कैलालीका प्रतिनिधि डा रणबहादुर रावलले भने पार्टीमा गुट–उपगुटलाई महत्व दिँदा मूल उद्देश्य ओझेलमा पर्छ कि भन्ने हो तर यसलाई स्वस्थ प्रतिस्पर्धाका रूपमा लिन सकेमा खासै ठूलो समस्या नदेखिने जनाए ।

केन्द्रीय सदस्यका उम्मेदवार बन्न लागेका मोहनबहादुर बस्नेत भने गुट र उपगुटमा धेरै देखिनु गलत भए पनि कुनै पनि दलमा मन मिल्नेहरूको समूह बन्नु अस्वाभाविक नभएको बताउंछन् । उनले भने—‘‘पार्टीलाई नै कमजोर बनाउने गरी गुट–उपगुटमा छुट्टिनु राम्रो होइन तर स्वस्थ प्रतिस्पर्धा गर्न समूहमा मिल्नु अनुचित होइन ।” काँग्रेसको आगामी महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री