
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा १३ औं महाधिवेशन नजिकिँदै गर्दा सजिसजाउ गरिँदैछ भने नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १४ फागुन । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि गठन गरिएका विषयगत सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको बताएका छन् ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले पार्टीको आगामी नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गृहकार्य गरिरहेको समितिका संयोजक पौडेलले जानकारी दिनुभयो ।
उहाँले नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिको बैठकमा पेस गरेपछि धेरै सुझाव आएकाले अहिले त्यसलाई समेटेर अर्को मस्यौदा बनाउने काम भइरहेको बताउनुभयो । “साथीहरुको धेरै सुझाव आएका छन्, तिनीहरुलाई समेटेर नीति तथा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने गृहकार्य भइरहेको छ, सम्भवतः अब बस्ने केन्द्रीय समितिको बैठकमा सुझावसहितको मस्यौदा पेस हुनेछ,” उहाँले भन्नुभयो ।
महाधिवेशनका लागि गठित अर्को महत्वपूर्ण समिति हो विधान संशोधन समिति । विधानलाई समयसन्दर्भअनुसार संशोधन गर्ने प्रस्ताव तयार पार्न गठन गरिएको समितिले पनि मस्यौदा बनाइसकेको छ । तर समितिका संयोजक तथा सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङगाना आफ्नो गृह जिल्लामा भएकाले पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्न पाउनुभएको छैन ।
“विधानका बारेमा समितिमा पटकपटक छलफल भएको छ, छलफलका आधारमा मस्यौदा बनाएर पेस गर्ने जिम्मा संयोजकलाई दिइएको हो, तर उहाँको व्यस्तताका कारण पेस हुन नसकेको हो,” समितिका सदस्य बालकृष्ण खाँडले भन्नुभयो । उहाँले संयोजक ढुङ्गाना काठमाडौँ फर्किएपछि बस्ने केन्द्रीय समितिको बैठकमा विधान संशोधनको प्रस्ताव पेस हुने बताउनुभयो ।
पार्टीका प्रचार विभाग प्रमुख तथा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजालको संयोजकत्वमा रहेको प्रचार प्रसार समिति भने फुर्सदमा छ । समितिले विभिन्न उपसमिति बनाएर उनीहरुलाई कामको जिम्मा लगाएकाले समिति फुसर्दमा रहेको बताउनुहुन्छ, समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डे ।
उहाँका अनुसार विद्युतीय प्रचारलाई बढी जोड दिने समितिको तयारी छ । समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने तयारीसमेत गरिरहेको छ ।
“भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा होर्डिङबोर्ड, स्वागत द्वार, फ्लेस आदि प्रयोग गरिनेछ,” रिजालले भन्नुभयो – “रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने भएका छौँ ।”
महाधिवेशनको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने जिम्मेवारी लिएको अर्थ समिति पनि अहिले निकै सक्रिय भएको छ । समितिले बाहिरबाट चन्दा र सहयोग उठाउने भन्दा पनि आन्तरिक रुपबाटै स्रोत जुटाउने कसरत गरिरहेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्काले जानकारी दिनुभयो ।
उहाँले पार्टीका केन्द्रीय सदस्य, सांसद, विभिन्न सङ्घ–सङ्गठन, लाभको पदमा रहेकाबाट आर्थिक सहयोग जुटाउने काम भइरहेको बताउनुभयो । “पार्टीको निर्वाचनका बेला उम्मेदवारी दिनेहरुको सङ्ख्या धेरै हुने भएकाले उनीहरुबाट पनि धेरै रकम उठ्न सक्छ,” डा खड्काले भन्नुभयो । अर्थ समिति पूर्वअर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा रहेको छ ।
देश–विदेशबाट महाधिवेशनका लागि आउने प्रतिनिधि, पर्यवेक्षक, पाहुना, सहयोगी लगायतलाई खाने र बस्ने व्यवस्थाका लागि आवास तथा भोजन व्यवस्थापन समितिले तीव्र रुपमा काम गरिरहेको छ । काठमाडौँका चार ठाउँका होटललाई आजदेखि पेश्की दिएर बुकिङ गर्ने काम सुरु भएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।
“अर्थ समिति र भोजन समितिका सदस्यको संयुक्त टोलीले आजदेखि आवासका लागि होटलको बुकिङ सुरु गरेको छ भने भोजनका लागि टेन्डर आह्वान गरिएकाले केही दिनमा ठेकेदारको टुङ्गो लाग्नेछ,” संयोजक केसीले भन्नुभयो । यही फागुन २० गतेदेखि महाधिवेशन हुने भएकाले १९ गते साँझदेखि २३ गते साँझसम्मका लागि झन्डै चार हजार प्रतिनिधि, पर्यवेक्षक, पाहुना र सहयोगीलाई खाने र बस्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी, विदेशी पाहुना स्वागत समिति, स्वास्थ्य समिति, स्वयम्सेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति लगायतले पनि आ–आफ्नो काम गरिरहेको बताइएको छ । महाधिवेशन अवधिभरिका लागि भूपूसैनिक सङ्घका झन्डै १५० स्वयम्सेवक परिचालन गर्ने तयारी भएको सङ्घका महासचिव मेघराज टन्डनले जानकारी दिनुभयो । सांस्कृतिक समितिले भने महाधिवेशनको उद्घाटनसत्रमा प्रस्तुत गर्ने एक–एकवटा स्वागत नृत्य र स्वागत गीत प्रस्तुत गर्ने तयारी गरेको समितिका संयोजक मीना सुब्बाले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा