
काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुसारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभएको छ ।
मित्रराष्ट्र भारतको छदिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको आफूले पाएको बताउनुभयो । केही समयदेखि उत्पन्न भएको दुई देशबीचको असझदारी हटाउन आफ्नो भारत भ्रमण पूर्ण सफल भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सुधारका लागि हाम्रो भ्रमण सफल भएको छ ।”
उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मो हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय बौद्धिक एवम् कूटनीतिक क्षेत्रसँगको छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको र ती भेटहरु उपयोगी भएको जानकारी दिनुभयो ।
भ्रमणका क्रममा आफूले सन् २००१ मा गएको भूकम्पबाट क्षति भएको गुजरातस्थित भुजको पुनःनिर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताउँदै उहाँले भन्नुभयो,“ यसबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनःनिर्माण गर्न सकिन्छ भन्ने विश्वास हामीमा बढेको छ ।”
उहाँले भुजको भ्रमणमा नेपालीहरुप्रति त्यहाँका बासिन्दाले अत्यन्त सहानुभूति र असाधारण मैत्रीभाव प्रकट गरेको उल्लेख गर्दै त्यसप्रति उहाँहरुमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । नयाँ दिल्ली र मुम्बइमा रहँदा आफूले त्यहाँका व्यवसायी समूहलाई नेपालमा लगानी गर्न आह्वान गरेको बताउँदै चलचित्र कलाकारहरुलाई नेपालमा चलचित्र छायाङ्कन गर्न पनि आग्रह गरिएको जानकारी दिनुभयो ।
नेपालले पाउँदै आएको पारवाहन सुविधामा चार वटा ठाउँमा विस्तार भएको र पञ्चेश्वर विकास आयोजनाको संयुक्त बैठक छिट्टै बस्ने उहाँले बताउनुभयो ।
आफूहरु मुम्बइमा रहँदा नेपालमा विमान दुर्घटना भएको थाहा पाएर अत्यन्त दुःखी भएको बताउँदै उहाँले पीडित परिवारप्रति सहानुभूति र समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अब हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउने काममा लाग्नेछौँ ।”
यही फागुन ७ गते भारतको भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ४६ सदस्य हुनुहुन्थ्यो । भ्रमणदलको स्वागतार्थ त्रिभुवन विमानस्थलमा सभामुख, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीलगायत हुनुहुन्थ्यो ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’