गुवाहाटी (भारत) २४ माघ । भारतको सिलोंङमा जारी १२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको आज भएको भारत्तोलनमा नेपालले थप एक पदक जित्न सफल भएको छ ।
महिलातर्फको ६३ केजीको तौल समूहको खेलमा नेपालकी जुनुमाया छन्त्यालले कास्य पदक जित्नुभएको हो । उहाँले स्न्याचतर्फ ५५ केजी र क्लिन एन्ड जर्कतर्फ ७५ केजी गरेर कुल १३० केजी उठाउँदै सो पदक हात पार्नुभएको हो । यो स्पर्धामा बङ्गलादेशले स्वर्ण र श्रीलङ्काले रजत पदक जितेको थियो ।
यो सँगै नेपालको पदक सङ्ख्या ६ पुगेको छ । नेपालले सागको तेस्रो दिनसम्म तीन रजत र तीन कास्य पदक जितेको छ ।