नेपाल बङ्गलादेशसँग पराजित, सेमिफाइनल पुग्ने सपना चकनाचुर

ICC-U19-World-Cup-2016-Live-Telecast-TV-Channels

काठमाडौँ, २२ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ ।

सोह्र वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको छ । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले नेपालको चुनौतीलाई १० बल बाँकी छँदै पूरा ग¥यो । बङ्गलादेशले खेलको ४८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदैँ नेपालको चुनौतीलाई पूरा गरेको हो जितसँगै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशको ब्याट्सम्यान जाकिर हसनले सर्वाधिक ७५ रनको योगदान दिए । ७७ बल खेलेका जाकिरले पाँच चौका र एक छक्काको सहयोगमा ७५ रन जोडेका हुन् ।

त्यस्तै, मेहेदिय हसन मिराजले ५५, जोयराज शेक ३८, पिनक घोष ३२, नजमल हुसेन सान्टो ८ तथा सैफ सहनले ५ रन जोडे ।
सुरुवाती ब्याट्स्म्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेतापनि त्यसले प्रतियोगितामा सुखद सुरुवात भने गर्न सकेन । प्रतियोगितामा रिजाल र शेख दुबै मिलेर चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

प्रतियोगितामा कप्तान रिजालले ७२ रनको योगदान दिएका थिए । ८० बल खेलेका उनले आठ चौका र एक छक्काको मद्दतमा ७२ रन जोडे । त्यस्तै, सुनिल धमला २५, शेखले २१, कुशल भुर्तेल १४, सन्दिप सुनार ७ तथा योगेन्द्र सिंह कार्कीले १ रन जोडेका थिए ।

त्यसैगरी, बलिङ तर्फ भने नेपालका सुनिल धमलाले दुई विकेट तथा सन्दिप लामिछानेले एक विकेट लिए । अर्को विकेट भने सुशील कँडेलले रन आउट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री