ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि पर धकेलियो

काठमाडौँ, १७ माघ । तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले आगामी फागुन ४ गते (फ्रेबुअरी १६) सम्ममा भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने विषयमा सहमति गरेकाले सो समयअगावै काम सम्पन्न गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।

निर्माणस्थलमा युद्धस्तरमा काम जारी रहेको भन्दै आयोजनाले चिसो र तराई मधेसको राजनीतिक समस्याका कारण एकाध दिन तल माथि भएपनि केही दिनभित्रै निर्माण सम्पन्न हुने उल्लेख गरेको छ । पावर ट्रान्समिसन कम्पनीले नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर युद्धस्तरमा निर्माण जारी रहेको बताएको छ । यसअघि कम्पनीले सो प्रसारण लाइनको काम आज सम्पन्न हुने जनाएको थियो ।

कम्पनीका कम्पनी सचिव जनकप्रसाद दाहालले आगामी फागुन ४ गते अगावै निर्माण सम्पन्न हुने र १३२ केभी क्षमतामा ८० मेगावाट विद्युत् चार्ज गरिने बताउनुभयो । “हामी युद्धस्तरमा काम गरिरहेका छौँ । कुनै असामान्य घटना भएन भने मुलुकभित्र एकाध दिनभित्रै थप विद्युत् आयात हुनेछ” – सचिव दाहालले भन्नुभयो ।

तत्काल सो प्रसारण लाइनबाट ९० मेगावाट विद्युत् आयात गर्ने भनिए पनि ढल्केबरमा सवस्टेसनको क्षमता कम भएका कारण तोकिएको क्षमताअनुसार विद्युत् आयात गर्न नसकिने भएको हो । भारतीय पक्षले तोकिएकै क्षमताअनुसारको विद्युत् उपलब्ध गराउने बताए पनि सवस्टेसनका कारण समस्या भएको सचिव दाहालको भनाइ छ ।

उहाँले केही स्थानमा तार तान्ने काम भएको र सञ्चार उपकरण राख्ने ओपिडिडब्ल्यू तार तान्न बाँकी रहेको राससलाई जानकारी दिनुभयो । विद्युत् आयातका सम्बन्धमा यही माघ २० गते भारतीय पक्षसँग छलफल आयोजना गरिएको उहाँको भनाइ छ ।

प्राधिकरणले विद्युत् आयात गर्ने पूर्व सहमतिअनुसार नै ढल्केबरमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरेको छ । उक्त क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ । भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने जानकारी गराएको भए पनि सवस्टेसनको क्षमता कम हुँदा समस्या पर्ने देखिएको छ ।

भारतले नेपाललाई आगामी डेढ वर्षभित्र ३०० मेगावाट विद्युत् उपलब्ध गराउने बचन दिएको छ । तर सवस्टेसनको क्षमता कम हुँदा जटिलता उत्पन्न भएको हो । कुल ४४० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको भए पनि नेपाल प्रवेश गर्ने मार्ग नै साँघुरो र कम क्षमताको भएका कारण समस्या भएको छ ।

ढल्केबरमा कम्तीमा पनि २२० केभी क्षमताको विद्युत् प्रवाह धान्ने सवस्टेसनको जरुरत पर्दथ्यो । प्राधिकरणले सवस्टेसनको क्षमता वृद्धिको योजना राखे पनि हालसम्म अगाडि बढ्न सकेको छैन । प्रसारण लाइन सम्पन्न भएपछि तत्काल १३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परीक्षण गरिनेछ । सो प्रसारण लाइनबाट एक हजार २०० मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ । चार सय केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पिटिसिएन)ले गरेको हो ।

कुल १२९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । त्यसमा ३५४ टावर निर्माण भएका छन् । नेपालतर्फ रु एक अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि आन्दोलनका कारण केही लागत बढेको बताइएको छ । नेपालतर्फ करिब ११५ टावर निर्माण सम्पन्न भइसकेको छ ।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा वर्षायाममा ७८५ मेगावाट विद्युत् प्रवाह हुने गरेको भए पनि अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा ३१० मेगावाट मात्रै उपलब्ध हुने गरेको छ । भारतबाट हाल २३५ मेगावाट विद्युत् आयत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री