२३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…

22012016064535nepal-1000x0

काठमाडौँ, ८ माघ । सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालको जितमा चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित निश्चित पारे ।

खेल समापनपछि आयोजित समारोहमा विजेता तथा उपविजेता टोलीलाई बङ्गादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलगायत खेल पदाधिकारीले ट्रफी तथा पदक प्रदान गर्दै वाजेदले हिमालको देश नेपालले उपाधि जितेकामा बधाई तथा शुभकामना दिनुभयो । उपाधि विजेता नेपाल ट्रफीसहित ५० हजार अमेरिकी डलर प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको फाइनलमा विमल ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट तथा ‘हाइ स्कोरर”को उपाधि नवयुग श्रेष्ठले प्राप्त गरे । नवयुगले प्रतियोगितामा ह्याट्रिकसहित चार गोल गरेका थिए ।

प्रतियोगिताको प्रत्येक खेलमा अपराजित नेपालले आठ गोल गर्न सफल भयो भने एक गोल मात्र खाएको थियो । सेमिफाइनल लक्ष्यसाथ बङ्गलादेश यात्रामा निस्केको नेपाल प्रतियोगिताको अन्तिम खेलमा आइपुग्दा उपाधिमाथि नै कब्जा जमाउन सफल भयो ।

प्रतियोगितामा सहभागी हुनुअघि काठमाडौँमा आयोजित पत्रकार सम्मेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य सेमिफाइनसम्म मात्र भएको बताएका थिए । बङ्गबन्धु खेल्नु दुई साताअघि मात्र नेपाली टोली भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा लज्जाजनक रूपमा पहिलो चरणबाटै बाहिरिएको थियो, जहाँ नेपाल श्रीलङ्का र भारतसँग पराजित भएको थियो ।

तीन राष्ट्रिय टोलीलाई पन्छाएर बङ्गबन्धुको फाइनल पुगेको नेपाल र बहराइन यु–२३ बीचको खेलले भने अन्तर्राष्ट्रिय खेलको मान्यता पाउने छैन । दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रय खेलको मान्यता पाउने गर्छ ।

यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटाँै दक्षिण एसियाली खेलकुद (साग)मा सोही मैदानमा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन । त्यसैगरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल चरणमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । लिग चरणको दोस्रो खेलमा पनि नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै करिब २८ महिनापछि जितको खडेरीलाई तोडेको थियो ।

सो अवधिसम्म करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा न त जित नै हासिल गर्न सकेको थियो न त गोल नै ।

समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे खेलमा मलेसियासँग र तेस्रो खेल बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरी खेलेको थियो ।

नेपालले सन् १९८४ मा काठमाडौँमा भएको चौथो साग र बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा वरिष्ठ टोलीले पदक जित्न सकेको छैन । नेपालले १९८४ मा जितेको पदक नै अन्तर्राष्ट्रियस्तरको पहिलो पदक हो ।

त्यस्तै नेपालले घरेलु मैदानमा सन् १९९९ मा भएको आठौँ सागको फाइनल खेल खेलेको थियो । त्यतिबेलाको फाइनल भिडन्तमा भने बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित हुन पुगेपछि नेपालले दोस्रो स्थानमा चित्त बुझाएको थियो । त्यतिबेला अहिलेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र प्रशिक्षक उपेन्द्रमान सिंह प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुनुहुन्थ्यो । महर्जन मिडफिल्डरका रुपमा र सिंह गोलकिपर हुनुहुन्थ्यो । आज उनै प्रशिक्षकद्वयको प्रयासमा २३ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको छ ।

त्यस्तै नेपालले यसअघि सन् १९९९ मा बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यतिबलाको खेलमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यसैगरी यसअघि भएको समूह चरणको खेलमा एक गोल पनि नखाएको नेपालले सेमिफाइनल खेलमा एक गोल खाँदै पाँच गोल गरेको थियो ।

नेपाली स्ट्राइकर नवयुगको ह्याट्रिकसँगै सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरको सनसनीपूर्ण जित निकाल्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा फुटबल पण्डितहरूको अनुमानलाई गलत साबित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन मात्रै गरेन सन् १९९९ मा नेपाल दक्षिण एसियाली खेलकुदपछि माल्दिभ्सलाई हराउन सफल भयो ।

प्रतियोगितामा नेपालका तर्फबाट ह्याट्रिक गर्ने नवयुग पाँचौँ खेलाडीसमेत बन्न पुगे । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले अन्तर्राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गरेका थिए ।

फिफा बरियतामा नेपालभन्दा बहराइन निकै माथिल्लो स्थानमा रहेको छ । नेपाल १९६ औँ स्थानमा छ भने बहराइन १२१ औँ स्थानमा छ । नेपाल र बहराइनको औपचारिक रुपमा भने यो पहिलो भेट हो ।

साफ च्याम्पियनसिप २०१३ को तयारीका लागि त्यतिबेला बहराइन पुगेको नेपाली टोलीले मैत्रीपूर्ण खेल खेलेको थियो । सो समयमा बहराइनको तेइस वर्षमुनिको राष्ट्रिय खेलाडीले नेपाललाई ३–० गोलअन्तरले पाखा लगाएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो । त्यतिमात्र नभई नेपाली फुटबलमा जगत्मा म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राष्ट्रिय टोलीका मुख्य पाँच खेलाडी पक्राउ पर्दै धरौटीमा रिहा भए पनि खेलक्षेत्रबाट नै बाहिरिएका थिए ।

यस्तो अवस्था भए पनि धेरैजसो नयाँ अनुहार रहेका राष्ट्रिय खेलाडीले नेपाली फुटबल जगत्मा नयाँ इतिहास रच्न सफल भए । बङ्गलादेश फुटबल सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

बङ्गबन्धु कप सन् १९९६ देखि सुरु भएको थियो । करिब बीस वर्षमा प्रतियोगिता चार पटक मात्र आयोजना भएको छ । आयोजना भएको तीन वर्षपछि १९९९ मा दोस्रो संस्करणपछि लामो समय प्रतियोगिता हुन सकेको थिएन । तेस्रो संस्करणमा नेपालको सहभागिता रहेन । सत्र वर्षपछि भाग लिने अवसर पाउँदा नेपाल उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

प्रतियोगिताको विजेता नेपाली टोलीलाई अहिले संसारभरबाट सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको ओइरो लाग्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री