एनआरएनले सुने महतका आर्थिक कुरा

12493535_1548668598787188_3033643607560223635_o

लन्डन । लन्डनस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ, बेलायतले पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । बेलायती आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकर पत्रिकाले प्रदान गरेको उत्कृष्ट अर्थमन्त्रीको अवार्ड ग्रहण गर्न आएका डा. महतसंग बुधवार सांझ दूतावास भवनमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी डा. महतले नेपालमा सकारात्मक भन्दा नकारात्मक कुरालाई बढि प्राथमिकता दिने गरिएको गुनासो पोखे ।
‘नेपालको अर्थतन्त्र चौपट्ट छैन्’, हालसम्म ६ पटक अर्थमन्त्री र 
परराष्ट्र मन्त्री समेत भइसकेका महतले भने, ‘हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताबीच पनि उदार अर्थनीति, वहुराष्ट्रिय कम्पनीको स्वागत, उद्योग धन्दा खोल्न सहज कानुन, हाइड्रोमा निजी क्षेत्रलाई अनुमति, विदेशी लगानी सम्वन्धि ऐन परिवर्तन, बैंकिङ क्षेत्रमा सहजीकरण, टेलिकम, एयरलाइन्स, स्वास्थ्य क्षेत्र आदिमा खुल्लापनले अर्थतन्त्रमा सकारात्मक प्रगति भएका छन् ।’

शान्ति प्रक्रिया शुरु भएको ९ वर्ष अवधिमा ८ पटक सरकार परिवर्तन, भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा असर गरेपनि निरासाजनक स्थिति भने नभएको दावी उनले गरे । हिंसात्मक द्वन्द्व नभएको भए नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै बढि हुने दावी उनको थियो ।

महतले ०४६, ०४७ तिर वार्षिक राजश्व १३ अरब रुपैयां हुने गरेकामा अहिले त्यो ५०० अरब पुगेको दृष्टान्त पेश गर्दै नेपालमा आन्तरिक श्रोतबाटै ४५६ मेगावाट क्षमताको उपल्लो तामाकोशी र ४६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ योजना बन्न लागेका बताए ।

भूकम्पपछि आफ्नै पहलमा ६० देशका ३ सय भन्दा बढि दातृनिकाय सम्मिलित सम्मेलनबाट झण्डै ४.१ विलियन डलर सहयोग प्रतिवद्धता आएपछि आफू उत्कृष्ट अर्थमन्त्रीका रुपमा पुरस्कृत भएको उनले प्रष्ट्याए ।

डा. महतले प्राकृतिक श्रोतले मात्र देश विकास हुन नसक्ने उल्लेख 
गर्दै विकासका लागि कडा परिश्रमको संस्कार, अन्वेषण र रचनात्मक कार्यप्रति लगाव हुनुपर्नेमा जोड दिए ।

एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत 
गर्दै महतलाई वधाइ दिए । उनले देशको आर्थिक उन्नतिका लागि बेलायती डायस्पोराको भूमिका उल्लेखनीय हुने पनि चर्चा गरे ।

कार्यक्रममा बेलायती सांसद एवं ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल डेस्क अध्यक्ष वीरेन्द्र शर्माले आफ्नो देश विकासमा डायस्पोराको दायित्व बढि हुने बताए । आफू भारतीय मुलको भएको जनाउंदै शर्माले नेपालसहित दक्षिण एसियाली क्षेत्रमा शान्ति र सुव्यवस्था हेर्ने चाहना आफ्नो भएको धारणा राखे ।

कार्यक्रम संयोजक एवं एनआरएनए युरोप संयोजक कुल आचार्यले महतको सम्मानले नेपाल र समस्त नेपालीले गौरव गर्ने अवसर सृजना भएको बताए । उनले एनआरएनहरु आफ्नो देशको विकासका लागि सधैं समर्पित रहेको उल्लेख गर्दै नेपाल सरकारले लगानीका लागि उचित वातावरण बनाइदिन आग्रह गरे । नेपालीमा हरेक कुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढेको टिप्पणी गर्दै आचार्यले सामाजिक सञ्जालमा केही गर्न खोज्नेलाई गाली गरेर निरुत्साहित नपार्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीका जिज्ञासाको महतले जवाफ दिएका थिए ।

उक्त अवसरमा पुरस्कृत हुने डा. महतलाई पुष्पगुच्छा एवं रात्री भोज प्रायोजन गर्ने होली काउ रेष्टुरेन्टका निर्देशक दधी आचार्य र पेय पदार्थ दिलाउने महन्त श्रेष्ठलाई धन्यवादसहित सम्मान गरियो ।

12604908_1548667778787270_5041069719764327819_o

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री