तेहरान (इरान), ३ माघ । इरानका राष्ट्रपति हसन रौहानीले संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू) ले इरानले बताउँदै आएको तथा भण्डारण गरिराखेको देखाउँदै लामो समयदेखि इरानमाथि लगाउँदै आएको प्रतिबन्धहरु फुकुवा गरेको आइतबार बताउनुभएको छ ।
राष्ट्रसङ्घीय आणविक निकायले इरानले विश्व शक्ति राष्ट्रहरुको पहलमा सन् २०१५ जुलाई १४ मा भएको परमाणु हतियार बनाउन रोक्ने सम्झौताको परिपालना गरेको पुष्टि गरेपछि इरानमाथिको प्रतिबन्ध हटाइएको हो ।
प्रतिबन्धको फुकुवापछि इरानी सङ्घसंस्था तथा व्यक्तिहरुको खर्बौ डलर बराबरको सम्पत्ति फुकुवा हुने र इरानी तेल अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खुलेको छ ।
राष्ट्रपति रौहानीको आईआरएनए न्युज एजेन्सीमार्फत् आइतबार सार्वजनिक वक्तव्यमा भनिएको छ, हामीले विश्वसँगको सम्बन्धको नयाँ अध्याय सुरु गरेका छौँ । यो उपलब्धि प्रतिष्ठित र विजयका लागि सहयोगी भूमिका निर्वाह गर्ने सबैमाथि इरान आभारी रहने छ ।
आजको युग प्रतिबन्धबाट विकासका काममा परिवर्तन हुने युग हो । मेहनत, लगानी र आबश्यक परिवर्तनद्वारा सबै इरानीले मौकामा आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ, रौहानीले भन्नुभयो ।
यसअघि शनिबार अन्तरराष्ट्रिय आणविक शक्ति निकाय (आईएसए)को तर्फबाट आईएईएका महानिर्देशक युकिया अमानोले एक प्रतिवेदन प्रस्तुत गर्दै इरानले आणविक सम्झौताबमोजिम सम्पूर्ण आणविक कानुनको परिपालना गरेको पुष्टि गर्नुभएको थियो ।
इरानले आणविक कार्यक्रमबारे थप पारदर्शी बन्ने बचनबद्धता जनाउँदै यसका लागि संयुक्त राष्ट्रसङ्घीय नियमनकर्ता निकायलाई तेहरानको आणविक योजनाको अनुगमन गर्न आग्रह गरेको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफ र ईयू विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले शनिबार जनवरी १६ लाई जुलाई १४ मा गरिएको आणविक सम्झौता सम्बन्धमा परिपालना भएको दिन भनी संयुक्तरुपमा घोषणा गर्नुभएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै इरानमाथि आणविक कार्यक्रमका कारण लगाइएका सबै प्रतिबन्धको फुकुवा गर्नुभएको छ ।
राष्ट्रपति ओबामाले इरानको आणविक हतियारसम्बन्धी मापदण्ड पूरा गरेको आईएइएले पुष्टि गरेको र यसले इरानको आणविक वातावरण नयाँ तथा महत्वपूर्ण विकासको फड्को तिर उद्धत बनेको बताउनुभयो ।
यसको प्रतिक्रियास्वरुप रिपब्लिकन नेताले एक वक्तव्य जारी गर्दै इरानमाथिको प्रतिबन्ध फुकुवापछि करिब एक सय अर्ब फुकुवा हुने र यसलाई इरानले आतङ्कवादलाई प्रश्रय दिने कार्यक्रममा खर्चिने बताएका छन् ।