बनेका एमआरपी थुप्रिएपछि दूतावासलाई पिरलो

12557038_10153859034236197_1262460944_o

लन्डन । सेवाग्राहीले नेपालबाट बनेर आएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी) संकलन गर्न नआइदिएपछि लन्डनस्थित नेपाली दूतावासलाई अहिले व्यवस्थापनमा सास्ती भएको छ । सांघुरो कोठामा दिनदिनै पासपोर्ट थपिंदा भएका दराज भरिइसके ।

२४ नोभेम्बरपछि हस्त लिखित राहदानी मान्य नहुने अन्तर्राष्ट्रिय नियमले हतार हतार बनाइएका एमआरपी बनिसकेपछि भने संकलन गर्न नआइदिंदा तिनलाई कहां, कसरी राख्ने दूतावासलाई टाउको दुखाइ भएको हो ।

‘सांघुरो ठाउं छ, मानिसहरु बनेको एमआरपी लिन आउंदैनन्’, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले गुनासो गरे, ‘सूचना दिएर बारम्बार ताकेता गरिरहेपनि धेरैले बेवास्ता गरेको पाइएको छ । समयमै लिन नआए ति नेपाल नै फर्काउन वाध्य हुनेछौं ।’

राहदानी जस्तो महत्वपूर्ण वस्तु सधैं वेवारिसे अवस्थामा राख्न नसकिने दूतावासको भनाइ छ । क्षेत्रीले व्यस्तताका कारण कार्यालय नै आउन नसके आवश्यक रकम तिरेर पोष्टलबाट पनि लिन सकिने प्रवन्ध मिलाइएको जनाए ।

हाल एकहजार भन्दा बढि पासपोर्ट राहदानी फांटमा असरल्ल छन् ।

दूतावासले होम अफिसमा केस विचाराधिन रहेर पुरानो हस्तलिखित राहदानी साथमा नभएपनि एमआरपी दिने व्यवस्था मिलाइएको जनाएको छ । एउटा फर्म भरेर दूतावासलाई दिएपछि उसले एमआरपी उपलव्ध गराउने छ तर दूतावासबाटै होम अफिस लगायत निकायमा पुरानो राहदानी रद्द गरिएको जनाउंदै ‘नल एण्ड भ्वाइड’ गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री