ओरस (पोल्याण्ड), २५ पुस । पोल्याण्डको नयाँ सरकारविरुद्ध विपक्षी दलले फेरि अर्को आन्दोलन सुरु गरेका छन् ।
देशका महत्वपूर्ण सहरहरुमा शनिबार प्रदर्शन गर्दै प्रतिपक्षी दलले सरकारको नयाँ नीतिले प्रजातन्त्र र सञ्चार स्वतन्त्रतामा आँच आएको भन्दै यसको विरोधस्वरुप हजारौँ नागरिक प्रदर्शनमा उत्रेका हुन् ।
सत्ताधारी ल एण्ड जस्टिस पार्टीले संवैधानिक अदालत र सञ्चारमाध्यमलाई राज्यको मातहतमा ल्याउने गरी ल्याएको नयाँ नीतिले प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा तगारो लगाउन खोजिएको आन्दोलनकारी दलको जिकिर रहँदै आएको छ ।
सरकारको नयाँ नीतिले केही युरोपेली युनियनका नेता र युरोपेली आयोगको समेत ध्यान आकृष्ट भइसकेको र उनीहरुले पोल्याण्डमा सुशासनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको प्राप्त समाचार उल्लेख छ ।
तर सरकारले भने केही सरकारी निकायमाथि परिवर्तन ल्याउन नयाँ नीतिको आवश्यकता भएको जनाएको छ ।
वर्तमान सरकारले सरकारी निकायमा पूर्व लिवरल पार्टीको बोलवाला रहेकाले यसलाई नियन्त्रणमा नल्याउँदा वर्तमान सरकारलाई असफल पार्ने गरी विपक्षी पार्टीको हितमा काम गर्ने गरेको भन्दै यो नीतिको घोषणा गरेको हो ।
शनिबारको प्रदर्शनमा हजारौँ मानिस सरकार विरोधी नारा लगाउँदै मुख्य सहरमा उत्रेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।