लन्डन । बेलायतमा गैर कानुनी हैसियतमा बसेका नेपालीहरु समातिने क्रम बढेको छ । प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गर्दै नेपाल फर्काइरहेको हो ।
गैर कानुनी बसिरहेका केही नेपाली प्रहरी कष्टडीमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ ।
गैर कानुनी बसेका नेपाली समातिनेबाहेक बैंक ठगीदेखि बलात्कार र कुटपिटसम्मका अपराधमा केही नेपाली जेल परेका समेत पाइएको छ ।
रविन्द्र लामा र सिता (नाम परिवर्तन) दम्पत्ति गैर कानुनी बसेको आरोपमा एकमहिनादेखि प्रहरी थुनामा छन् । उनीहरुले भिजा बढाउन निवेदन दिएका थिए । तर, अध्यागमन अधिकारीहरुले विना सूचना उक्त जोडीलाई भिजा अस्वीकृत भएको जनाउंदै घरबाटै समाते । श्रोतका अनुसार, लामा दम्पत्ति अहिले स्वविवेकले नेपाल फर्कन इच्छुक रहेपनि अध्यागमन अधिकारीहरुले यसमा वेवास्ता गरिरहेका छन् ।
शिव कोइराला (नाम परिवर्तन) ‘ओभर स्टे’ भएकै कारण गत महिना समातिए । उनले आफू बस्ने घरको ठेगाना परिवर्तन भएपनि होम अफिसलाई जानकारी गराएनन् । होम अफिसले देश छोड भनेर पठाएको पत्र पुरानै ठेगानामा पुग्यो । जवाफ प्रतिक्षा गरिरहेको होम अफिसले कोइरालाबाट केही पाएन किनकि उनी नयां ठाउं सरिसकेका थिए । अन्तिममा उनी प्रहरीको गिरफ्तारीमा परे । आउंदो महिना उनलाई नेपाल फर्काउने प्रक्रिया चलिरहेको छ ।
विराटनगरका ३२ वर्षीय दिनेश पाठक (नाम परिवर्तन) २० दिन यता प्रहरी कस्टडीमा छन् । श्रोतका अनुसार, जागिर खाने क्रममा नक्कली कागजात पेश गरेका कारण उनी समातिएका हुन् । छिट्टै उनी ‘डिपोर्ट’ हुनेछन् ।
उता, २७ वर्षीय हिमाल गिरी (परिवर्तित नाम) समातिनुको कारण चाहिं कुटपिटमा संलग्न भएकाले गर्दा हो । उनको मुद्दा हाल अदालतमा विचाराधिन छ । दोषी पाइए उनले ६ महिना भन्दा बढि जेल सजायं भोग्नुपर्ने हुन सक्छ ।
यी त केही प्रतिनिधि घट्नामात्र हुन् । अध्यागमन अधिकारीहरुको निसानामा अहिले नेपाली विद्यार्थी समेत परेका छन् । अधिकांश विद्यार्थीले भूकम्प पीडित बनेर भिजा बढाउन एफएलआर (ओ) क्याटेगोरिजमा आवेदन दिएपनि यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले त्यसलाई सिधै अस्वीकृत गरि ‘डिटेन्सन सेन्टर’ लैजाने वा घरबाटै समातेर नेपाल पठाउन थालेको कानुनी सल्लाहकारहरु बताउंछन् ।
अहिले बेलायती जेल र थुनामा कति नेपाली छन् यकिन तथ्यांक लन्डनस्थित नेपाली दूतावाससंग पनि छैन् । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले डिटेन्सन सेन्टरबाट धेरै फोन आउने उल्लेख गर्दै दूतावासले जेल रहेका नेपालीबारे सम्वन्धित निकायसंग तथ्यांक खोजिरहेको जनाए ।
बेलायतलाई अहिले टाउको दुखाइ र खर्चिलो भइरहेको छ गैर कानुनी आप्रवासी । माइग्रेसन वाच यूकेले बेलायतमा करिब दश लाख गैर कानुनी आप्रवासी रहेको अनुमान गरेको छ । सन् २०१४, १५ मा बेलायत सरकारले अध्यागमन नियन्त्रणका लागि मात्र एक दशमलव ८ विलियन पाउण्ड बजेट छुट्याएको थियो, जुन सरकारी कुल खर्च ७ सय विलियन पाउण्डको सरदर शुन्य दशमलव २५ प्रतिशत हो ।
होम अफिसका अनुसार, गत जनवरी २०१४ देखि जुन २०१५ सम्म गैर कानुनी बसेका तीनहजार आप्रवासीलाई स्वदेश फर्काउन ५४ वटा निजी जेट खर्च १४ मिलियन पाउण्ड भएको कान्तिपुरमा खवर छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च