अन्तर्राष्ट्रिय नेपाली टाेपी दिवसकाे शुरूवात विवादमा

तस्वीर फेसबुकबाट

तस्वीर फेसबुकबाट

लण्डन । अंग्रेजी नयाँ वर्षको दिन विश्वभरका नेपालीहरुले नेपाली टोपी लाएर सामाजिक संजालमा राखेको फोटो बदल्न नपाउँदै यसको शुरुवात कसले गरेको भन्नेमा विवाद देखिएको छ ।
नयाँ वर्षकै दिन हाल बेलायतमा रहेका गोरखा आँपपिपलका रामचन्द्र मरहट्ठा (मचरा गोरखाली) ले आफूले तीन वर्षअघि फेसबुकमार्फत शुरु गरेको अभियान अहिले विश्वव्यापी भएकोमा गर्व लागेको दाबी गरेका थिए । उनलाई फेसबुकबाटै साथीहरूले नेपाली टोपी दिवसको सुत्रपातकर्ताको पगरी पनि पहिराइदिएका थिए ।
मरहट्ठाको दाबीलाई चुनौती दिँदै ताइवानबाट डा. लेखनाथ काफ्ले र नेपालबाट शंकर बन्जाडेले जनवरी १ तारिखका दिन नेपाली टोपी लगाउन प्रचलनको शुरुवात आफूहरुले गरेको जिकिर गरेका छन् ।
काफ्ले र बन्जाडेले संयुक्तरुपमा संचारकर्मीहरुलाई पठाएको पत्रमा तीन वर्षअघि नै आफूहरुले सो अभियान शुरु गरेको बताएका छन् । सन् २०१४ देखि विश्वभरका नेपालीहरुलाई समेट्नका लागि फेसबुकमार्फत आह्वान गरिएको र सो पेज अझै कायम गरेको उनीहरुको भनाइ छ ।

उता, अर्का दाबीकर्ता मरहट्ठाले भने सन् २०१३ को अक्टोबरबाट यो अभियान शुरु गरेको वीनेपालीसित बताएका थिए । उनले अभियानलाई तीव्रता दिन युवाहरुलाई ५०० वटा टोपी वितरण गरेको पनि उल्लेख गरेका थिए । गतवर्षको जनवरी १ मा फेसबुकमा नेपाली टोपी लगाउने बारेमा केही नलेखेका मरहट्ठाले यस वर्ष भने फेसबुकमा ‘आज मलाई निकै गर्वको अनुभूत भएको छ, आज संसारभरका नेपाली एकजुट भयर नेपाली टोपी दिवस मनाई रहँदा, मैले नै आफ्नै सञ्जाल मार्फत तीनबर्ष पहिला यो टोपी दिवसको शुरुवाद गराएको थिएँ । आज संसारभर रहनुभएका नेपालीले स्वतस्फुर्त रुपमा यो तेस्रो टोपी दिवस मनाई रहँदा मलाई आनन्दित तुल्याएको छ यसले नेपाल प्रतिको दायित्वमा थप उर्जा थपिदिएको छ’ लेखेका छन् ।

काफ्ले र बन्जाडेले अभियानको सफलतासंगै यसको अपनत्व लिने र जस लिने एक किसिमको प्रयास बिभिन्न कोण र व्यक्तिबाट भएको अाराेप लगाएका छन् । यो एउटा नितान्त सामाजिक अभियान र नेपाली र गोर्खालीहरुको पहिचानको विषय भएकोले यसलाई थप जटिल नबनाइदिन उनीहरूले अनुरोध गरेका छन्। ‘राम्रो कामको निरन्तरता जसले दिए पनि हुन्छ तर आफूले नगरेको कामको जस लिन खोज्नु भने हुँदैन’ भन्दै उनीहरूले मरहट्ठालाई चेतावनी पनि दिएका छन्।

हेर्नुहाेस् काफ्ले र बन्जाडेको पत्र

प्रिय सम्पादक, प्रकाशक तथा संचारमाध्यममा कार्यरत संचारकर्मी मित्रवर,

नेपाली टोपी नेपालमा नेपाली संस्कृतिको अभिन्न अंग हो भने विदेशमा यो नेपालीहरुको पहिचानको अत्यन्तै सुन्दर मध्यम हो। यो नेपाली राष्ट्रियताभन्दा अझै धेरै संसारभर रहेका नेपाली र गोर्खालीहरुको पहिचानको चिन्ह हो। नेपाली टोपी नेपालमा मात्रै नभएर म्यान्मार, थाइल्याण्ड, भारत, भुटान लगायत नेपाली र गोर्खालीमुलका नागरिकहरु पुस्तौंदेखि बसोबास गरेका संसारका बिभिन्न देश र स्थानहरुमा नेपालीहरुको चिनाउने पोशाक हो। केही समयदेखि नेपाली टोपीको सांस्कृतिक पक्ष र प्रयोग समेत कम भैरहेको महशुस गरिएले नेपाली र गोर्खालीहरुको पहिचानको बलियो र मौलिक पोसाक टोपीको संरक्षण र विस्तार गर्नु पर्दछ र नेपालमा मात्रै नभई विदेशमा समेत टोपी संस्कारलाई प्रबर्द्धन गर्नु पर्दछ भन्ने मनमा लागेर त्यसको लागी उपयुक्त मिति मैले (डा. लेखनाथ काफ्ले, ताइवान) खोजिरहेको थिएँ। जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरुमा नयाँ वर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय वातावरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै विशेष बनाउन सकिन्छ भन्ने मलाई लागेकोमा काठमाण्डौ निवासी शंकर बन्जाडेसंग थप छलफल समेत गर्दा यो उपयुक्त हुन्छ भन्ने निर्क्यौल गरेर पहिलो पटक २०१४ जनवरी १ मा हामीले संयुक्त पहल गरी सामाजिक संजालमार्फत संसारभर मनाउन शुरु गरिएको हो । त्यसका लागि हामीले २०१३ कै नोभेम्बर २६ मा सामाजिक संजाल फेसबूकमा आफ्नो फ्यान पेज (https://www.facebook.com/nepalitopiday/) बनाएका थियौं र त्यो हालसम्म नै संचालित छ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रबर्द्धन भैरहेको अहिलेको अवस्थामा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दीऔंदेखि प्रयोग भैरहेको नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले हामीहरुले विगत ३ वर्षदेखि जनवरी १ (अंग्रेजी नयाँ वर्षको पहिलो दिन)लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा नेपालका बिभिन्न स्थानहरु र अमेरिका, युरोप बिभिन्न देशहरु, मध्यपूर्वका देशहरु, जापान, कोरिया, ताइवान, सिंगापुर, म्यानमार (बर्मा), थाइल्याण्ड, अस्ट्रेलिया, क्यानाडा, मलेसिया, भारत लगायत नेपाली र गोर्खालीमुलका नागरिकहरुको बसोबास भएका सम्पूर्ण देशहरुमा यो वर्ष नेपाली टोपी भव्यताका साथ मनाइरहेका छौं। यस कार्यले अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रबर्द्धन र प्रसार दिन मद्दत गर्दछ भन्ने हाम्रो बिश्वास छ।

यो अभियानलाई पहिलो वर्ष नै नेपालका केही चर्चित व्यक्तित्वहरुले मन पराइदिनु भएकोमा दोश्रो वर्ष यो अभियान संसारभर फैलिन सफल भयो र अहिले तेश्रो वर्ष आइपुग्दा नेपाली र नेपाली र गोर्खालीमुलका नागरिक बिचमा यो पूर्णत स्थापित भैसकेको हामीले महशुस गरेका छौं। अहिले यो हाम्रो अभियानमा धेरै संघसंस्था र व्यक्तिहरु जोडिन आउनु भएको छ। यो अभियानको सफलतासंगै यस अभियानको अपनत्व लिने र जस लिने एक किसिमको प्रयास बिभिन्न कोण र व्यक्तिबाट भएको हामीलाई जानकारी भएकै छ। यो एउटा नितान्त सामाजिक अभियान र नेपाली र गोर्खालीहरुको पहिचानको विषय भएकोले यसलाई थप जटिल नबनाइदिनु हुन हाम्रो अनुरोध छ। राम्रो कामको निरन्तरता जसले दिए पनि हुन्छ तर आफुले नगरेको कामको जस लिन खोज्नु भने हुँदैन भन्ने हामीलाई लाग्दछ।

त्यस्तै, नेपाली टोपी जस्तै संसारकै एक मात्र विशेष आकार, प्रकार र ज्यामितीय तथ्यहरुको प्रयोग भएको नेपाली झण्डाको प्रबर्धनको लागि गत्त वर्षदेखि हरेक बर्षको बैशाख १ गतेलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवस (International Nepali Flag day) को रुपमा मनाउन थालिएको समेत जानकारी गराउन पाउँदा खुशी लागेको छ।

धन्यवाद ।

संस्थापकहरु

डा. लेखनाथ काफ्ले, ताइवान

शंकर बन्जाडे, नेपाल

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री