डार्टफोर्ड ल्होछारमा तमु सुन्दरीहरु

Lochhar Photo1

लन्डन । तस्विरले नै झल्काएको छ उनीहरुको मौलिक भेषभुषा र पहिरन । गरगहनाले सजिएका छन् महिला । यी संखुवासभाबाट बेलायत बस्दै आएका तमु जातीहरु । संखुवासभा तमु समाजले जनवरी २, २०१६ मा लन्डन डार्टफोर्ड टेम्पलहिल स्क्वायरमा गरेको ल्होछार कार्यक्रममा सहभागी हुंदै थिए यी । उनीहरु जस्ता सयौं तमु र गैर तमु अतिथीहरुले ल्होछार धुमधामसंग मनाएको खवर छ ।

तमु वर्ष २०४३ अर्थात बांदर वर्गलाई स्वागत गर्न आयोजित समारोहमा प्रमुख अथिती थिए समाजकै सबैभन्दा जेष्ठ जित बहादुर तमु (गुरुङ) । समाजका अध्यक्ष गोकर्ण तमु गुरुङले अध्यक्षता गरेको उक्त ल्होछार कार्यक्रम सश्चालन समाजका सचिव हेम तमु गुरुङले गरेका थिए ।

अन्य अथितीहरु डार्टफोर्ड बोरो काउन्सिलर डा. बच्चु कैलाश कैनी साथै डार्टफोर्ड नेपलिज कम्युनिटीका अध्यक्ष राजेश पाठक थिए ।

उक्त अवसरमा अध्यक्ष गोकर्ण गुरुङले सबै अथितीजन, समितिका प्रमुख सल्लाहकार, कार्यसमिति सदस्यहरु लगायतलाई खादा लगाएर स्वागत गर्नुका साथै आसन ग्रहण गराएका थिए । उनले समाजले अहिलेसम्म गरेका गतिविधि साथै भविष्यमा गरिने कार्ययोजना र यसका चुनौतिबारे चर्चा गरे ।

कार्यक्रममा समाजका उपाध्यक्ष युवराज तमु गुरुङले स्वागत मन्तव्य दिंदै ल्होछारको महत्व र युवाहरुले यसको अनुशरण गर्नुपर्नेमा जोड दिए ।

समाजका प्रमुख सल्लाहाकार पदम गुरुङले संस्थामा एकताको आवश्यकतामाथि जोड दिएका थिए ।

कार्यक्रममा समाजका सदस्य डार्टफोर्ड निवासी बाबुराम तमु गुरुङ र वकिङ निवासी कमल गुरुङले निकै सुमधुर गीतहरु बजाएर उपस्थित पाहुनालाई मनोरन्जन दिलाए । रोजिना तमु गुरुङले छल छल छल्क्यो पानी, पानी झै छल्क्यो जवानी… गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गर्दा सहभागी सबै रोमाञ्चित देखिन्थे ।

संस्थाका उपसचिव मणीकुमार तमु गुरुङले दिएको जानकारी अनुसार यसपालिको ल्होछार भेलामा लगभग २६० जनाको उपस्थिति थियो ।

कार्यक्रममा समाजका अध्यक्षले शैक्षिक सफलता हासिल गरेका स साना वालवालिकालाई प्रमाणपत्र प्रदान गरे । अन्त्यमा, गोकर्ण तमु गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गर्दै राती ११ बजे ल्होछार 
रमझम समापन भएको थियो ।

p3

प्रतिक्रिया

सम्बन्धित सामाग्री