अहिलेसम्म २७ देश पुगिन् गायिका इन्दिरा जोशी । यसबीच धेरै किसिमका फ्यान भेटिए, कार्यक्रम पनि विभिन्न प्रकृतिका । तर, उनलाई यूके यात्रा अन्यत्रभन्दा स्मरणीय भएको छ । कारण, यहाँ महिना दिनको सांगीतिक यात्रा उनको जीवनकै पहिलो लामो हो ।
‘मेरो जीवनमै पहिलो पटक लामो शो गर्दै छु,’ शनिबार फार्नबोरोस्थित ओकफार्म कम्युनिटी हलमा पहिलो शो सकेपछि उनी गफिइन्, ‘आशा छ, सफल हुनेछु ।’ बेलायतको नेपाली डायस्पोरा नेपाली संगीतप्रति आकर्षित भएकामा उनी बढी नै आभारी देखिइन् ।
यूके बसाइमा धेरै कुरा सिकिने अपेक्षा उनको छ । ब्रिटिस गोर्खा नेपलिज काउन्सिलले बेलायतका दर्जन ठाउँमा तय गरेको गोर्खा कल्चरल नाइटमा इन्दिराको प्रस्तुति निरन्तर छ । पहिलो शो तमुहरूको ल्होछार कार्यक्रमले केही प्रभावित भए पनि उनलाई कत्ति पश्चात्ताप छैन ।
‘एउटा फेमिली शो जस्तो गर्न पाउँदा मलाई खुसी नै लाग्यो,’ उनले भनिन्, ‘आयोजक संस्थाको लक्ष्य व्यापारिक लाभभन्दा पनि कला–संस्कृति जगेर्ना गर्ने भएकाले त्यसको एउटा अंग बन्न पाउँदा मलाई गर्व लागेको छ ।’ आगामी शोमा बढी दर्शकश्रोताले साथ दिनेमा उनी आशावादी सुनिइन् ।
इन्दिरासँग नेपालबाटै आएका नृत्य निर्देशक गोविन्द राई सहभागी छन् भने यही सातादेखि अर्की लोकप्रिय गायिका सुनीता दुलाल पनि शोमा जोडिँदै छिन् । गोर्खा कल्चरल नाइट फार्नबोरोपछि जनवरी ९ मा रेडिङ, १० मा ग्रेज, १६ मा योर्क, १७ मा कोलचेस्टर, २३ मा स्वीन्डन, २४ मा आसफोर्ड, ३० मा बेजिङस्टोक, ३१ मा वेल्स र ६ फेब्रुअरीमा ननिटनमा हुने तय भएको आयोजक काउन्सिलकी रोमियन लिम्बूले जनाइन् ।
इन्दिराको क्रेज अहिले नेपालमा अत्यधिक छ । उनले दुई साताअघि मात्र विदेशी कलाकारहरूको सहकार्यमा तयार पारेको ‘तिमी र म’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त गीतमा इन्दिरासँगै हलिउड गायक सिन किङस्टन र श्रीलंकाली गायक इराजको पनि स्वर सुन्न सकिन्छ ।
इन्दिरा आफ्नो दोस्रो यूके भ्रमणमा लन्डनका विभिन्न आकर्षक स्थानहरू घुम्ने मुडमा छिन् । ‘पहिलो पटक लन्डन आई र गोर्खा म्युजियम मात्र पुगें, यो पटक चाहिं अरू धेरै ठाउँ घुम्ने इच्छा छ’, उनले सुनाइन् ।
समय र मौसमले साथ दिए आफ्नो म्युजिक भिडियोका लागि केही फुटेज समेत खिच्ने उनको योजना छ । कान्तिपुर
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]