सन् २०१५ मा संसारभर नाम कमाएका महिला

एन्जेला मार्केल

एन्जेला मार्केल

काठमाडौँ, १८ पुस । सन् २०१५ लाई फर्केर हेर्दा संसारमा नै त्यस्तो उल्लेखनीय प्रगतिका घटना भएनन् । यस वर्षमा आतङ्कवादले विश्वलाई नै तर्सायो भने नेपाल, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पले निकै नै ठूलो विनाश पनि गरयो । सन् २०१५ मा यसअघिको शान्त र समृद्ध युरोपमा हिंसात्मक हमलाको त्रास बढ्यो ।

तर यसैबीचमा पनि यसअघिका वर्षमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए । जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स, अमेरिकी प्रथम महिला मिसेल ओबामा, म्यानमारकी प्रजातान्त्रीक नेत्री आङ सान सुकी, सन् २०१५ को साहित्यका लागि नोवेल पुरस्कार जिल्न सफल बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीच, चीनकी प्रथम महिला पेग लियुआन र दक्षिणी एसियाली राष्ट्र नेपालमा पहिलोपल्ट महिला राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारी ।

विगत दस वर्षदेखि युरोपको एक सम्पन्न राष्ट्रलाई समेत प्रभावकारी महिलाका रुपमा नेतृत्व दिन सफल महिला नेत्री एन्जेला मार्केलले यस वर्ष पनि चर्चा पाउनुभयो । प्रभावकारी नेताको पहिचान दिन सफल जर्मन चान्सलर एन्जेला मर्केल यस वर्षको पनि सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ कारुपमा परेकी विश्वविख्यात पत्रिका फोब्र्सको मूल्याङ्कन छ । ओरालो लागेको युरोपियन अर्थतन्त्रलाई आश्चर्यजनकरुपबाट माथि उकास्न सफल एन्जेला युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय हुनुभयो । विश्व शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतङ्क मच्चाउँदै आएका इस्लामिक स्टेट आइएस आतङ्ककारी विरुद्ध उहाँले चालेको कदम पनि प्रशंसनीय छ ।

फोब्सको मूल्याङ्कनमा विश्वकै प्रभावशाली महिलाको दोस्रो स्थानमा पर्न सफल महिला अमेरिकी पूर्वविदेशमन्त्री हिलारी रोधाम क्लिन्टन रहनुभएको छ । विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा आगामी बर्ष हुनलागेको निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेर्न थालिएको हुनाले पनि उहाँ चर्चाको शिखरमा पुग्न सफल हुनुभएको छ ।

1450616733221_RSS-KTM-President-Bandari-bidhyek_praminakaran

राष्ट्रपति विद्यादेवी भण्डारी

 

संयुक्तराज्य अमेरिकाको ४२औँ राष्ट्रपति विलक्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्नसक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपति पदको निर्वाचन हुन गइरहेको छ । यस पटक निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो ।

अर्की एकजना चर्चित महिला हुनुहुन्छ, माइक्रोसफ्ट कम्पनीको मालिक विल गेट्सकी श्रीमती मिलान्दा गेट्स् । विश्वविश्ख्यात पत्रिका फोब्र्सले गरेको मूल्याङ्कनमा विश्वको प्रभावशाली महिलाको मूल्याङ्कनमा उहाँ तेस्रो स्थानमा पर्न सफल हुनुभएको छ । सन् २००० बाट विल एण्ड मिलान्दा गेट्स फाउन्डेशन नामक एक संस्था सुरु भएको थियो । यस संस्था सुरु भएदेखि हालसम्म विकासका लागि मिलान्दाले ३३ विलियन डलर बराबरको खर्च गरिसक्नुभएको छ । महिला विकास तथा युवतीको उत्थानको लागि उहाँको विशेष योगदान रहँदै आएको छ । उहाँको यस योगदानको विश्वव्यापीरुपमा चर्चा हुने गरेको छ ।

वर्तमान राष्ट्रपति बाराक ओबामाकी धर्मपत्नी अमेरिकी प्रथम महिला मिसेल ओबामा विश्वकै प्रभावशाली महिलाको दसौँ नम्बरमा पर्नुभएको छ । विश्वकै शक्तिशाली महिलामा दशौँ स्थानमा पर्न सफल उहाँले एसियाका विभिन्न स्थानमा पुगेर बालिकामा शिक्षाको उपलब्धताको कार्यमा संलग्न हुँदै आउनुभएको छ । महिलालाई शिक्षित बनाएर आर्थिकरुपमा सम्पन्न बनाउनु नै समाज उत्थानको एक मूल उद्देश्य हो भन्ने बिचारका साथ उहाँले काम गरिरहनुभएको छ ।

चिनियाँ प्रथम महिला पेग लियुआन फोब्र्सको मूल्याङ्कनमा पर्ने अर्को एकजना विश्व प्रख्यात महिला हुनुहुन्छ । ५३ वर्षीया पेग चीनको लोकगायीकाको रुपमा विश्व विख्यात हुनुभएको हो । फेसन डिजाइनमा अत्यन्त सोखिन रहेकी पेग चीनका राष्ट्रपति सी जिनपिङ्गका धर्मपत्नीका रुपमा रहेर पनि आफ्नो सो सोख र लगनलाई निरन्रता दिइरहनुभएको छ । उहाँले चीनको राष्ट्रिय पोशाकलाई पश्चिमा शैलीमा बदलेर फेसन डिजाइनमा अत्यन्त प्रचलित फेसनका रुपमा स्थापित गर्नुभएको छ ।

चर्चाको शिखरमा पुग्न सफल अर्की महिला म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी पनि हुनुहुन्छ । म्यानमारमा करिब साढे दुई दशकभन्दा बढी समयमा भएको आम निर्वाचनमा सुकीको पार्टीले बहुमत ल्याउन सफल भएपछि उहाँको चर्चा विश्वमा नै पुगेको हो । त्यसो त उहाँ म्यानमारको सैनिक हिरासतमा नै रहेका करिब दुई दशकदेखि नै उहाँ चर्चाको शिखरमा पुग्न सफल हुनुभएकै हो । सन् १९९० मा म्यानमारको संसदीय निर्वाचन भयो र त्यसमा प्रजातन्त्रवादी नेत्री आङसान सुकीको दलले लगभग दुई तिहाई बहुमत ल्याएको थियो । तर दुर्भाग्य सुकीले प्रधानमन्त्रीको सपथ नै लिन पाउनुभएन । सेनाले तत्कालै कू गर्यो । र उहाँलाई जेल हाल्यो ।

करिब दुई दशक सैनिक हिरासतमा बिताएकी प्रजातन्त्रवादी नेत्री सुकी र उहाँको दल नेसनल लिग फर डेमोक्रेसिले यस पटकको आमनिर्वाचन अत्याधिक बहुमत ल्याउन सफल भएर चर्चाको शिखरमा पुग्नुभएको छ ।

त्यस्तै बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीचलाई सन् २०१५को साहित्यका लागि नोवेल पुरस्कार प्रदान गरिएको थियो । उहाँ पनि यस वर्षको एक विश्वचर्चित महिला बन्न सफल हुनुभयो । पत्रकारिता जीवनबाट लेखिका बन्नुभएकी उहाँको साहित्य लेखनले यसै पनि उहाँलाई संसारसामु पुरयाएको थियो । साहित्यमा नोवल पुरस्कार पाउने थोरैमात्र महिलामा पर्न उहाँ सफल हुनुभयो ।

त्यसैगरी नेपालकी एकजना कम्युनिष्ट नेत्री विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभयो । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभयो । सन् २०१५को अक्टोबरमा उहाँ नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।

आर्थिक, सामाजिक एवम् राजनीतिकरुपमा समेत महिलापछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला देशको प्रमुख र पहिलो पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले उदाहरणका रुपमा पनि आफ्ना समाचारका विषयवस्तुमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री