यूकेका विभिन्न स्थानमा मनाइयाे चासोक तङनाम

chasok tangnam

लण्डन । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम स्याण्डहर्स्टकाे न्यु बल्समोर कमिटी सेन्टरमा याक्थुङ मुन्धुमअनुसार पुजाआजा गरेर मनायो ।
केन्द्रीय अध्यक्ष काजिमान यक्सोको उपस्थितिमा सम्पन्न उक्त दिनको कार्यक्रमा प्रमुख अतिथि तुम्याहाङ कुबेरसिं नेम्वाङ र अन्य अतिथिहरुमा केवाईसीका सल्लाहकारहरू डम्बर सिंगक र सुभाषचन्द्र जवेगु, पूर्व उपाध्यक्ष जय मादेन, पूर्व महासचिव तथा एनआरएन यूकेका महासचिव विजयविक्रम लिङदेन, गोर्खा च्यानलकी बिमला सेने, क्याप्टेन अमरजंग लिम्बू, क्याप्टेन जितबहादुर चाेङवाङ लगायत थिए ।
प्रमुख फेदाङमा बीरध्वज आङवुहाङले युमा साम्माङ उठाएर विधिवत चासोक पूजा आरम्भ गरेका थिए । माङथानमा भर्खरै पाकेका विभिन्न अन्नहरु राखी युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो । फेदाङ्माले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर हाङ्वा–माङ्वा (आशिर्वाद) दिएपछि चासोक तङनाम पूजा समापन भएको थियो । कार्यक्रममा तुम्याहाङ कुबेरसिं नेम्वाङ र अध्यक्ष काजिमान यक्सोले लिम्बूूहरुको चासोक तङनामको महत्वको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रम सफल बनाउन केवाईसी यूके रसमोर शाखाका अध्यक्ष जुरेन खजुमलगायत शाखाका कार्य समिति सदस्यहरुको सक्रिय भूमिका रहेको थियो । पाहुना सत्कारको जिम्मा संस्थाका महिला कमिटी सदस्यहरुले लिएका थिए । पूजामा लालबहादुर चाेङवाङ, स्वागतमा धन काम्वाङ, संस्कृतिमा महेश्वरी नेम्वाङ, डम्बर लिम्बू र आशराज वाेखिमले ब्यवस्थापन गरेका थिए । संस्थाका उपाध्यक्ष लिला सेलिङ मावोले याक्थुङ कविता वाचन गरेर रमाईलो दिलाईन । कार्यक्रम संचालन महासचिव खगेन्द्र लावती, सचिव महेश वनेमले चासोक तङनामको जानकारी र वरिष्ठ उपाध्यक्ष दिलसिंह मेन्याङवोले स्वागत मन्तव्य दिएका थिए । अन्तमा अध्यक्ष यक्सोले पाहुना र उपस्थित सदस्यहरुलाई धन्यवाद तथा युकेवासी सबै लिम्बू तथा परिवारजनहरुमा चासोक तङनाम २०७२ को शुभकामना दिएका थिए ।
१९ डिसेम्वरकै दिन केवाईसी यूके, शाखा वेसिङस्टकले चासोक तङनाम मनाउँदै सोही दिन वार्षिक साधरण सभासमेत सम्पन्न गरेको थियो । शाखा अध्यक्ष विजय लिङथेपको अध्यक्षतामा बसेको उक्त सभामा कार्य समिति पुनर्गठन भएको थियो । पुनर्गठित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा अमृता पालुङ्वा, उपाध्यक्षमा चन्द्र पेगा, सचिवमा चन्द्रकुवेर आङवुहाङ र कोषाध्यक्षमा मोहन मावो निर्विरोध निर्वाचित भएका थिए । यस्तै अन्य केवाईसी यूके शाखाहरुमा ननिङटन र वेल्सले  ६ डिसेम्वर, ग्रेटर लण्डन सिनियरले १२ डिसेम्वर र ग्रेटर लण्डन जुनियर र आशफोर्डले २० डिसेम्वर चासेाक तङनामा मनाए ।
मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौं रोगको सामना गर्नुपर्थ्याे । यो समस्याबाट मुक्ति पाउन उनीहरुले सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङको शरण लिए । अन्ततः तागेरा निङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउबिजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाइन् । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीबाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नति हुनथाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु हुन्छ ।
लिम्वुवानका लिम्बूूहरु नयाँ अन्न पाकेपछि खासगरी सामूहिक भन्दा घरघरमा अनिवार्य न्वागी पूजा गर्दछन् । परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवान गुजरा गर्ने हामी किरात लिम्बूहरु, आफूले लगाएको अन्नबालीहरु भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुङ र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाँड निस्कने, आँखा कान दुख्ने बौलाउनेजस्ता अनेकौ रोगहरु लाग्नसक्ने मुन्धुहरुमा सुन्न पाइन्छ । बिदेशमा बसोवास गर्नेहरुको खेतीगर्ने जमिनको अभाव र गाउँमापनि कतिपयले कृषिको पेशा छोड्दै गएकाले आफै अन्नपात उत्पादन नगरेपछि घरमा पूजा गर्नुभन्दा कुनै माङहिम वा सांस्कृतिक स्थलहरुमा भेला भइ सामूहिक पूजा गर्न चलन बढ्दो छ । सामूहिक पूजाकै लागि भेला हुनथालेपछि त्यो रमाइलो भेटघाटमा खानेपिउने, मनोरञ्जनजस्ता सामूहिक क्रियाकलापहरुले राम्रो अवसर पायो र यसलाई महत्पूर्ण चाड (तङनाम) कोरुपमा लिइएकाले नै चासोक तङनाम भनेर मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री