चीनमा पहिरोमा परी ९१ व्यक्ति हराए, तीस घर पुरिए

तस्विरः एएफपी

तस्विरः एएफपी

सेन्जेन, ६ पुस । दक्षिणी चिनियाँ प्रान्तको एक औद्योगिक क्षेत्रमा आएको बाढीबाट तीस घर पुरिएका छन् भने त्यसमा परी कम्तीमा पनि ९१ जना हराएका छन् ।
सो बाढीपछि त्यहाँ पुरिएका घरबाट ग्यास विस्फोट भएको पनि बताइएको छ । रातो हिलो माटोको पहिरो आएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
आइतबार राति सो पहिरो आएको समाचारमा जनाइएको छ । सो रातो हिलोको पहिरोले घर तथा केही उद्योगहरु पनि बगाएको थियो ।
निर्माण क्षेत्रमा निर्माणका क्रममा निस्किएको माटोको उचित प्रबन्ध नगरिनाले यसरी माटोको पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।
सरकारी पत्रिका ग्लोवल टाइम्स्ले जनाएअनुसार निर्माण क्षेत्रमा अव्यवस्थित रुपमा करिब ३३० फिट अग्लो माटोको थूप्रो रहेको र आइतबार राति आएको अविरल वर्षाले सो माटोको थूप्रो बगाएको जनाएको छ ।
अधिकारीहले जनाएअनुसार सोमबार बिहान ९ बजे सम्ममा कम्तीमा पनि ९१ जना स्थानीय तथा कारखानाका कर्मचारी हराएका छन् ।
उनीहरुलाई सो पहिरोले पुरेको छ । उद्वारको काम तदारुकताका साथ सुरु भएको भएपनि ती हराएका व्यक्तिको कुनै पत्तो नलागेको बताइएको छ ।
उक्त क्षेत्रमा उद्वारका लागि कम्तीमा पनि एक हजार ५०० जना उद्वारकर्मीलाई लगाइएको छ । उनीहरु सो क्षेत्रमा खटिरहेको भएपनि माटोको थूप्रो पन्छाउन निकै समय लाग्ने जनाइएको छ ।
उक्त हिलो माटोको भेल करिब २५ हेक्टर जमीनमा थुप्रिएको छ । मेसिन र मानिसले निकै मेहनेतका साथ काम गरिरहेका छन् तर पनि अहिलेसम्म एकजनालाई पनि उद्वार गरी बाहिर निकाल्न सकिएको छैन ।
चीनमा यस्ता कारखानामा हुने गरेका दुर्र्घटनाको सङ्ख्या बढ्दो मात्रामा देखिन्छ । पछिल्लो समयमा चीनमा भ्रष्टाचारका कारण पनि कारखानाहरुमा सुरक्षाका मापदण्डहरु अवलम्बन गर्ने काम निकै नै कमजोर भएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री