आङ्कारा, ३ पुस । दक्षिणपूर्वी टर्कीमा कुर्दिस वर्कर पार्टी (पिपिके) विद्रोही विरुद्ध त्यहाँको सेनाले गरेको कारबाहीको क्रममा १०२ जना विद्रोहीको मृत्यु भएको समाचार छ ।
टर्कीको सेनाले सो कारबाही जारी राखेको बताइएको छ । सेनाले उक्त क्षेत्रमा गएको पाँच दिनदेखि आक्रामक कारबाही सुरु गरेको थियो ।
सो कारबाहीमा परी गत शुक्रबार मात्र ५४ जनाको ज्यान गएको थियो । कारबाहीलाई शनिबारसम्म पनि जारी नै राखिएको छ । शनिबारको कारबाहीका क्रममा मारिएका लडाकूको सङ्ख्या १०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।
गत पाँच दिनयता जारी रहेको सो कारबाहीको क्रममा ती विद्रोही मारिएको जानकारी टर्कीस् सेनाले एएफपीलाई दिएको छ ।
टर्कीस् सरकारी समाचार समिति आनाटोलियाले पाँच दिनयतादेखि सेनाले सशक्त कारबाही थालेको जनाएको थियो । टर्कीको दक्षिणी पश्चिमी राज्यमा उनीहरुका विरुद्ध कारबाही जारी रहेको समाचारमा जनाइएको हो ।