कोलम्बो (श्रीलङ्का), २८ मङ्सिर । श्रीलङ्का सरकारले राजधानी कोलम्बोलगायतका सहरमा देखिएको बढ्दो सवारी जाम समस्याविरुद्ध जुध्न निजी सवारीसाधनलाई नियन्त्रण गर्न लागेको जनाएको छ ।
यसका लागि सरकारले आधुनिक ठूला तथा छिटोछरितो चल्ने खालका सवारीसाधन भित्र्याउन लागेको सोमबार मेयरको सम्मेलनमा कोलम्बोमा यहाँका सार्वजनिक उद्यम विकास उपमन्त्री इरान विक्रमारत्नेले बताए ।
यस कार्यक्रमअन्तर्गत सरकारले दैनिक पाँच लाखको दरमा भित्रिने साधनलाई नियन्त्रण गर्ने छ ।
साना सवारीसाधनको प्रवेश नत आर्थिक हिसाबले राम्रो मानिन्छ न उनीहरुबाट राम्रो सेवा पाउन सकिन्छ, त्यसैले यसलाई विस्थापित गरी मेट्रो प्रणालीलाई भित्र्याउन लागिएको मन्त्री विक्रमारत्नेले बताए ।
“बैंककमा पछिल्लो समय देखिएजस्तै श्रीलङ्काको सरकारले पनि मेट्रो यातायात प्रणालीको विकास गर्न चाहेको हो” उनले थपे ।
सरकारको सन् २०१६ को बजेटमा नयाँ किसिमको प्रस्ताव गरेपश्चात् यहाँ साना तथा पुराना मोडेलका सवारीसाधनको मूल्यमा वृद्धि भएको छ ।
श्रीलङ्काको सवारी आयात महासङ्घले जनाए प्रस्तावित प्रावधानअनुसार यहाँको सवारी साधनको मूल्यमा दुई लाखदेखि २५ लाख रुपैयाँ (एक हजार चार सय अमेरिकी डलरदेखि सत्र हजार पाँच सय अमेरिकी डलर) सम्म वृद्धि हुनेछ ।