नाकाबन्दी विरुद्ध सडकमा ओर्लिए कलाकार

12243113_923682984375213_1986130767355397306_n

काठमाडौँ, ९ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा जारी मधेस आन्दोलनले उब्जाएको समस्याबारेमा चलचित्रकर्मी चिन्तित बनेका छन् ।्

लामो समयदेखि नाकाबन्दी र तराई बन्दले नेपालीहरुले पाएको दःुखको सरकारले समाधान गर्न नसकेको भन्दै कलाकारहरुले काठमाडौँमा मंगलबार शान्ति रयाली निकाली सरकारलाई तत्काल समस्याको समाधान खोज्न आग्रह गरे ।

भारतले गरेको नाकाबन्दीप्रति राज्य मौन बसेकोले राज्यले चाँडै यसको निष्कर्ष निकाली समाधान खोज्न उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष नवल खड्काले समस्याको छिटो समाधान खोज्न सबैभन्दा पहिला सरकार नै सक्रिय हुनुपर्नेमा जोड दिए । भारत र नेपाल प्राचिनकालदेखिनै मित्रको रुपमा रहँदै आएकाले भारतले यसरी नेपालीलाई नाकाबन्द गरी दुःख दिनु राष्ट्रका लागि दुःखदायी भएको बताउँदै राष्ट्रका सबै जनता एक भएर लाग्नुपर्ने अवस्था आएको सङ्गितकार टीका भण्डारीको धारणा छ ।

उनले इतिहासमा नै सबैभन्दा दुःखदायी अवस्थामा देश रहेकाले र कलाकार सचेत नागरिक भएकाले जनतालाई सचेत बनाउन सबै एकभएर लाग्नुपर्ने बताए । हाँस्य कलाकार शिवहरि पौडेलले भारतले अघोषित रुपमा गरेको नाकाबन्दी खुलाउने सङ्केत नदेखिएकोले समस्यालाई अन्तर्राष्ट्रियकरण गरी समाधानको लागि अन्य देशबाटसमेत सहयोग माग्न सरकारलाई आग्रह गरे ।

कलाकार पौडेलले सात महिनाअघि भूकम्पकाकारण देशले ठूलो जनधनको क्षतिको सामना गर्नुपरेको थियो भने अहिले छिमेकी देशले गरेको अमानवीय व्यवहारले गर्दा देशको विकास दश वर्षपछि परेको भन्दै चिन्ता व्यक्त गरे ।

यो कलाकारको मात्र समस्या नभई देशभित्र रहेका सम्पूर्ण जनताले भोग्नुपरेको साझा समस्या हो, यसको समाधानका लागि सम्पूर्ण नेपाली एक ढिक्का भएर समाधान तर्फ लाग्नुपर्छ, अन्यथा यो समस्याले निकास पाउने छैन भन्छन्, हास्यकलाकार निर्मल शर्मा ‘गैँडा’ ।

सम्पूर्ण नेपाली एक साथ भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा छ, लोकगायक बद्री पङ्गेनीको । उनले छिमेकी देशले सीमित स्वार्थका लागि यसरी नाकाबन्द गरी इन्धन, औषधिलगायतका अत्यावश्यक सामग्री भित्रन नदिनु अमानवीय भएको बताए ।

यसरी भारतले नाकाबन्द गरिरहँदा नेपाली जनताले मात्र दुःख नपाएको स्वयम् भारतीय नागरिकले पनि समस्या भोगिरहेकाले सरकारले यसलाई छिटो समाधान गर्नुपर्छ, उनी भन्छन् ।

नेपालीले नेपाली भएर बाँच्न पाउनुपर्ने हक कसैले खोस्न नसक्ने बताउँदै अर्का हास्यकलाकार किरण केसीले मधेसका जायज मागलाई सरकारले सम्बोधन गरी आन्दोलनरत पक्षलाई छिटो वार्तामा बोलाउनुपर्नेमा जोड दिए ।

सरकारले एक नाकाबन्द भए अर्को अर्को नाकाबाट भए पनि आवश्यक आयातित सामग्री ल्याउनुपर्ने उनले आग्रह गरे । उनले भने—“म भारतीय प्रधानमन्त्री नेपाल आउँदा धेरै प्रभावित भएको थिएँ, तर नेपालीलाई उनले दुःख दिन नाकाबन्द गरेकाले मोदीप्रतिको श्रद्धा घटेको छ, उनले छिमेकी देशलाई दिनुपर्ने पारवाहन सुविधा खोस्नु हुँदैन ।”

यस्तै, अर्का कलाकार भुवन चन्दले भारतले नेपाली जनतालाई मात्र नभई आफ्ना नेपालमा रोजगारी गरिरहेका भारतीय नागरिकलाई पनि दुःख दिएकाले भारत सरकारले छिटोभन्दा छिटो राजनीतिक स्वार्थ नराखी नाका खोली मानवताको नाताले पनि भारतले समस्या समाधान गर्न आग्रह गरिन् ।

भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यता विपरित भएकोले यसलाई खुलाउनु पर्छ भन्दै सञ्चारकर्मी तथा गायिका कोमल वलीले जनताको दुःख समाधान गर्न आग्रह गर्दै कलाकारले रयालीलगायतका विभिन्न कार्यक्रम गर्न लागेको बताइन् ।

चलचित्र कलाकार सङ्घले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी ज्ञापनपत्र दिएको र सोमबार मात्र भारतीय राजदूतलाईसमेत भेटी नेपाली जनताले पाएको दुःखका बारेमा अवगत गराई तत्काल नाकाबन्दी खोल्न अनुरोध गरेको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री