
अमेरिका (क्यालिफोर्निया), ५ मङ्सिर । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् ।
अमेरिकामा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्थाहरूले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्न गइरहेका छन् । कार्यक्रमको दौरानमा अमेरिकी नीतिनिर्माताहरुलाई पनि संलग्न गराउने, अमेरिकी काँग्रेस सदस्य, सिनेटरका साथै भारतीय दूतावासमा पनि ज्ञापनपत्र बुझाउनेसमेत कार्यक्रम छ ।
तराईका बासिन्दाको प्रतिनिधित्व गर्दै विजय सिंह र सुकदेव शाहले नाकाबन्दीको विरोधमा बोल्ने कार्यक्रमसमेत रहेको आयोजकले बताएका छन् । कार्यक्रम भव्यरूपमा सफल पार्नका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत बाँडफाँड गरी तयारी गरिएको छ ।
प्रदर्शनमा नेपाललाई नाकाबन्द, भारतको आँखाबन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमानझुक्दैन !, नेपाल फुटाउन गाह्रो छ, जातीय सद्भाव प्यारो छ !, बुझीराख दिल्लीकानवाब, नेपालमा काम गर्दैन तिम्रो दबाब !, सिमानामा रोकियो सबै तेल, तिहारमा नेपालीको पाकेन सेल, बुझ्नै सकिएन भारतको खेल !, नेपाली नेताहरू भारत दौडाहा छोड ! जस्ता ३६ वटा सन्देश भएका प्लेकार्ड तथा नारा प्रयोग गर्ने तथा ‘स्टप हुमेनराइट्स एव्युजेज’, ‘ट्र्रान्जिट ब्लकेड इज इल्लिगल’ जस्ता ११ वटा ह्यासट्याग प्रयोग गर्ने निर्णय आयोजकले गरेका छन् ।
कार्यक्रमको सम्बन्धमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भन्नुभयो – “यो तराईका समस्याको विरोधमा हैन, यो भारतीय नाकाबन्दीको विरुद्धमा हो, यो हाम्रो आन्तरिक समस्या हो र यसलाई वार्ताको माध्यमबाट आन्तरिक रूपमा नै समाधान गर्नुपर्दछ, यो मानवता विरोधी नाकाबन्दी हो, यो तराई, पहाड र हिमाल सम्पूर्ण भागको समस्या भएकाले सबैलाई सहभागिताका लागि अनुरोध गर्दछौँ ।”
डिसीमा हुने कार्यक्रमको बारेमा एनआरएनआइसिसीका सदस्य खगेन्द्र जिसीले भन्नुभयो – “वासिङ्गटन डिसीमा हुने कार्यक्रम तेरो र मेरो नभई सबैको हो, नेपालीलाई परेको दुःखको अवस्थामा ऐक्यबद्धता जनाउँदै सबै नेपालीले गर्न लागेको साझा कार्यक्रम हो, नेपालमा जटिल समस्या सिर्जना हुन गइरहेको छ, यसर्थ सम्पूर्ण नेपालीलाई सहभागी हुनका लागि आह्वान गर्दछु ।”
एएनएका अध्यक्ष रोजर अधिकारीले – “रयाली सबैको साझा हो, यसले नेपाल र नेपालीलाई समस्या परेको अवस्थामा सम्पूर्ण नेपालीहरू हिमाल, पहाड, तराई नभनी एकजुट भएर अगाडि बढ्न सक्छन् भन्ने अनुपम उदाहरण दिएको छ” भन्नुभयो ।
नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) का अध्यक्ष विमल नेपालले बताउनुभयो – “भारतीय नाकाबन्दीको कारणले नेपालमा जुन मानवीय सङ्कटको अवस्था सिर्जना हुन गइरहेको छ त्यसको विरुद्ध सम्पूर्ण नेपाली एकजुट भएर हामी नेपाली भनेर प्रदर्शन गर्न लागिएको हो ।”
कार्यक्रम प्रचारप्रसार समितिका शिव विष्टले भन्नुभयो – “यो कार्यक्रम भारतीय नाकाबन्दीको विरुद्धमा गर्न लागिएको हो, नाकाबन्दीले हिमाल, पहाड, तराई सबैलाई आक्रान्त बनाएको हुँदा सबैले साझा रूपमा यसको विरुद्ध लाग्नुपर्ने हुँदा सबैलाई सहभागिताका लागि अनुरोध छ ।”
एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण पोखरेलले – “नेपाल सरकारले हालसम्म संयुक्त राष्ट्र सङ्घमा भारतले नेपालमाथि नाकाबन्दी ग¥यो भनेर पत्राचार नगरेको हुँदा तत्काल आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने ” समेत बताउनुभयो ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई